यी हुन् कम उमेरमै हृदयाघात हुने कारण !

पछिल्लो समय कम उमेरका व्यक्तिहरूमा पनि हृदयाघातको खतरा बढ्दै गएको मुटु रोग विशेषज्ञहरूले बताउन थालेका छन्। कम उमेरमा हृदयाघात हुनुको मुख्य कारणमा वंशाणुगत गुण, अव्यवस्थित खानपिन र खराब जीवन शैलीलाई नै प्रमुख कारण बताइने गरेको छ।

हृदयाघातको खतरा कम उमेरका व्यक्तिहरूमा हुने सम्भावना बढ्दै गएपछि चिकित्सकहरूले उनीहरूमा हृदयाघातको खतरा किन बढेको र यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर केही सुझावहरू दिएका छन्।

ध्रुमपानको सेवन

आजकाल युवा पुस्तामा फेसनको रूपमा ध्रुमपान गर्ने चलन बढिरहेको छ। फेसनको रूपमा विकास भएको ध्रुमपान कतिपयलाई युवा अवस्थामै लत लागिसकेको हुन्छ। ध्रुमपानको सेवनले मुटुमा विभिन्न किसिमका समस्याहरू उत्पन्न हुन्छ। ध्रुमपानको सेवनले मुटुमा कोरोनरी समस्याहरू ल्याउने र जसको कारण हृदयाघात हुने सम्भावना बढी हुने गर्छ। त्यसैले ध्रुमपानको लतलाई छोड्नु नै सबैभन्दा राम्रो उपाय मानिन्छ।

मदिरा सेवन

कम उमेरमै हृदयाघात हुनुको अर्को प्रमुख कारणमा मदिरा सेवन पनि रहेको छ। युवा पुस्तामा मदिरा सेवन गर्ने चलन पछिल्लो पटक अत्यधिक बढ्दै गएको छ। मदिराको सेवनले रक्तचाप (ब्लड प्रेसर) बढाउँछ जसको कारण मुटुका धमनीहरूमा असर गर्छ। रक्तचापको अस्वाभाविक वृद्धि हुँदा हृदयाघात हुने सम्भावना पनि बढी हुने गर्छ।

जङ्क फुडको सेवन

जङ्क फुड स्वादिलो हुने हुनाले यसले फरक फरक उमेर समूहका व्यक्तिहरूलाई लोभ्याइरहेको हुन्छ। युवा पुस्तामा पनि अहिले घरको खाना भन्दा पनि जङ्क फुड वा बाहिर बनाएको खानेकुरा खाने चलन बढिरहेको छ। हाम्रो जस्तो विकाशिल देशमा बाहिर बनाइएको खानेकुराहरू चिल्लो र मसलादार बढी हुने हुनाले स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन। त्यसैले यस्ता कुराहरूको अत्यधिक सेवनले हृदयाघातको खतरालाई बढाउने गर्छ।

अत्यधिक काम गर्नु

युवापुस्तामा अत्यधिक काम गर्ने जोस जाँगर रहेको हुन्छ। यो बाहेक अहिले सबै क्षेत्रमा प्रतिस्पर्धा भएको कारण काम बढी नै गर्नु पर्ने हुन्छ। कामको दबाब र प्रतिस्पर्धाले गर्दा धेरै युवाहरूले आफ्नो खानपिन र आरामको समेत बेवास्ता गर्छन् । यो बाहेक अहिलेको काम भनेको अत्यधिक समय कम्प्युटरको अगाडी बसेर गर्ने किसिमका छन्। लामो समय एकै ठाउँमा बसेर काम गर्दा धेरै व्यक्तिहरूलाई युवापुस्तामै विभिन्न किसिमका समस्याहरू देखा पर्न थालेको छ। जसमा अत्यधिक कामको चाप लिएर काम गर्दा रक्त नलीहरूमा असर गरिरहेको हुन्छ।

तनाव

करिअर, शिक्षा, आम्दानी आदीले गर्दा युवापुस्तामै धेरैलाई तनाव दिइरहेको हुन्छ। तनावको कारण मन र मस्तिष्क सधैँ असर गरिरहेको हुन्छ। त्यसैले मुटु र मस्तिष्कलाई स्वस्थ राख्नुको एउटा राम्रो उपाय भनेको तनाव नलिनु नै हो।

 
प्रकाशित मिति: : 2021-09-07 20:58:00

प्रतिकृया दिनुहोस्