शक्तिशाली घोडचढी सेनाका रुपमा भोटबाट नेपाल भित्रिएका तामाङलाई राज्यले विस्तारै निशस्त्रीकरण गरेर पीपा पल्टनमा परिणत मात्रै गरेन, काठमाडौंको छेउछाउतिर बसाइ सर्न बाध्य पारेको पाइन्छ।
नेपालका तामाङलाई विभिन्न इतिहासकारले भोटका तत्कालीन शक्तिशाली राजा श्रङ चङ गम्पोसँग जोडेका छन्। राजा गम्पोका घोडचडी सेनाको रुपमा उनीहरू नेपाल आएको र यतै बसोबास गरेको इतिहासकारहरूको मत छ।
यहि सन्दर्भमा इतिहासकार इमानसिंह चेम्जोङले आफ्नो पुस्तक ‘किरात इतिहास’ (२०६३ः ७६) मा हँशुदेव (अँशुवर्मा?) को निधनपछि सन् ६४० मा उनका ज्वाइ श्रङ चङ गम्पो नेपाल आएका थिए। उनले त्यहि समयमा १२ डिभिजन तामाङ फौज तिब्बतबाट ल्याएर उपत्यकाको सुरक्षाको लागि तैनाथ गरेका थिए।
उनले तामाङ फौजको मतलब तिब्बतको घोडचढी फौज भएको उल्लेख गरेका छन्। ‘ता’को अर्थ घोडा, ‘माङ’ को अर्थ युद्ध र ‘माङ्मी’ को अर्थ सैन्य भएकाले ‘तामाङ’ भन्ने बित्तिकै युद्ध गर्ने मान्छे भन्ने बुझिने चेम्जोङको मत छ।
यसरी सातौं शताब्दिसँग जोडेर तामाङको प्राचीनताको इतिहास गडबड त हुने होइन भन्ने आशंका पनि उत्पन्न हुन सक्छ। त्यसैले, यस लेखमा तामाङको प्राचीनतालाई स्थापित गर्दै उनीहरू प्राचीनकालकै घोडचढी सैन्य पनि हुन सक्ने तर्क सहित ऐतिहासिक विवेचना गर्न खोजिएको छ।