टिकटकले ‘टक-टकाएन’ विकृति

Breaknlinks
Breaknlinks

भारतमा लोकप्रिय भएपछि नेपाल भित्रिएको 'टिकटक' एप अहिले नेपालीको अभिन्न साथी बनेको छ।

अहिले नेपालीले सबैभन्दा धेरै प्रयोग गर्ने मोबाइल एपमध्ये टिकटक पनि एक हो। बालबालिकादेखि वृद्धवृद्धा पनि टिकटककाे इफेक्टिभ दुनियाँमा रमाइरहेका छन्।

टिकटक हामीले सूचना र मनोरञ्जनका आफूसँग भएको प्रतिभालाई १५ सेकेन्डदेखि तीन मिनेटसम्मको भिडियो बनाएर पोष्ट गर्न सकिन्छ। सो एपमार्फत फिल्मका गीत र डाइलगमा लिपसिंङ् गरेर पनि छोटो भिडियो पोष्ट गर्न सकिन्छ।

आफ्नो प्रतिभा देखाउने त छँदैछ, संसारभर के कुरा ट्रेन्डिङमा छ भनेर थाहा पाउन सकिने सबैभन्दा सहज माध्यम नै अहिले टिकटक बनेकाे छ।राजनीति, गीतसंगीत, चलचित्रलगायत सबै विधाका  'नाेटिसियबल विषय' सबैभन्दा पहिले टिकटकमा आउन थालेका छन्।

कुनै पनि महत्वपूर्ण कार्यक्रम वा रोचक घटनाहरुको भिडियो सबैभन्दा पहिले टिकटकमा भेटिन्छ। कुनै अन्तर्वार्ताकाे विवादस्पद अंश पनि टिकटकमै पहिले आउँछ। त्यस्तै टिकटकले समाजमा विकृति फैलाउँदै गएको कुरा पनि आजभोली सुन्न सकिन्छ। आजभोली मानिसहरु काम नै नगरी टिकटकमा मात्र व्यस्त हुन थालेका छन्। त्यसले पनि टिकटकलाई विकृतिको रुपमा हेर्न थालिएको छ।

आफ्नो लाइक, कमेन्ट, फ्लोअर्स बढाउन वा धेरै बनाउन मानिसहरु हर प्रयास गरिरहेका हुन्छन्। यसबाटै गायक, गायिका, नायकदेखि नायिका बन्ने सपना र रहर पुरा गरिरहेका छन्।

टिकटकले पनि प्रयोगकर्ताको मर्म बुझेर नयाँ-नयाँ 'इफेक्ट लन्च' गरिरहेकाे छ र प्रयोगकर्तालाई खुशी बाँडिरहेको छ। यहाँ सम्म कि प्रयोगकर्तामा भाइरल बन्ने भोक पलाउन थालेकाे छ। प्रयोगकर्ताहरू भाइरल हुन कम्मर कसिरहेका छन्। उनीहरुलाई म कहाँ छु, के गर्दैछु भन्नेसमेत थाहा नहुने भैसकेको छ। गाडीमा यात्रा गर्दा पनि टिकटकमा लाइभ आउने, ट्वाइलेट बस्दा पनि फुर्सद नहुने अवस्था आएकाे छ।

राम्रो टिकटक बनाएर भाइरल हुनु त हदसम्म ठिकै हो। अहिले बालबालिकादेखि वृद्ध-वृद्धा पनि आफ्नो काम धन्दा छोडेर भए पनि टिकटक बनाउन मरिहत्ते गर्छन्। जसले समय बर्बाद भइरहेकाे हेक्का हुँदैन।

'युवा जेनेरेसन' त ठिक छ उमेर हो भनेर चित्त बुझाउन सकिन्छ,तर हाम्रो 'हजुरआमाको जेनेरेसन'ले पनि अहिले टिकटक बनाएर बजार तताउछन्। आमाहरुले सभ्य पोसाक कस्तो हुन्छ भन्ने पनि बिर्सिसकेजस्तो लाग्छ। टिकटक खुलेदेखि अहिलेसम्मको समय अवधिमा राष्ट्रिय पोशाक गुनियो चोली, फरिया बिर्सेर ब्लाउज र कट्टुमा आइपुगेकाे छ। कुन दिन विकिनीमा आउने हो, थाहा छैन।

