म जन्मिएकाे साल बाले जंगल फडानी गरेर स्याउ खेती गरेछन्।
त्यसकाे पाँच वर्षपछि जुम्लामा नापी आएछ। जग्गा नाप्दै जाने क्रममा बाकाे स्याउ फारम पनि नापिएकाे रहेछ। तर लालपुर्जा आएनछ। बालाई अनाैठाे लागेछ। सबैले जंगल फडानी गरेर गडा बनाएकाे देखेरै बाले पनि खान लाउनकाे सुविस्ता हाेला, बाहुनबाडीकाे बाउर गर्न छाेडिसकेकाले आम्दानीकाे गतिलाे स्राेत बन्ला भनी बगैजा बनाउने साेचले जंगल खनेका रहेछन्।
अरु सबैकाे लालपुर्जा आउँदा मेराे किन आएन भनी बाले साेधिखाेजी गरेछन्। पत्ता लागेछ, पूर्व सभापतिले (गाउँकै बाहुन) राेक्का गर्न भनी मुद्दा हालेछन् र राेकिएकाे रहेछ। अब बाका अगाडि कि ती सभापतिका अगाडि गएर ज्यु हजुरी गर्ने, कि त मुद्दा लडेर आफूले खनेकाे जग्गाको स्वामित्व लिने। दुइटा विकल्प देखा परेछन्। बाले दाेस्राे विकल्प राेजेछन्। पहिलाे विकल्प नराेज्नुकाे कारण बाहुनवादीकाे बाउर गर्न छाेडेकाे हुनाले हलि नलाग्ने भएपछि बा उनीहरुका लागि विद्राेही भए। विद्रोहीहरु स्वभावैले सत्ताका दुस्मन हुने भएपछि पछि फेरि उनीहरुसँग झुक्न किन जाने भन्ने भएछ।
शाेषणमा आधारित लगिमानी(बालिघरे) प्रथाकाे चक्रबाट उछिट्टिएर अलग बस्नु बाका लागि फलामकाे चिउरा चबाउनु सरह बन्याे। त्यही फलाका चिउरा चपाउँदा चपाउँदा बा स्पात बनेछन्। र नझुक्ने भन्दै दाेस्राे विकल्पमा लागेछन्।
बाकाे दाेस्राे विकल्पले काम गर्याे। बालेले मुद्दा जिते। फारमकाे लालपुर्जा आयाे। त्यसपछि बाले ज्याल पाउने काममा पनि गाउँका बाहुनबाडीकाे गर्न छाेडिदिए र अधिकांश समय स्याउकाे रेखदेख र बगैंचा व्यवस्थापनमा बिताए। याे अवधिमा कृषि कार्यालयका कर्मचारीसँग राम्राे सम्बन्ध बनाए। बाले थुप्रै प्रमाणपत्र हात पारे। एक पटक त जिल्लाका उत्कृष्ट कृषकसमेत घाेषित भए। बाले सहुलियत दरकाे कृषि ऋण पनि लिएका थिए। धेरैपछि स्याउ फल्न थालेपछि ऋण तिरे।
स्याउ भर्खर फल्न लागेका थिए। पहिलाे वर्षा गाेल्डेन स्याउ फल्याे। सुनजस्ता पँहेला स्याउका दाना देख्दै खाउँखाउँ लाग्दा थिए। तर बा हामीलाई खान दिन्थेनन्। जिब्राेमा आएकाे रस त्यत्तिकै निल्नुबाहेक विकल्प थिए।
किनभने पहिलाे वर्षकाे फल बाबिराे मष्टलाई नचढाई हामीले खान पाउनेवाला थिएनाैं। त्यसमाथि बा आफै बाबिराे मष्टका धामी। गाउँभरीका मान्छे समस्या पर्दा बासँग आउँथे। बाले नारी छामेर हकार्ने मात्र गरेका थिएनन्। कति बिरामीलाई अस्पताल पठाउने काम पनि गर्थे।
बाललाई धामी चढेकाे बेला हेराउन आएका मान्छेलाई लाग्ने राेग दुई भागमा बाँडेका थिए। आङ उब्जेकाे व्यथा र लागाे भागाे भनि। उनलाई आँङ उब्जेकाे व्यथा हाे जस्ताे लाग्याे भने अस्पताल पठाउँथे। लागाेभागाे हाे भने आफ्ना देउता सुद्याउन र जरिवाना तिराउन लगाउँथे। पछि थाहा भयाे, त्याे लागाे भागाे वा देउता लागेकाे भन्ने खालकाे राेगकाे उपचार मनाेवैज्ञानिक तवरबाट हुँदाे रहेछ। त्याे उपचारका बलिया प्रतिनिधि वा मनाेचिकित्सक भनेका धामी रहेछन्। चित्त शान्ति भयाे भने उनीहरुलाई निकाे हुँदाेरहेछ। तीनीहरुकै प्रचारले धामीकाे चर्चा गाउँदेखि पर-परका गाउँसम्म चल्ने रहेछ।
