धारापानी, ताकम, काफलडाँडा र ताकमकोट सधैं मुस्कुराउँछन्। सरल, इमान्दार र आत्मीय छन् गाउँले। प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, आत्मीय व्यवहार र अर्गानिक परिकारले ताकम क्षेत्र घुमिरहुँ झैं लाग्छ।
कोरोना भाइरसको बिगबिगिका कारण समाज लकडाउनमा फसेपछि घुमफिरको चाँजो मिलेको थिएन। लामो समयपछि यसपाला समाजसेवीद्वय दलबहादुर शेरबुजा र राजेश शाक्यको निम्तोमा म्याग्दीका गामबेंसी डुल्ने साइत जुर्यो।
वर्खा याम, पहाडी भेकमा वाढीपहिरोले वर्षेनी जनधनको क्षति। गाउँघरको जीवन कष्टकर बन्छ। दैनिक उकालीओराली, हिँडाई, रैथाने खेतिपाती र कठिन जीवनशैलीमा बाँचेका गाउँहरू।
मनलाई जति नै दुःखको पहाडले थिचे पनि मेलापर्व र संस्कृति जीवन्तै राखेकै छन् गाउँलेहरूले। त्यसैले त गाउँघर डुल्दा मनमा आनन्द आउँछ। गाउँलेको आत्मीयताले मन जित्छ। त्यसमाथि अर्गानिक खानाको स्वाद !
हामीलाई पनि पहिरोले दुःख दियो। कयौँ ठाउँमा कच्ची सडक पहिरोले छोपिएका थिए। यद्यपि हामी यात्रामा अविराम हिँडिरहेका थियौं। सहयात्रीहरू थिए – म्याग्देली दलबहादुर दाइ र चक्र थापा सहित मित्र अमृत भादगाउँले।
गाउँघर डुल्दाडुल्दै हामी एक हप्तामा धारापानी गाउँमा पुग्यौं। मराङ गाउँबाट हिँडेर पहिरा छल्दै राती अवेर मात्र हामी धारापानी पुगेका थियौ। हामी पुग्दा स्थानीय समाजसेवी तेजिन्द्रबहादुर थापा दाइ र भाउज्यू हामीलाई कुरिराखेका थिए। उनीहरूलाई भेट्ने वित्तिकै दिनभरको थकाई बिर्सियौं र न्यानो आत्मीयतामा झुम्यौं।
ताकमकोट
हामी धारापानी पुगेको भोलिपल्ट हरितालिका तीजको दिन। सिमसिम पानी परिरहेको थियो। त्यही दिन हामीले गाउँको शिरमा रहेको ताकमकोट मन्दिर दर्शन गर्यौं। मन्दिरभित्र जगन्नाथ र अन्नपूर्णका मूर्ति रहेछन्।
समाजसेवी तेजिन्द्र दाइको अगुवाइमा स्वदेश तथा विदेशमा बस्ने म्याग्देलीको चन्दाबाट मन्दिर पुननिर्माण गरिएको रहेछ। कलात्मक मन्दिर बनेसँगै ताकमकोट आन्तरिक पर्यटन गन्तव्यका रुपमा चम्किँदैछ।
तेजिन्द्र दाइकाअनुसार कोटमा बसेर विसं १२४६ देखि १५४५ सम्म आत्रे गोत्रीय बगाले थापाले राज्य चलाएका थिए। त्यतिबेला थुम ताकम राज्यले सेरोफेरोका थुप्रै गाउँमा शासन गरेको थियो।
पछि विसं १८४२ सम्म समालवंशी मल्लले शासन गरे। विसं १८४३ असोज १४ गते काजी अमरसिंह थापा, योगनारायण मल्ल, दामोदर पाण्डे र जीव शाह नेतृत्वको गोरखाली फौजले ताकमलाई नेपाल राज्यमा गाभेको थियो।
प्राचीन इतिहास झल्काउँछ ताकमले। यहाँको एक भवनमा पुराना हतियारहरू ढाल, तरबार, तोप र छेलो राखिएको छ भने बाहिर खुला आकाशमुनि ओदान छ।
मन्दिर निर्माण समितिका अध्यक्ष तेजिन्द्र दाइ रहेछन्। १२ वैशाख २०७२ को भुकम्पले मन्दिर जीर्ण बनाएकाले नयाँ कलात्मक मन्दिर बनाइएको हो। यहाँ विशेषतः बडा दशैंको नवरात्रभर पूजापाठ हुन्छ।
कलात्मक मन्दिर नजिकै पुरातत्व विभागले पनि एउटा मन्दिर बनाएको छ। प्राकृतिक हिसाबले समेत ताकमकोट क्षेत्र मनमोहक छ जहाँबाट हिमाल, चारैतिरका गाउँ र नागबेली पहाड देखिन्छ। डाँडाबाट गुर्जा, चुरेन, धौलागिरि, मानापाथीलगायत हिमालको दर्शन पाइन्छ।
मौसमले साथ नदिएकाले सेताम्मे हिमाल देख्न पाएनौं हामीले तर वर्षामासको भुइँकुहिरो गाउँघर ढाकेको थियो। हल्का चीसाे मौसम । हामी अत्यन्तै रमाइरहेका थियौँ मानौ त्यहाँको भुइँकुहिरोले हामीलाई काउँकुती लगाइरहेको थियो ।