त्यहाँसम्म भए त ओहो सम्म हुन्थो होला, कुनै दिन बिर्सिएर निर्वस्त्र भएभने के होला ? हाम्रा भावी पुस्ताले के सिक्छन् ? आफू भाइरल हुने होडमा समाजले पचाउने भन्दा परको संस्कृति अंगालेर पश्चिमेली पोशाकमा सजिन तयार हुन्छन्। हामीले आफ्ना परिवारसंग बसेर हेर्न मिल्ने भिडियो सामग्री भेट्न सक्दैनौ। मान्छेहरु भाइरल हुनको लागि बोल्नै नहुने शब्दको प्रयोग गरिरहेका हुन्छन् र समाजले पचाउन नसक्ने भेषभुषामा सजिएका हुन्छन्।

सुन्दा त संवाद ठिकै जस्तो लाग्छ तर प्रसङ्गसंगै शारीरिक हाउभाउले भिडियो अश्लिल बन्न पुगेको हुन्छ। भाइरल हुने बहानामा मानिसहरु अनावश्यक भिडियो सामग्रीहरु तयार गरेर पोस्ट्याउन पछी हट्दैनन्। जब कुनै नयाँ आविस्कार हुन्छ र त्यसले व्यापकता पाउँछ, विस्तारै विकृतिहरु पनि जन्मन थाल्छन्। विकृतिहरुलाई पन्छाउँदै, कुल्चँदै आविस्कारको मर्मलाई जीवन्त बनाइराख्ने चुनौति त्यसपछि पैदा हुन्छ।

टिकटकमा विस्तारै केही विकृति र खराबीहरु देखिन थालेका छन्। गृहणीहरु टिकटकमा भुलेर बच्चा, भात बिगारेकोदेखि किशोरीहरुले टिकटकको लत लागेर पढाइ नै बिगारेकोसम्मका गुनासाहरु सुन्न सकिन्छ। भाइरल हुने चक्करमा कतिपय अत्यन्तै उच्छृङ्खल र अपाच्य खालका हर्कतहरु गर्ने गर्छन्। कोही अश्लिल शब्दहरु बोलेर लाइक र कमेन्ट बटुल्ने प्रयास गरिरहेका छन्। कमेन्ट बक्समा पनि अश्लील गालीगलौजहरु भेटिन्छन्।

टिकटकका कारण राम्रा मेलोडियस गीतहरु छाँयामा परेर 'ताइ न तुइ'का गीतहरु भाइरल भइरहेकाे गुनासो कतिपय संगीतकर्मीबाटै सुन्न थालिएको छ। यो केही हदसम्म सत्य पनि हो।

टिकटकमा भाइरल बनाउने नाममा नयाँ पुस्ताको संगीतकर्मीहरु 'हाउडे गीत'तिर लागिरहेका छन्। अश्लीलताको पाटोले नेपाली समाजमा टिकटकलाई मैलो बनाइरहेको छ। अश्लील दृश्यलाई त टिकटक आफैंले सम्पादन गर्छ। तर, नेपाली भाषामा बोलिएका अश्लील संवादहरुचाहिँ जस्ताको तस्तै आउँछन्।

बालबालिकाको हातमा पनि पुग्ने टिकटकमा यस्तो संवादहरुलाई कसरी नियन्त्रण गर्ने भन्ने प्रश्न चासाेकाे विषय बन्दै गएको छ। अर्को गालीगलौजको समस्या पनि बढ्दो छ। यसबाट खास गरी महिला 'सेलिब्रिटी'हरु बढी पीडित भइरहेका छन्। केही समयअघि गायक एवम् मोडल दुर्गेश थापा र मोडेल गरिमा शर्माबीच भएको 'लाइभ खेल'ले टिकटिककाे विवाद सतहमा आएकाे थियाे। उक्त खेलमा प्रयोग भएका शब्दका कारण गरिमा र दुर्गेश विवादमा तानिएका थिए। उनीहरुले टिकटकमा चर्को गालीगलौजको सामना गर्नुपर्यो। विभिन्न 'स्क्यान्डल'मा मुछिएका नायिकाहरु वर्षा राउत, साम्राज्ञी राज्यलक्ष्मी शाह, पूजा शर्मालगायत पनि अश्लील गालीगलौजको शिकार बने।

