एलिजाबेथको मृत्युपछिकाे योजना ‘अपरेशन लण्डन ब्रिज’ बाहिरिएपछि बेलायतको मन्त्रिपरिषदद्वारा छानविन

All Photo: Tim Rooke/Shutterstock
All Photo: Tim Rooke/Shutterstock

रानी एलिजाबेथको देहान्त पश्चातको अति गोप्य योजना बाहिर आएपछि बेलायतको मन्त्रिपरिषदले छानविन सुरु गरेको छ।

'लण्डन ब्रिज' नाम दिइएको उक्त योजना शीर्ष राजनीतिज्ञहरुमा बाँडिएको केही समय भए पनि उक्त दस्ताबेजलाई 'पोलिटीको' पत्रिकाले आफ्नो वेबसाइटमा राखेपछि राजपरिवारका सदस्य र राजनैतिक सल्लाहकारहरु आक्रोशित भएका हुन्। रानी एलिजाबेथ अहिले ९५ बार्षीय उमेरमा स्वस्थ छिन्, उनका पति फिलिपको मृत्यु भएको भर्खर पाँच महिना हुँदैछ।

एक सरकारी श्रोतका अनुसार, मन्त्रिपरिषदको कार्यालयले सूचना चुहावट सम्बन्धी अनुसन्धान सुरू गरेको छ। 

श्रोतले भन्यो,'कुन संस्करणको दस्तावेज बाहिर आएको भन्ने विषयमा छानविन भइरहेको छ। यदि सुरुवाती संस्करण हो भने त्यहीँ रोकिन सक्छ, तर देश र जनालाई मात्र वितरण गरिएको नयाँ संस्करण रहेछ भने मन्त्रिपरिषदले औपचारिक सोधपुछ अघि बढाउने छ।'

'यो खुलासाले कार्यक्रमका बारेमा सुरक्षासम्बन्धी खतरा निम्त्याउन सक्छ', श्रोतले भन्यो। रानीका पति भर्खरै बितेकाले यो खुलासा एकदमै असभ्य र अनावश्यक भएको पनि उनले बताए। यद्यपि पोलिटीकोले खुलाएको दस्तावेजको कम्तिमा पनि केही बर्ष पुरानो रहेको खबर आएको छ।

चालीसभन्दा बढी सैन्य टुकडी, काउन्सिलहरु, संघसंस्था र प्रसारकहरुले योजनाको आफूलाई चाहिने प्रतिलिपि प्राप्त गरेको भए पनि पूर्ण दस्तावेज सीमित व्यक्तिहरूसँग मात्र रहेको छ।

प्राप्त दस्तावेज अनुसार, पर्यटकहरुको अत्याधिक चाप हुन सक्ने सुरक्षा चासोबारे विभिन्न मन्त्रालयहरुले चिन्ता व्यक्त गरेका छन्। योजनामा रानीको मृत्युपछि हुने संभाव्यताको विस्तृत अध्ययन गरेर उनको शव कसरी बोकिन्छदेखि लिएर घटनाको बारेमा सूचना बाहिर ल्याउने बखत विभागीय स्थायी सचिवहरुले कसरी बोल्छन्सम्म उल्लेख गरिएको छ। 

 जसमा हजारौँले राजधानी भिड गरेर होटल, राजमार्ग, सार्वजनिक यातायात, खाद्यान्न आपूर्ति, प्रहरी प्रशासन र स्वास्थ्य सेवामा अत्याधिक तनाव पर्न सक्ने उल्लेख गरिएको छ। 

प्रधानमन्त्री, बरिष्ठ गभर्नर जनरलहरु र राजदूतहरुले रानीको मृत्युको पहिलो जानकारी पाउने भनिएको छ। उक्त दिनलाई 'डि-डे' भनेर सम्बोधन गरिएको छ। त्यसपछिका क्रमशः दश दिनलाई 'डि-१, 'डि-२' भनेर सेड्यूलिङ्ग गरिएको छ।

देशभरि नवनियुक्त राजा चार्ल्सको सम्बोधन प्रसारण गरिने छ भने श्रद्धाञ्जलि समारोह 'सेंट पल क्याथीड्रल (गिर्जाघर)' मा गरिने छ। उक्त गिर्जाघर त्यो दिनमा 'बेतरतीब'देखिने बताइएको छ।

प्रकाशित मिति: : 2021-09-08 12:13:00

प्रतिकृया दिनुहोस्