यस्तरी धामी भएकै कारण सारा गाउँलेका अगाडि नामी कहलिएका बाले पहिलाे पटक फलेकाे बाली, पहिलाे पटक व्याएकी गाइकाे दूध र पहिलाे पटक फलेकाे स्याउ देउतालाई नदिई हामीलाई दिने कुरा भएन। हामीले बा नभएकाे बेला लुकि-लुकी चाेरेर स्याउ खाएकाे बा थाहा पाइहाल्थे। हामीले पहिला मिठाे स्याउ खान्थ्याैं, पछि बाकाे नमिठाे गाली खान्थ्याैं।
बालाई धामी चडेकाे बेला सुनाैं सुनाैं लाग्ने गरि पड्याैली पढ्थे। उनले पढेकाे पढ्याैली मैले दुरुस्तै सिकेकाे थिए। घर आएपछि बाकै जस्ताेगरि घरमा पतुर्थें। बा कतिबेला खुब लाजिन्थे। कतिबेला मैले अति गरे भने बा रिसाउँदै, 'कप्टिनीका भार्या(बाेक्सीकाे भरिया) देउता लागिकन काेडिएलै' भन्दै चुप लगाउँथे।
पछि बा दमका राेगी भए। बालाई जाडाे माैसममा नेपालगन्ज नबसी नहुने भयाे। वर्खाभरी मेहेनत गरेर फलाएकाे स्याउ बेचेपछि जम्मा गरेकाे रुपैयाँ लिएर बा नेपालगन्ज जान्थे। सँगै आमा पनि जान्थिन्। म एसएलसी पास भएपछि हामी सँगै बस्न थाल्याैं। त्यहीँ मैले स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरे। नेपालगन्जमा पनि सितलहर चल्दा बालाई खाेकीले सताइरहन्थ्याे। दम बढ्थ्याे। हप्तैपिच्छे अस्पतालकाे बास हुन्थ्याे।
नेपालगन्ज बसुन्जेल बा मेरा साथी थिए। हामी खुलेर कुरा गर्थ्याैं। म बालाई बेलाबेला जिस्काइरहन्थे। बा कहिलेकाहीँ मेला हेर्न जान्थे। मेलामा दाेहाेरी गाउने केटीहरु बालाई समेत जिस्काइदिने रहेछन्। बुढा ६० कटेका बा लजाउँदै भन्थे, 'धाेरी(दाेहाेरी) गाउने केटीले जिस्काइदिई।' त्यही कुरा मलाई बा जिस्काउने मसला भइहाल्यो। म जिस्किदै भन्थे, 'बड्डाले लभ पाड्याछुन। गलफ्रेन्ड बनायाछुन। पख माे आमान फाेन गरि भुन्दिन्याै।' बा लाजले भुतुक्कै हुन्थे। 'काँ माैइले लभ पाड्या हुँ। त्यैले आफै जिस्क्याइकी हाे' भन्थे। कुरा सकिन्थ्यो।
पछिपछि बालाई गर्मी महिनामा पनि नेपालगन्ज बस्नुपर्ने भयाे। बा रमाइलाे मेला हेरर आएपछि घरमा बाबू छाेराेकाे रमाइलाे गर्ने माध्यम थिए।
एक दिन नेपालगन्जमा बाले आफूले बाहुनबाडीकाे हली लाग्न छाेड्नुकाे कारण खाेतले। 'जेठमास र कात्तिकमास घरकाे काम उस्ताे गर्न नपाइन्या। खाली लगिका घरमात्रै जानुपड्न्या। दिनभरी काम गरेपछि बाहापल्टी(साँझपख) सबैभन्दा ठुलाे भारी पनि आफैले बाेक्नुपड्न्या। तर खान भुन्या काेदाका सारा बासी राेटामा घाेडे नुन(सेताे नुन) र एक काेसाे पिर्या(खुर्सानी) पाइन्या। वर्षभरी बाहुनबाडीकाे काम गरीकन घरा झान(जहान)काे पेट नभरिन्या। त्याे छाेडीकन आफै केही गर्न पाया त सुविस्ता हाेला कि भुनि हलि लाग्न छाेड्या हुँ।'