यसरी जन्मियो टिकटक

सन् २०१२ मा चिनियाँ व्यवसायी झाङ यामिङले स्थापना गरेको आईटी कम्पनी 'बाइट डान्स'ले सुरुमा ‘डाउयीन’ नामक एपको विकास गरेको थियो। पछि सन् २०१७ मा चीनभन्दा बाहिरको बजारलाई लक्षित गर्दै आइओएस र एन्ड्रोइडका लागि ‘टिकटक’ लन्च गरियो। यद्यपि, सन् २०१८ को अगष्ट २ मा 'म्युजिकल्ली'लाई खरिद गरेपछि टिकटक विश्वव्यापीरुपमा उपलब्ध भएको हो। एक अर्ब डलरमा टिकटकले 'म्युजिकल्ली'लाई किनेको थियो।

बाइटडान्सको प्रधान कार्यालय बेइजिङमा छ भने टिकटकका कार्यालयहरु विश्वका थुप्रै शहरमा छन्। बब्लीन, लस एन्जलस, न्यूयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, मुम्बई, सिंगापुर, जाकार्ता, सोल, टोकियोजस्ता देशहरुमा टिकटकका शाखा कार्यालय खोलिएको छ।

लन्च गरिएको छोटो समयमा नै यसले पूर्वी एसिया, दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अमेरिका, टर्की, रसिया तथा विश्वका अन्य भागमा लोकप्रियता कमाएको थियो। सन् २०२० को अगष्टसम्म विश्वभर टिकटक प्रयोगकर्ता १ अर्ब नाघिसकेका थिए। केवल चार वर्षको अवधिमा यो उपलब्धी अविश्वसनीय हो।

सन् २०२१ को सुरुवातमा प्रकाशित अनुसन्धानअनुसार हाल विश्वभरका ५३.६ प्रतिशत अर्थात् तीन अर्ब ९६ करोड मानिसले सामाजिक सञ्जालमा प्रयोग गर्छन्। यो संख्या सन् २०१५ को तुलनामा झन्डै दोब्बर भएको हो।

टिकटककाे विश्वव्यापी विवाद र प्रतिबन्ध

टिकटकलाई लिएर केही देशहरुमा वेलाबखत विवाद पनि उब्जिने गरेका छन्। प्रमुख रुपमा यस्तो विवाद अमेरिका र भारतमा देखिन्छ। यी दुई चीनका प्रतिस्पर्धी मुलुक हुन्।

सन् २०१८ मा इन्डोनेसियाले अश्लील, उच्छृंखल र विकृत सामग्रीहरुको फैलावट गरेको भन्दै टिकटकलाई प्रतिबन्धित गर्यो। त्यसलगत्तै टिकटकले इन्डोनेसियामा टिकटकका सामग्रीहरु सेन्सर गर्नका लागि २० जना आफ्नो कर्मचारी खटायो। यसको ८ दिनपछि सरकारले प्रतिबन्ध फुकुवा गर्यो।

गत वर्ष भारतमा त्यहाँको अदालतले टिकटकले अश्लिलता फैलाएको भन्दै यसलाई रोक लगाएको थियो। तर, त्यो रोक लामो समय टिक्न सकेन।टिकटक अहिले विश्वमा सबैभन्दा डाउनलोड गरिने एपहरुको सूचीमा एक नम्बरमा छ। अहिलेसम्म विश्वव्यापीरुपमा यो एप दुई अर्ब भन्दा बढी डाउनलोड गरिएको छ। टिकटकमा विश्वका 'एक से एक' प्रख्यात सेलिब्रिटीहरु जोडिएका छन्।

