उत्तम पोखरेल
तेह्रथुमको साविक आङदिम–८ बस्ने शेरबहादुर विश्वकर्माका बुवाबाजेले गाउँमा घरायसी औजारहरू निर्माण गरिदिन्थे र वार्षिकरूपमा गाउँबाट अन्न जम्मा गरेर जीविका चलाउने गर्थे ।
दशैंतिहार नयाँ वर्ष लगायतका चाडपर्वमा आफूले गरेको परिश्रम बापतको अन्नबाली ल्याएर छोराछोरी तथा परिवारको जीविका चलाउने गरेका थिए । बालीमा काम गर्नेलाई ‘बालीघरे’ समेत भन्ने गरिन्थ्यो ।
सानै उमेरदेखि नै बुवाले खुकुरी लगायतका औजारहरू बनाउँदा शेरबहादुरले देख्दादेख्दै सिके । आफूले पनि बुवाको सीपलाई प्राथमिकता दिएर बालीघरे प्रथामै काम गरेको उनी बताउँछन् ।
यसरी परिवार पाल्न समस्या हुने देखेर उनी तत्कालीन शाही नेपाली सेनामा जागिर खान गए । केही समय जागिर खाएका शेरबहादुरलाई जागिर छाड्न चर्को दबाब पर्यो । कारण थियो नेपालमा चर्किएको माओवादी सशस्त्र द्वन्द्व ।
तत्कालीन विद्रोही नेकपा माओवादीले द्वन्द्व शुरू भएपछि आमाबुवा, पत्नी र भाइहरूले जागिर छाडेर आउन दबाब दिएपछि उनी जागिर छाडेर घरमा आएर बसे । गाउँमा गएपछि उनलाई ज्यान जोगाउन अर्को समस्या आइलाग्यो । द्वन्द्वको समयमा जागिर छाडेर आएको भन्दै सरकार पक्ष र विद्रोही दुवैको नजरमा पर्न थालेपछि उनी वैदेशिक रोजगारीमा कतार गए । कतारमा ६–७ वर्ष बिताएर उनी घर फर्किए ।