माधव नेपालको पार्टीले एक सिट पनि जित्दैन:  विष्णु पौडेल

एमालेका उपमहासचिव विष्णु पौडेलले माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टीले एक सिट पनि नजित्ने दाबी गरेका छन्। बुटवलमा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले विगतमा एमाले फुटाउनेहरूले एक सिट पनि नजिते जस्तै माधव नेपालको हालत पनि त्यस्तै हुने दाबी गरे।

‘२०५४ मा पनि एमाले विभाजन भएको थियो। ५०/५० प्रतिशत अर्थात् आधा लगेर गएका थिए। महाकाली सन्धि र भारत अमेरिका एजेन्डा थिए। तर पनि मालेले देशभर एक सिट जित्न सकेन,’ उनले भने, ‘अहिले त कुनै सिद्धान्त र नीति होइन, स्वार्थ र इर्ष्याले गएको झुन्डले कुनै सिट जित्ने अवस्था छैन।’

पौडेलले एमाले नफुटेको पनि दाबी गरे। ‘दल विभाजन कानुनअनुसार एमाले विभाजित हुने नभएपछि २० प्रतिशतको प्रावधान अध्यादेश ल्याउन देउवाको चरणमा निवेदन चढाएर अध्यादेश ल्याएर विभाजनको प्रयास गरियो। विभाजन भएको होइन, स्वार्थी तत्व बाहिरिएको हो,’ उनले भने।

उनले माधव नेपाल भविष्यमा कांग्रेसमा जाने भएकाले भ्रममा नपर्न कार्यकर्तालाई आह्वान गरे। ‘माधव नेपालको झुन्ड बनेर, माधव नेपालमार्फत कांग्रेसमा जाने, कांग्रेसको सेवा गर्नुपर्ने कुनै जरुरी छैन। माधव नेपाल झुन्डले गरेको गतिविधि सत्य होइन,’ उनले भने।

कांग्रेसको पछाडि लागेर वामपन्थी शक्ति नबन्ने पनि उनले बताए। ‘यो कुनै सिद्धान्त केन्द्रित लडाइँ थिएन। स्वार्थ केन्द्रित लडाइँ थियो। आफ्नो सरकार गिराएर कांग्रेसको पछि लाग्ने अनि वामपन्थी शक्ति बनाउने ? कांग्रेसको पछि लागेर, दक्षिणपन्थीको पछि लागेर वामपन्थी हुन्छ ?’ उनले प्रश्न गरे।

‘देउवा प्रधानमन्त्री भएपछि पनि केही स्वार्थी तत्वहरू पार्टीको पक्षमा होइन, पार्टी विभाजनको पक्षमा लागे। हामी कुनै हालतमा एमालेलाई विभाजित हुन दिने छैनौं,’ उनले थपे।

पौडेलले एमाले जनताको विश्वास जितेर फेरि सत्तामा आउने उद्घोष पनि गरे। ‘प्रतिपक्षमा रहेको चिन्ता नगर्नुस्। छिट्टै चुनाव हुँदैछ। केही महिनाका लागि प्रतिपक्षमा छौं। जब निर्वाचन हुनेछ, तब एमालेले तागत, हैसियत देखाउनेछ र जनताको साथ विश्वास लिएर सरकारमा आउनेछ,’ उनले भने।

जसरी पनि सत्तामा पुग्ने माओवादी आकांक्षाले पार्टी जीवनमा समस्या आएको र माधव नेपालको कारण पनि अहिले पार्टीमा समस्या आएको उनले आरोप लगाए।

‘प्रचण्डजीहरू कांग्रेसको पछाडि लाग्न तयार भए। कम्युनिस्ट एकताबद्ध राख्न तयार भएनन्,’ उनले भने, ‘एमालेभित्र माधव नेपाल प्रवृत्ति करिब डेढ दशक काम गरेको, प्रधानमन्त्री भएर काम गरे। नीति, सिद्धान्त, विधिमा मत छैन। खाली महत्वाकांक्षाले प्रहार गरे।’ प्रचण्डसँग मिलेर माधवले पार्टी कब्जाको प्रयास गरेको उनको आरोप थियो।

‘एमालेका केही स्वार्थी तत्वलाई साथमा लिएर एमाले कब्जा गर्ने नसकेपछि स्वार्थी समूहलाई निकालेर एमाले कमजोर बनाउने प्रयास गरियो,’ उनले भने, ‘माओवादी निस्किए पनि एमाले एकताबद्ध बनाएर सरकार चलाउने अवसर थियो। तर एमालेकै सांसदले विश्वासको मत दिएनन्। एमालेको सरकार गिर्ने अवस्था बन्यो। यो तहको अनुशासनहीनता एमालेमात्र होइन, कुनै पार्टीमा सैह्य छैन।’

मन्त्रिपरिषद् विस्तार गर्न नसक्नेले के गर्लान् ?

पौडेलले एमाले सरकारको विकल्पमा अनेक गठजोडमा बनेको टालाटुली सरकारले दुई महिनासम्म मन्त्रिपरिषद पूर्णता नदिएर अक्षम प्रमाणित गरेको बताए।

‘सरकारले कस्तो नालायिकी देखाइरहेको छ भने हामीले प्रस्तुत गरेको आमजनताले समर्थन सामाजिक जीवनका मान्छेले स्वागत गरेको बजेटलाई विस्थापन गर्ने, गाउँगाउँमा विकासमा परियोजना रद्द गरेर देश बजेटविहीन बनाउँदै,’ उनले भने, ‘खर्च गर्न नपाउने स्थिति बन्दैछ। सरकारले एमालेका कारण बजेट आएन भन्ने देखाउने प्रयत्न गर्दैछ। त्यो कुरा नसोचे हुन्छ। जनता लाटा छैनन्। यो सरकार जनता र राष्ट्रको पक्षमा छैन। आँट भरोसा छैन। एमालेबाहेक देशलाई अगाडि बढाउन सक्दैन।’

प्रकाशित मिति: : 2021-09-15 16:20:00

प्रतिकृया दिनुहोस्