सोलुखुम्बुकी पूजाको त्यो अडान, जसले उनलाई कांग्रेसमा दिलायो सर्वाधिक मत

सहमति स्वीकारिनन्, मैदानमा उत्रिइन्

नेपाल खबर

यज्ञराज जोशी

५२ वडा रहेको सोलुखुम्बुमा कांग्रेसको क्षेत्रीय प्रतिनिधि छान्ने विषयमा दुई वडामा भने सहमति जुट्न सकेन, निर्वाचन नै गर्नुपर्यो।

नेचासल्यान गाउँपालिका– ३ मा निर्वाचनको कारण बनिन्, २१ वर्षीया पूजा फुयाल। पाँच जना महिला क्षेत्रीय प्रतिनिधिको स्थानमा प्रतिस्पर्धी ७ जना पुगेका थिए। भित्रभित्रै सहमतिको प्रयास जारी थियो।

सहमति भए पूजाले नै मैदान छाड्नुपर्ने हुन्थ्यो। किनभने उनी उमेरमा पनि कान्छी थिइन्, त्यसमाथि अरु प्रतिस्पर्धी पनि उनका आफन्त नै थिए। तर, पूजाले मैदान नछाड्ने अड्डी कसिन्।

‘हारजित भए पनि चुनावकै नतिजा स्वीकार्छु, तर सहमतिका आधारमा पछाडि फर्किन्नँ,’ उनले भनिन्।

उनको अडानपछि चुनाव भयो। वडाबाट सर्वाधिक मतसहित पूजा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइन्।

बिहीबार फुयाँलले कांग्रेसको क्षेत्रीय प्रतिनिधिको प्रमाणपत्र ग्रहण गरिन्। २ सय ६३ मत खसेकोमा पूजाले २ सय २ मत प्राप्त गरेकी छिन्। उनले प्रतिद्वन्द्वी सरस्वती केसी भण्डारीलाई ८९ मतले पराजित गरेकी थिइन्।

‘मसँग प्रतिस्पर्धा गर्नेहरु अधिकांश आफन्तहरु हुनुहुन्थ्यो। सहमतिमा क्षेत्रीय प्रतिनिधि छान्दा मैले छाड्नुपर्ने अवस्था आएको थियो,’ पूजाले भनिन्, ‘तर लोकतान्त्रिक पार्टीमा चुनावमा जाँदा हारजित हुन्छ। नतिजा जे भएपनि स्वीकार्छु भन्दै सहमतिमा जाने कुरा अस्वीकार गर्दै बसेकी थिए। मैले सहमति नस्वीकार्ने भएपछि चुनाव हुने निश्चित भयो। जसमा धेरैको साथ मलाई प्राप्त भयो।’  

प्रकाशित मिति: : 2021-09-10 10:45:00

प्रतिकृया दिनुहोस्