चीनले सीमा मिचेको छैन, अनावश्यक राजनीति गरियो– नाम्खा गाउँपालिका अध्यक्ष लामा, हुम्ला

हुम्लाको नाम्खामा चिनियाँ पक्षले सीमा मिचेको भनिएको विषयमा अध्ययन गर्न गृह मन्त्रालयको टोली सिमिकोट पुगेको छ। तर, यहीबेला नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा भने काठमाडौंमा छन्। उनले चीनले सीमा मिचेको विषयलाई अस्वीकार गरेका छन्। 

सीमा विवादका बारेमा परराष्ट्र मन्त्रालयले यसअघि नै प्रस्ट पारिसकेको बताउँदै लामाले सरकार परिवर्तनपिच्छे सीमा विवाद ल्याएर कूटनीतिमा असर पारेको भन्दै असन्तुष्टि जनाए। ‘मेरा गाउँपालिका भएकाले विवाद उठेपछि म आफैं उपस्थित भएर स्थलगत अध्ययन गरेको थिएँ, त्यहाँ कुनै सीमा मिचिएको कतै पनि देखिएन,’लामाले भने, ‘तत्कालीन प्रजिअ र मसहित गएर अध्ययन गरेर सीमा नमिचिएको प्रतिवेदन सरकारलाई दिएका थियौं, त्यही प्रतिवेदनअनुसार परराष्ट्र मन्त्रालयले यसअघि नै धारणा बनाई सीमा नमिचिएको प्रस्ट पारिसकेको छ, अहिले फेरि विवाद निकालेको देख्दा अचम्म लागेको छ।’

शेरबहादुर देउवा नेतृत्वको सरकारले गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य नेतृत्वमा हुम्लामा चिनियाँ पक्षले सीमा मिचेको बारेमा अध्ययन गर्न समिति गठन गरेको छ। आचार्य नेतृत्वको टोली शनिबार सिमिकोट पुगेको छ। टोलीमा गाउँपालिका अध्यक्ष लामा समावेश छैनन्।

‘मेरै गाउँपालिकामा सीमा मिचिएको भन्दै अहिले गृह मन्त्रालयका सहसचिवको नेतृत्वकोे टोली सिमिकोट पुगेको छ, मलाई सहजीकरण गर्न अनुरोध गरियो, तर मिच्दै नमिचेको सीमामा अध्ययन गर्न किन जाने भनेर म गइनँ,’ उनले भने, ‘सीमाजस्तो कुरा पनि सरकार फेरिएपिच्छे फरक–फरक हुन्छ र ? यस्तो गम्भीर विषयमा खेलाँची गरिरहन मिल्छ र ? ’

यसअघि नै सरकारले प्रस्ट पारिसकेका उल्लेख गर्दै अध्यक्ष लामाले सरकारको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

उनका अनुसार सन् १९६२ मा नेपाल र चिनियाँ दुवै पक्षबीच भएको सहमतिअनुसारको भूमि नेपालतिर नै रहेको र चीनले आफ्नै भूमिमा संरचना निर्माण गरेको छ। ‘सन् १९६२ मा सीमाका बारेमा जुन सम्झौता भएको थियो, त्यो नक्सासँग दाँजेर अहिले हेर्दा पनि चीनले भूमि मिचेको अलिकति पनि देखिँदैन,’ लामाले न्युज कारखानासँग भने, ‘तत्कालीन प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी र मसहित गएको टोलीले अध्ययन गर्दा नमिचिएको देखेपछि मन्त्रालयलाई प्रतिवेदन बुझाएका हौं।’ 

उनका अनुसार नेपालका प्रजिअ र चिनियाँ पक्षबीच प्रत्येक वर्ष सीमा र सीमा सुरक्षाका बारेमा छलफल हुने गरे पनि कोभिड–१९ महामारीका कारण त्यो छलफल दुई वर्षदेखि रोकिएको छ।

नाम्चा गाउँपालिका वडा नम्बर ५ र ६ का १२ नम्बर पिल्लर र त्योभन्दा २७ किमी पर रहेको ११ नम्बर पिल्लरका बारेमा विवाद देखिए पनि स्थलगत अध्ययनमा त्यस्तो नभएको उनको दाबी कायमै छ। ‘पानी ढलोलाई सीमा मानिएको छ, १९६२ को नक्सा र अहिलेको स्थान हेर्दा पनि कुनै फरक छैन, चीनले आफ्नै भूमिमा संरचना बनाएको छ,’ उनले अगाडि भने, ‘सरसर्ती हेर्दा र नक्सासँग जुधाउँदा कुनै विवाद गर्नुपर्ने देख्दिनँ। तर सरकारको काम हो, गरेर केही प्रतिवेदन त देला।’ 

लामासँग गरिएको कुराकानी:

तपाईको गाउँपालिकामा चिनियाँ पक्षले सीमा मिचेको भन्दै टोली सिमिकोट पुगेको छ, तपाईसँग कुराकानी भयो ?

