बिएल संवाददाता
बिहीबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका पठाओ चालकको गम्भीर अवस्थामा वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
आत्मदाह प्रयास गर्ने युवक मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली रहेको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पीडित युवक पठाओ (राइड सेयरिङ) चालक रहेको खुलेको छ।
के हो घटना?
हाल भक्तपुर बस्दै आएका नेपाली बिहीबार दिउँसो करिब १:४५ बजे नेपाली बाग्मती प्रदेश ०२–०६४ प ३२५० नम्बरको मोटरसाइकल लिएर राहदानी विभाग पुगेका थिए।
जिल्ला प्रहरी परिसर स्रोतका अनुसार राहदानी विभागको ३ नम्बर गेट अगाडि पार्किङ गरेर राखेको मोटरसाइकलमा काठमाडौं महानगर प्रहरीले ‘ह्वील लक’ लगाएपछि उनको प्रहरीसँग भनाभन भएको खुलेको छ।
विवाद चर्किएपछि महानगर प्रहरीले मोटरसाइकल गाडीमा हाल्न खोजेको थियो। नेपालीले आफू पठाओ चलाएर जीवन गुजारा गरिरहेकोले रोजिरोटी नखोसिदिन अनुनय विनय गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार महानगर प्रहरीले उनको विलौना नसुनेपछि मिनिरल वाटरको बोतलमा पेट्रोल निकालेर आत्मदाह गर्ने चेतावनी दिए।
त्यतीबेलासम्म पनि महानगर प्रहरीले वास्ता नगरेपछि उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो सल्काएका थिए। प्रत्यक्षदर्शीका अनुसार त्यतिबेलासम्म पनि महानगर प्रहरी मुकदर्शक बन्यो। घटनास्थलमै रहेका सर्वसाधारणहरू समेत मुकदर्शक बने।
आगजनीबाट गम्भीर अवस्थामा पुगेका नेपालीलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्यायो। त्यहाँ उनको आईसीयूमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था अत्यन्त्यै नाजुक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
पीडित युवकका दाजु मदन नेपालीका अनुसार कृषि विषयमा अध्ययन पूरा गरेका नेपाली रोजगार नपाएपछि पठाओ चलाएर परिवार पाल्न विवश थिए। गणेशका श्रीमती र एक छोरी छन्।
काठमाडौं प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको छ। प्रहरीले घटनास्थल वरपरका सीसीटीभी फुटेजहरू संकलन गरेर लिएको छ। घटनामा संलग्न नगर प्रहरीको भ्यान र पीडित युवकको मोटरसाइकल राहदानी विभाग परिसरमै राखिएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया