आजभाेलिकाे तीज: काेही 'टिकटक'मा व्यस्त, काेही रक्सीमा मस्त

Breaknlinks
Breaknlinks

चेलीको दु:ख बिसाउने ठाउँ सायद उ जन्मेको ठाउँ अर्थात उसकाे माइती घरभन्दा त अरु ठाउँ कहाँ होला र?

जुन ठाउँमा जन्मिइन्, हुर्किइन् र धेरै कुराहरु सिकिन्। अन्त्यमा बिहे गएर त्यहीँ घरबाट नै नचिनेको मान्छेको हातमा दान भइन्। र अब त्यहीँ ठाउँमा जान वर्षदिनको तीज कुर्नुपर्छ।

तीजमा चार दिन माइत जानको लागि छ दिनदेखि दिनरात गरेर सबै काम सक्काउनु पर्छ। सायद त्यसैले त होला तीज महिलाको ठूलो चाड भनिएको।

बर्षभरीको दु:खलाई माइतीमा गएर शब्दमा पोखेर तीनै शब्दलाई गित बनाएर नाचेर वर्षभरीको दु:खलाई भुलाइदिन्छन् चेलीहरु। मनमा केही नराखी सबै कुराहरु पोख्ने चाड भन्छन् नारीहरु।

वर्षभरी काम गर्दा कति दिन भोक-भोकै बसेर तीजमा आफ्नै आमाले पकाएको दर खाएर अर्को वर्षसम्मलाई पेट भर्छन् चेलीहरु। वर्षदेखि थाकेको त्यो शरीरलाई एकैदिन नाचेर थकाइ मार्छन् चेलीहरु। आमाको काखमा लुटुपुटु पर्दै आमासँग भेटेको खुसीमा रुन्छन् चेलीहरु। त्यसैले त वर्षमा एकपटक औधि खुसी हुन्छन् चेलीहरु।

तर, खै कहाँबाट आयो अहिलेको नयाँ तीज, जहाँ विकृति छरिएको छ। दरको नाममा रक्सिलाई लिन्छन्। तीजको नाममा छोटा लुगाहरु लगाएर टिकटकमा लाइक र फलो बढाउने चलन आएको छ।

तीज परिवारसंग बसेर रमाउने चाड हो भन्ने त एकादेशको कथाजस्तै भएको छ। अहिले त तीजको गीत सुन्दा पनि परिवारसंग बसेर सुन्दा लाज लाग्ने गीतहरु आएका छन्।

तीजलाई दु:ख बिसाउने रमाइलो नभएर अहिले त रक्सी पिएर टिकटकमा 'फलोवर्स' बढाउने चाड बनेको छ तीज। वर्षदिनमा आउने तीजलाइ त अपमान गर्न लाइएको छ।

नारीहरुले नै तीजलाई आफै बिर्सिन लागेका छन्। नयाँ रातो सारीमा हल्का गहना लगाएर सभ्य तरिकाले मनाउने तीजलाई अहिले त छोटा लुगा लगाएर टिकटकमा बुढाबुढीहरुलाई पनि भाइरलको लोभ देखाएर लाइक-फलोवर्सको लागि आफ्नो संस्कार नै बिर्सन्छन्।

खै कस्तो तीज आयो अहिले त। न त कतै मादलको आवाज छ, न त तीजको रहर आयो भन्ने धुन नै छ। न त दिदिलाई नयाँ रातो सारीको रहर छ, न त भाइलाई दिदी लिन जानुको सुर नै छ।

त्यसैले त आजभोलिको तीज खल्लो र फिक्का छ। अनि यहीँ तीज सभ्य तरिकाले नमनाउनू ठूलो भुल भइरहेकाे छ। सकभर हामी सबैले तीजलाई समाजकाे महत्वपूर्ण पर्व ठानेर संंस्कारसहित मनाउनुपर्छ। 

सबै महिलाहरुलाई तीजकाे हार्दिक शुभकामना। 

प्रकाशित मिति: : 2021-09-09 10:11:00

प्रतिकृया दिनुहोस्