अफगानिस्तानः घर खाली गर्न तालिबानले उर्दी जारी गरेपछि हजारौँ स्थानीय विरोध प्रदर्शनमा

Photo : Reuters
Photo : Reuters

अफगानिस्तानको कान्दाहारमा हजारौँ मानिसले बुधबार विरोध प्रदर्शन गरेका छन्।

तालिवानले आफ्नो घर खाली गर्न आदेश दिएपछि उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। तालिबान नेतृत्वमा रहेको अफगानिस्तान सरकारका प्रान्तीय अधिकारीहरूले अफगानिस्तानको राष्ट्रिय सेनाले बसाएको बस्तीमा रहेका परिवारहरूलाई तीन दिनमा आफ्नो घर खाली गर्न भनेको र यसको विरोधमा प्रदर्शन भएको द खामा न्युज प्रेस एजेन्सीले बताएको छ।

“हामी यो ठाउँमा बस्दै आएको २० वर्ष भयो, यो सरकारी ठाँउ हो भन्ने कुरामा हामी सहमत छौं तर हामीले यहाँ घर बनाएका छौं। तालिबानले हामीले यी घरहरू खाली गर्नुपर्छ भन्दै आएको धेरै दिन भइसक्यो,” एक प्रदर्शनकारीलाई उद्धृत गरी टोलोन्युजले उल्लेख गरेको छ।

अमेरिकी र पश्चिमी सैनिक गठबन्धन (नाटो) फौजले बहिर्गमन प्रक्रिया थालेसँगै सरकारी सेनाविरुद्ध आक्रामक र तीव्र गतिमा अघि बढेपछि तालिबान अगष्ट १५ मा काबुल प्रवेश गरेको थियो।

काबुल तालिबानको हातमा परेपछि र पूर्व राष्ट्रपति आसरफ गनीको निर्वाचित सरकार ढलेपछि गत महिना देश सङ्कटमा प¥यो। तालिबानको कब्जापछि अफगानिस्तानमा बर्बरताका हालैका दृश्यहरूले युद्धग्रस्त देशमा मानव अधिकारको भयावह अवस्था रहेको देखिएको छ।

प्रकाशित मिति: : 2021-09-15 21:13:00

प्रतिकृया दिनुहोस्