'एप ट्रेस' नामक वेबसाइटका अनुसार टिकटक एप अहिले विश्वका १४१ देशमा उपलब्ध छ। यीमध्ये १३५ देशमा यो सर्वाधिक लोकप्रिय एपका रुपमा रहेको छ। सामाजिक सञ्जालमा गरिने पोष्टमा सबैभन्दा बढी 'इंगेजमेन्ट' हुने टिकटकमा नै हो।

प्रतिभाको डबली

यदि तपाईंसँग कुनै प्रतिभा छ र त्यसलाई संसारसँग उजागर गर्न चाहनुहुन्छ भने तपाईंले कुनै मिडियाको दैलो चहार्नु पर्दैन, कुनै यूट्युवरको पछि लाग्नु पर्दैन। मोबाइलमा टिकटक डाउनलोड गरेर आफ्नो प्रतिभा भिडियो बनाएर पोष्ट गर्न सकिन्छ।

धेरैले टिकटकलाई अभिनय वा डान्स देखाउन सकिने प्लेटफर्म मात्र ठान्छन्। जुन् शतप्रतिशत सत्य होइन। आफूसँग भएको जुनसुकै कला यसमा प्रदर्शन गर्न सकिन्छ। कसैलाई राम्रो गाउन आउँछ भने गाएको भिडियो हाल्न सक्छन्। जादु देखाउने कला छ भने त्यस्तै भिडियो बनाउन सकिन्छ। जोक भनेर हसाउँदा पनि मिल्छ। यसमा नअटाउने केही पनि छैन।

नेपालमा टिकटकले जन्माएका 'सेलिब्रेटीहरु'

'फेस डान्स' र 'रोबोट एक्ट' गरेर प्रख्यात बनेकी छन् चितवनकी गृहिणी कञ्चन बराल चालिसे। उनलाई पाँच लाखभन्दा बढीले फलो गरेका छन्। यस्तै, घरको भान्सामा आफ्नै आमासँग जोक बनाएर चर्चा कमाएका छन्, पुरु सिग्देल। यी प्रतिनिधि पात्र हुन्।

नेपालका केही टिकटकरहरुको अविश्वसनीय 'फ्यान फलोइङ' छ। जस्तो कि अष्ट्रेलियामा बस्ने अञ्जु भण्डारी नाम गरेकी नेपाली युवतीका ७२ लाख फलोअर्स छन्। उनी सन् २०१५ मा भएको एसएलसी प्रिन्सेस प्रतियोगिताकी विजेता हुन्।

'ट्वीन गर्ल्स'का नामले चिनिने प्रिज्मा र प्रिन्सी खतिवडाको ७ मिलियनभन्दा बढी फलोअर्स छन्। उनीहरुका फलोअर्स नेपालमा मात्रै सीमित छैनन्, भारत तथा पाकिस्तानलगायत दक्षिण एसियाली देशमा पनि छन्।

टिकटकबाट कमाएको लोकप्रियताले उनीहरुलाई मोडलिङमा लाग्न सजिलाे भएकाे छ। अहिले म्युजिक भिडियोमा पनि 'मोस्ट डिमान्डेड' सूचीमा पर्छन् प्रिज्मा र प्रिन्सी।

त्यस्तै रेश्मा घिमिरे पनि आउन त उनी ठूलो पर्दाबाट नै आएकी हुन् तर चिनायो टिकटकले। उनी टिकटकबाट सेलिब्रेटी बनेकी कलाकार हुन्। ‘कान्छी, ‘झिम झिम गर्ने परेली’ म्युजिक भिडियोमा काम गरिसकेकी उनको ‘इन्स्टाको फोटो’ नामक गीत दर्शकले अत्याधिक मन पराए। उनी पछिल्लो समय एउटा सफल मोडेलको रूपमा परिचित भइसकेकी छन्। उनले अब ‘नेपाल आइडल सिजन ४’ मा होस्ट पनि गर्दैछिन्। टिकटकमा उनकाे १.२ मिलियन फलोअर्स छन्।