कोटमा हामीसँगै पुगेका थिए तेजिन्द्र दाइ। रिटायर्ड लाइफमा सामाजिक काममा क्रियाशील दाइ निकै रसिक, फुर्तिला र सकारात्मक सोचका रहेछन्। उनलाई नपुग्दो केही छैन तैपनी धारापानीमै बसेर विकास निर्माणका काममा अगुवाई गरिहेका छन्। उनकी जीवनसंगी पनि समाजसेवी हुन्।
हामी ताकमकोट पुग्दा तीजको रौनक छाइसकेको थियो। हरियाली वातावरणमा रंगविरंगका कपडा पहिरेका महिला नाचगानका लागि तयार थिए। हामीसँगै कोटमा स्थानीय काफलडाँडाको देउराली आमा समूह पनि पुगेको थियो। मन्दिर परिसरमा उनीहरूले फोटो शेसन गरे।
काफलडाँडामा तीज
कोट मन्दिर दर्शन गर्न उकालो चढ्नु पर्छ। हामी शिवाङ हुदै ठाडो उकालो चढेर विद्यालयमा पुग्दा काफलडाँडा गाउँका देउराली आमा समूहका चेलीहरूले स्वागत गरेका थिए। उनीहरूको स्वागतले मनमा ऊर्जा बढाएको थियो।
कोट मन्दिर दर्शन गरेर विद्यालयमा झर्दा थप महिला नाचगानका लागि तम्तयार थिए। बाहिर हरियो चउरमा नाच्ने तयारी थियो तर पानीले बिथोल्यो। त्यसैले विद्यालयको कक्षामै उनीहरू नाचे, विष्णु माझीले गाएको गीत ‘चरी जेलैमा, मै छोरी रुँदैरुँदै वेंसी मेलैमा’को तालमा।
उनीहरू गाउँको मौलिक गीतमा पनि नाचे। गाए, रमाए। हौसिदै तेजिन्द्र दाइ, दल दाइ र चक्रजी पनि एकछिन नाचगानमा सहभागीले थप रौनक थपिएको थियो।
अर्गानिक गाउँ, मिठो आतिथ्य र मिलनसार गाउँले। काफलडाँडामा सामुदायिक होमस्टे चलाउने योजना सुनायो आमा समूहले। समूहकी सचिव टीका बुढाथोकी भन्दै थिइन्, ‘काफलडाँडालाई गाउँ पर्यटनको नमुना गन्तव्य बनाउन हामी तयार छौं।’
होमस्टे तालिम र प्रवर्द्धनमा गाउँपालिकाको सहयोग पुगोस। काफलडाँडामा छिट्टै होमस्टे सञ्चालनमा आओस्, शुभकामना !
राधाकृष्ण नाचमा झुम्दा...
ताकमकोट मन्दिर दर्शन पछि अपरान्ह हामी ताकम गाउँमा झर्यौं। त्यहाँ राधाकृष्ण नाच हेर्न पाइयो। ताकम धार्मिक नाट्य समूहको अगुवाईमा हरेक वर्ष तीजका दिन लोकनाच देखाइन्छ।
ताकममा बस्ती बसेदेखि नै राधाकृष्ण नाच देखाउने चलन बसेको समूहका अध्यक्ष ऋषिराम सुवेदीले बताए। शिव, पार्वती र गणेशको सामुन्नेमा राधा–कृष्णले प्रेमालाप गरे। यसरी नाचमार्फत देवि देवताको मायाप्रेम झल्काइन्छ। शंख, मादल, डम्फु, झुर्मा, बाँसुरीको धुनमा गीत गाइन्छ।
स्थानीयहरू मन्त्रमुग्ध भएर नाच हेरिरहेका थिए। कलाकार सबै पुरुष थिए, जसमा दिपक सुवेदी र सुवास खत्रीले कृष्ण र राधाको भुमिकामा अभिनय गरेका थिए भने गोपाल आचार्य, श्यामप्रसाद आचार्य र आयुश आचार्यले शिव, पार्वती र गणेशको भूमिकामा।
त्यसैगरी सूर्यनाथ जैसी, छविराज जैसी, खेमबहादुर भण्डारी, रेशम खत्री, ऋषिराम सुवेदी, ठाकुर पौडेल र गोविन्द पौडेल गायन र बाद्यबादनमा सक्रिय थिए। बेलाबेलमा महिलाले पनि गीत छोपेका थिए। यसरी सरस्वती पौडेल, देवकी आचार्य, बिष्णु सुवेदीलगायतले गीत छोपे।
करिव १ घण्टा नाचगान भयो। परम्परागत संस्कृति संरक्षणमा ताकमबासीको योगदान सराहनिय छ। स्थानीय गाउँपालिका र राज्यले नै यस्ता संस्कृति संरक्षक कलाकारको सम्मान गर्दै आवश्यक सहयोग पुर्याउनु पर्छ।
शिवजीको भेषमा अभिनय गरेका कलाकार गोपाल आचार्य भन्छन्, ‘कलाकारले लगाउने गहना र कपडा खरिद गर्न रकम र आबश्यक सामान राख्न एउटा भवन आबश्यक छ। यसमा सरकारको सहयोग चाहिएको छ।’
आचार्यको भनाइ जायज छ।
अन्त्यमा,
हामी धारापानीमा दुई रात बस्यौं। खासमा धारापानी र ताकम क्षेत्रको यात्रा अविश्मरणीय बन्यो। सुन्दर गाउँ, हराभरा डाँडापाखा, लटरम्म तरकारी बारी, हरिया खेत। आत्मीय गाउँले। अनि तेजिन्द्र दम्पत्तिको स्वागत।
तेस्रो दिन ताकमेलीको मिठो सम्झना बोकेर दरबाङतिर सोझियौं। मौका मिले फेरि भेटौंला धारापानीमा !