बहुपति प्रथाकाे पुरानाे जञ्जिर देखाउने प्रयास, चार वर्षसम्म अनुसन्धान गरेर तयार पारियाे ‘टुल्की’

हिमाली जिल्ला डोल्पामा छायांकन गरिएको चलचित्र ‘टुल्की’को ‘फस्ट लुक’ तथा ‘टिजर’ सार्वजानिक गरिएको छ।

द पाल्म ग्रुपद्धारा निर्माण गरिएको बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’को ‘फस्ट लुक’ तथा ‘टिजर’ बुधबार राजधानीस्थित वान सिनेमा नयाँ बानेश्वरमा पत्रकार भेटघाटमार्फत सार्वजनिक गरिएको हो।

चलचित्रमा देशका उच्च हिमाली भेगमा प्रचलनमा रहेको बहुपति प्रथाको कथालाई उजागर गरिएको निर्माता शेखर लामाले जानकारी दिए। ‘टुल्की’मा डोल्पाको तल्लो भेगमा रहेको ब्रामण बस्तीमा हुर्किएकी चेली र माथिल्लो डोल्पाको शेर्पा समुदायमा हुर्केका केटाबीचको प्रेम सम्बन्धलाई उजागर गरिएको लामाले बताए।

'टुल्की प्रेम विवाह गरेर माथिल्लो डोल्पा पुग्छिन्। संस्कारका नाममा घरका सबै भाइको जबरजस्ती यौन प्यास मेटाउने माध्यम बन्छिन्। त्यसपछि टुल्कीले बदलाको भावना लिँदै आफूसहित सबै घरपरिवारको हत्याको बाटो रोज्छिन्', लामाले छाेटकरीमा कथाकाे सार सुनाए।

चलचित्रमा फरक संस्कारमा हुर्केकी ‘टुल्की’को जीवनमा संस्कारकाे नाममा आइपरेको सामूहिक यौन शोषणको कहालीलाग्दो घटनालाई विशेष रुपमा प्रस्तुत गरिएको लामाकाे भनाइ छ।

बहुपति प्रथामा घरका कुनै एक भाईले बिहे गरेपछि अन्य कुनै पनि भाईले बिहे गर्नु पर्दैन भन्दै एउटै श्रीमतीबाट सबै भाइले सामूहिक सन्तान जन्माउने र घर गृहस्ती चलाइन्छ।

यो चलचित्र निर्माणकालागि झण्डै चार बर्ष अनुसन्धान गर्नु परेको र निर्माणकालागि झण्डै एक करोड लागेको निर्माण पक्षले जनाएको छ। नेपालमा अहिलेसम्म बनाईएका सबै चलचित्रभन्दा भिन्दै र एक शन्देशमुलक चलचित्र रहेको निर्माण पक्षको दाबी छ।

चलचित्रको निर्देशन तथा छायांकन देबजंग थापाले गरेका छन् भने वरिष्ठ कलाकार शिशिर वाङ्देल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ्ग, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दिर्घ लामा, रत्न प्रसाद न्यौपाने, हिमाली न्यौपाने, भक्तसिँह कठायतलगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रमा र्सिञ्चव लिम्बुले संगित भरेका छन् भने सम्पादन किम्मे थापाकाे छ। शेखर लामा र आर.पी कर्माचार्यको संयुक्त लगानीमा चलचित्र निर्माण गरिएको हो। निर्माणको सबै काम सकिसकेकाले केही समयमै चलचित्र प्रर्दशनमा ल्याइने बताइएको छ।

प्रकाशित मिति: : 2021-09-15 18:44:00

प्रतिकृया दिनुहोस्