बीपी र महेन्द्रले किन बनाए सैन्य ‘कू’ को योजना?

हिमाल खबर

काठमाडौँ

बुबा राजा त्रिभुवनले साली रत्नसँग विवाह गर्न नदिएका कारण युवराज महेन्द्रले बीपीसँग सहयोग मागे। बीपीले युवराजको प्रेमका खातिर राजा विरुद्ध सैन्य ‘कू’ सम्मको योजना बनाए। तर, उनै महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपीलाई ‘कू’ मार्फत गलहत्याए।

राजा त्रिभुवन र युवराज महेन्द्रको राम्रो सम्बन्ध थिएन। खास गरी युवराज्ञी इन्द्रको मृत्युपछि साली रत्नको प्रेममा चुर्लुम्म थिए महेन्द्र। महेन्द्र रत्नसँग विवाह गर्न चाहन्थे।

अर्कोतर्फ राजा त्रिभुवन राणा परिवारसँग सम्बन्ध राख्ने पक्षमा थिएनन्। उनी आफूले खोजेकी कन्यासँग विवाह गर्न युवराजलाई दबाब दिइरहेका थिए। नारायणहिटी दरबारभित्रको यो झगडा उत्कर्षमा छताछुल्ल भयो।

रत्नसँग विवाह गरे भाइ हिमालयलाई राजा बनाउने धम्की राजा त्रिभुवनले दिइसकेका थिए। बुबालाई घुर्की लगाउँदै महेन्द्रले पनि भनिदिएका थिए- 'आफ्नो प्रेमको रक्षा गर्छु, परे गद्दी त्याग्न तयार छु।'

बीपीको बेडमा महेन्द्र

ती दिनमा दरबार अत्यन्त कमजोर थियो। नेपाली कांग्रेस पार्टी स्थापना गरी २००७ सालको क्रान्ति सफल पारेकाले नेपाली राजनीतिमा बीपी कोइराला प्रभावशाली थिए। गद्दी त्याग्ने घुर्की लगाए पनि राजालाई मनाउन महेन्द्रले बीपीको सहयोग मागे।

यस प्रसंगमा बीपीका कान्छा भाइ (पूर्व प्रधानमन्त्री) गिरिजाप्रसाद कोइरालाले यो लेखकसँगको कुराकानीमा भनेका थिए- बाहिरबाट आएर सरासर सान्दाइको बेडरुममा म गएको थिएँ। कोट–पाइन्ट लगाएर कोही सुतेको छ। अचम्म लाग्यो। सान्दाइको बेडमा त्यसरी को सुतेको होला भन्ने लाग्यो। पछि थाहा भयो, उनी त युवराज महेन्द्र पो रहेछन्।

संयोगले त्यति वेला बीपी घरमा थिएनन्। ती दिनमा बीपीको आफ्नै मोटर थिएन। विशालनगरस्थित वसन्तशमशेरको दरबारमा बसेका बीपी प्रायः साइकलमा यात्रा गर्थे। जहाँ जानुपरे पनि निजी सचिव डा. तुलसी गिरी हरहमेशा साथमा हुन्थे।

प्रकाशित मिति: : 2021-09-09 13:36:00

प्रतिकृया दिनुहोस्