विभूषणले नदिएको ‘साख’

हिमाल खबर

काठमाडाैं

पदक वितरणको निश्चित मापदण्ड र आधार नहुँदा पाउने व्यक्तिको साख त बढेको छैन नै, यसको गरिमामाथि पनि प्रश्न उठ्न थालेको छ। सरकारले संविधान दिवसको अवसर पारेर यस वर्ष पनि ९०३ जना व्यक्तिलाई विभिन्न मानपदवी र विभूषण प्रदान गर्ने घोषणा गरेको छ। तर, विभूषणको कुनै मापदण्ड र पारदर्शिता नभएको भन्दै पत्रकार कृष्णज्वाला देवकोटा, हरिबहादुर थापा, नारायण अमृत र रविन सायमीले अस्वीकार गरेका छन्।

पत्रकार थापाले पदकका विषयमा आफ्नो मान्यता फरक रहेको बताए। उनले भने, 'जथाभावी वितरण गर्ने, मुलुक भद्रगोल भए पनि पदक पाउनेको सङ्ख्या मात्र बढाउने, राज्यको ढुकुटीको पैसा यसरी विना कारण खर्च गर्दा कसरी पदक स्विकार्नु?'

त्यस्तै, अर्का पत्रकार नारायण अमृतले आफूले पदक पाउँदै गरेको कुरा पनि सामाजिक सञ्जालबाट थाहा पाएको बताउँछन्। उनी भन्छन्, 'कसले, कसरी र कस्तो योगदान राष्ट्रलाई दिएर पदक पाउँदै छ भन्ने कुरा पहिल्यै नखुलेपछि पदक पारदर्शी छ भन्ने नै लागेन।'

कार्टूनिस्ट रविन सायमी पञ्चायतकालमा जस्तै आसेपासेलाई विभूषण वितरण गरिएकाले स्विकार्न नसकेको बताउँछन्। 'कार्टूनका माध्यमबाट यो प्रवृत्तिको विरोध गर्दै आएको छु। त्यसैले मलाई दिने घोषणा गरिएको विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु,' सायमीले भने। त्यस्तै, पदकको वितरण विवेकपूर्ण नभएको भन्दै स्वीकार गर्न नसक्ने अर्का पत्रकार कृष्णज्वाला देवकोटाले बताए। 

प्रकाशित मिति: : 2021-09-20 11:04:00

प्रतिकृया दिनुहोस्