मोदी समर्थकले भव्य जन्मोत्सव मनाउँदै, कंग्रेसले भन्यो–‘राष्ट्रिय बेरोजगार दिवस’

Photo - TV9hindi
Photo - TV9hindi

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ७१औँ जन्मोत्सव सत्तारुढ भारतीय जनता पार्टीले शुक्रबार भव्य रूपमा मनाइरहेको छ।

बीजेपीले भव्य जन्मोत्सवसँगै बीस दिनसम्म ‘सेवा र समर्पण’ नारासहित राष्ट्रव्यापी अभियानको योजना बनाएको छ।

प्रधानमन्त्री मोदीको जन्मदिन अभियानलाई प्रभावकारी बनाउन बीजेपी नेता कैलाश विजयवर्गीको नेतृत्वमा चार सदस्यीय समिति बनाइएको छ।

भारतीय जनता पार्टीले जिल्ला–जिल्लामा रक्तदान शिविर तथा मोदीको जीवनीबारे प्रदर्शनी गर्ने कार्यक्रम तय गरेको छ।

देशभर प्रधानमन्त्री मोदीको जन्मदिनको उत्सव मनाइरहँदा प्रमुख विपक्षी कंग्रेसले भने ‘राष्ट्रिय बेरोजगार दिवस’को संज्ञा दिएको छ।

प्रधानमन्त्री मोदीको ७१औँ जन्मदिन मनाउने बीजेपीको तयारीमाथि चौतर्फी तीव्र आलोचना भइरहेको छ। भारतीय किसान नेता इन्दरजीत सिंहले मोदी समर्थकप्रति निन्दा व्यक्त गरेका छन्।

‘साढे नौ महिनादेखि किसानहरू सडक आन्दोलनमा उत्रिएका छन्। मोदी नेतृत्वको सरकारले उनीहरूमाथि दमन गरिरहेको छ,’ उनले भने, ‘किसानविरोधी प्रधानमन्त्री नरेन्द्र मोदीको जन्म–उत्सव मनाउने र बीस दिनसम्म विशेष कार्यक्रम चलाउने कुरा दुभाग्यपूर्ण छ।’

त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिएका छन्। देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन्।

प्रकाशित मिति: : 2021-09-17 13:23:00

प्रतिकृया दिनुहोस्