गृह मन्त्रालयले बनाएको टोली सिमिकोट पुगेको छ, मलाई सहजीकरण गर्न सम्पर्क गरेका थिएँ। तर पहिला नै टुंग्याएको विषय भएकाले तपाईहरू जानुहोस्, म आउन भ्याइनँ भनिदिएको छु। 

तपाई किन नजानु भएको हो ?

म काठमाडौंमा छु, यता मेरो काम पनि छ।

तपाईको गाउँपालिकामा सीमा मिचिएको छ, तपाई काठमाडौंमा नै बस्नु भएको छ, ध्यान दिनुपर्ला नि ?

सीमा विवादका बारेमा पहिला नै कुरा उठेपछि तत्कालीन प्रजिअ चिरञ्जीवी गिरीको नेतृत्वमा स्थलगत अध्ययन भएको थियो, म पनि गएको थिएँ। तर सरसर्ती हेर्दा र सन् १९६२ मा भएको सम्झौताअनुसार नक्सा जाँच गर्दा सीमा मिचिएको देखिएन। सीमा मिचिएको प्रमाण नपुगेपछि त्यो प्रतिवेदन संघ सरकारलाई पठाइएको थियो, लगत्तै सरकारले हुम्लामा चीनसँग सीमा विवाद नभएको प्रस्ट पारेको थियो।

भनेपछि तपाई ढुक्क हुनुहुन्छ कि सीमा मिचिएको छैन ?

स्थलगत अध्ययन गरेर सरसर्ती हेर्दा र पुरानो नक्सामा टेकेर अध्ययन गर्दा सीमा मिचिएको देखिँदैन, म गाउँपालिकाको अध्यक्ष, म मिचिएको प्रमाण कतै पनि देख्दिनँ। अब सीमाजस्तो कुरामा सरकारपिच्छे फरक धारणा बनाउने काम भयो, यो चाहिँ लाजमर्दो नै छ।

त्यसो भए अहिले अध्ययन समिति बनाएकोमा सन्तुष्ट हुनुहुन्न ?

सन्तुष्टि र असन्तुष्टिको कुरा होइन, सीमाजस्तो विषयमा एउटा सरकारको एउटा धारणा र अर्को सरकारको अर्को धारणा हुन्छ र ? सरकार फेरिएपिच्छे सीमा फेरिँदै जाने हो र ? यो त पूरै कच्चा काम भयो।

खास विवाद के विषयमा हो ?

म सीमा विवाद छ भन्ने नै मान्दिनँ, यो त जबर्जस्ती ल्याएको विषय हो। यसमा राजनीति गर्न खोजियो। 

खास के हो त ? 

म त्यहाँको गाउँपालिकाको अध्यक्ष, अनि मेरै वडाका ५ र ६ को सीमा मिचिएको भनिएको छ, म मिचिएको देख्दिनँ, यता मिचिएको भनिरहन्छन्, अब के गर्ने ?

विवाद पहिलेदेखि नै थियो कि ?

प्रत्येक वर्ष हुम्लाका प्रजिअ र चिनियाँ पक्षबीच सीमा र सीमा सुरक्षाका बारेमा द्विपक्षीय बैठक हुन्थे, अहिले कोभिडका कारण दुई वर्षदेखि हुन सकेको छैन। 

सरकारी अध्ययन टोलीलाई सहयोग गरेको भएँ हुन्थ्यो नि ? 

हामी मिचेको देख्दैनौं, त्यहीँअनुसार प्रतिवेदन दियौं। अहिलेको सरकारले मिचिएको छ भनेर अध्ययन टोली बनायो। सो टोली सिमिकोट पुगेको छ, अध्ययन गरेर फर्केपछि केही त निष्कर्ष देला नि त ? प्रतीक्षा गरौँ। 

– न्युज कारखाना

प्रकाशित मिति: : 2021-09-12 13:44:00

प्रतिकृया दिनुहोस्