टिकटकमा पछिल्लो समय धेरै दर्शकले मनपराएका दिदी–बहिनी हुन् स्मारिका ढकाल-सामारिका ढकाल पनि। टिकटकबाटै उदाएका यी दिदी बहिनिले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। उनीहरूकाे केही गीत निक्कै चर्चित पनि बने। टिकटकमा स्मारिकाको ६ लाख र सामारिकाको २ लाखमाथि फलोअर्स छन्।

टिकटककाे याे भीडमा बिना राउत पनि नछुट्ने पात्र हुन्। पछिल्ला केही समयदेखि मोडल विना राउत नेपाली म्युजिक भिडियो बजारमा सर्वाधिक चर्चामा छिन्। टिकटकबाट नै उदाएकी बिनालाई लिएर म्युजिक भिडियो बनाउन चाहने निर्माता र निर्देशकहरूकाे लाइन नै छ। तीजका गीतदेखि आधुनिक गीतसम्मका म्युजिक भिडियोमा बिना सर्वाधिक व्यस्त छिन्। टिकटकमा बिना र सरोजको जोडीलाई दर्शकहरुले पनि खुब रुचाउँदै आएका छन्। उनै बिना अहिलेकी सफल मोडेल र कलाकार नै हुन्।

टिकटकः नेपाली संगीतकाे लागि वरदान कि अभिषाप ?

टिकटकका फाइदाहरुको कुरा गर्दा पहिलो त यो मनोरञ्जन वा 'टाइमपास'का लागि बढी उपयोगी भयो। दोस्रो आफ्नो प्रतिभा देखाउन सक्ने प्लेटफर्म र तेस्रो सूचनाको स्रोत पनि भयो।

त्यसबाहेक नेपालमा टिकटकले पुर्याएको महत्वपूर्ण योगदान हो, नेपाली गीत–संगीतको प्रवर्द्धन। नेपाली संगीत क्षेत्रका लागि टिकटक एउटा बरदान नै सावित भइरहेको छ। युवापुस्तालाई नेपाली मौलिक लोकसंगीततर्फ यसले तानेको छ। उनीहरु विदेशी गीत–संगीतबाट नेपाली गीत–संगीत, त्यसमा पनि विशेषतः लोकसंगीततर्फ मोडिनु निकै सुखद विषय हो।

यदि तपाईंले राम्रो गीत बनाउनुभएको छ भने त्यसको विज्ञापनमा अब पैसा खर्च गर्नुपर्दैन। टिकटकरहरुले निःशुल्क विज्ञापन गरिदिन्छन्। अहिले धेरै नेपाली गीतहरुले टिकटकबाटै यूट्यूवमा भ्यूज बढाइरहेका छन्।

कतिपय पुराना र कालजयी गीतहरुलाई पनि टिकटकले युवा पुस्तासम्म पुर्याइरहेको छ। भारतमा टिकटक प्रतिबन्धित भएपछि अहिले हिन्दी डाइलग वा गीतमा नेपालीहरुले टिकटक बनाउने क्रम बढ्दा केही ह्रास भने आएकै छ। तर कतिपय विदेशी नागरिकहरुले पनि नेपाली गीतमा टिकटक बनाएको देख्दा याे प्रभाव 'ब्यालेन्स'मा आएकाे देखिन्छ।

त्यसाे त विश्वका विभिन्न ठाउँहरूमा टिकटकको गलत प्रयोगका कारण आपराधिक घटनाहरु बढिरहेका छन्। विश्वका कतिपय देशमा त यसको प्रयोगमा प्रतिबन्धसमेत लगाइएको छ।

नेपालमा पनि टिकटककाे प्रयाेगताप्रति सचेत हुन आवश्यक देखिन्छ। यसकाे दुरुपयाेगले कुनै दिन अनपेक्षित ठूलाे दुर्घटना नआउँला भन्न सकिन्न।यसबारे दुई साताअघि केही सांसदहरुले संसदमा पनि टिकटकलाई प्रतिबन्ध लगाउनु पर्ने माग राखेका थिए।

प्रकाशित मिति: : 2021-09-18 17:28:00

प्रतिकृया दिनुहोस्