हली लाग्नु भनेकाे हलाे, जुवा, फालाे सबैकाे व्यवस्था आफै गर्नु हाे। वर्षभरि लगीकाे सबै खेत बारी खनजाेत गरेबापत एक भारी खाेला किनारकाे कमसल खालकाे जग्गा खान पाइने हाे। बीसाैं वर्ष हली लागेपछि पनि छाेड्दा त्याे खेत लगिले फिर्ता लगिहाल्ने। यसै कारण बाले लगिमानी प्रथामा मन लगाएनन्।
बा कम्युनिस्ट थिएनन्। उनले बाह्रखरीबाहेक अरु पढेका पनि थिएनन्। तर बालाई चिठी लेख्न आउँथ्याे। हामीलाई समेत पढ्न सिकाएका थिए। पहिलाेपल्ट बाले मेराे लागि भनेर काठकाे सानाे पाटीमा रेडियो बजाएर सकिएका ब्याट्री फुटालेर कालाे रंग लगाई कालाे पाटी बनाए। राताे माटाकाे डल्लाे मेराे दायाँ हातमा समाउन लगाएर पहिला सिधा ठाडाे धर्काे ताने, बाँयातिर सिधा धर्काेसँग जाेडिएकाे एक गालाे डल्लो बनाए, दाँयातिर सिधा धर्काेसँगै जाेडेर आधा गाेलाे बनाएपछि माथितिर अर्को सिधा तेस्राे धर्काे तने र भने, 'क भयाे।' म ओैधि खुसी भए। त्यसपछि क्रमश, ख हुँदै ज्ञ सम्म पुगेपछि एक कलासमा भर्ना भए।
बाहुनबाडीले काममा पेलेपछि उनकाे दिमागमा विद्राेहकाे चेतनाकाे बिजाराेपण भएकाे थियाे। त्यसपछि बाले बाहुनबाडीकाे हलाे भाउन छाेडिदिए।
भाउन छाेडेपछि नै बादेखि बाहुनबाडी फाएर भएका थिए। कुनै ठाउँमा उचाे स्वर गर्ने बित्तिकै 'बड्ताे बाेल्छस् डुम' भन्दै झम्टिन आउने उनीहरु नै हुन्थे। अरु हली लाग्नेहरुलाई समेतलाई बासँगकाे संगत छाेडाएर एक्ल्याउन खाेज्थे। बा पछि अरुले पनि हाेलाे भाउन छाेडे। हालाे भाइदिए पनि त्यसकाे ज्याला माग्न थाले। यसरी शाेषणमा आधारित लगीमानी प्रथाकाे जग हल्लिन थालेकाे थियाे।
त्यसपछि बाले स्याउ खेती थालेका हुन्। स्याउ खेतीले बालाई साहु त बनाएन तर आफू बिरामी हुँदा उपचार खर्चकाे लागि बाहुनबाडीका ढाेकामा उभिनु परेन। हामीले पढ्न लेख्न पायाैं। बाकाे सेसपछि स्याउ फारम आमाकाे समेत सारथी बन्याे।
यसरी विद्रोहकाे बीउ राेपेर लगीमानी प्रथाकाे जग हल्लाउने बा नेपालगन्जमा हुँदा दमले आफै हल्लिरहेका थिए। कहिले राेगी, कहिले निराेगीजस्ता देखिने बा जीवनकाे उत्तरार्धमा पुगिसकेका रहेछन्, मलाई त लाग्थ्यो बा अरु धेरै वर्ष बाँच्नेछन्।
२०७१ साउन २४ गते दिउँसो बाले नेपालगन्ज बजार एक राउन्ड लगाएर आएपछि अनुहारमा उज्यालो पार्दै, फिसिँक्क हाँस्दै भने, 'देज्जास्! आज त पुरै नेपालगुन्ज बजार डुल्दिया (घुमिदिनु)।' बाको नेपालगन्ज बजार भनेको धम्बोजीबाट घरबारी टोल, बागेश्वरी, एकलाइनी हुँदै पोते गल्लीमा हाट जाँदाका इष्टहरुलाई भेटेपछि डेरा फर्किनु थियाे।
बाले आफ्नो नेपालगन्ज नघुमेको पनि धेरै भैसकेको थियो। २०७० फागुन ६ गते अचानक बाको शरीर चल्न छोड्यो। केही समय बोली बन्द भयो। त्यसपछि हामीले लामो समय उपचार गर्यौं। बा पुरानै अवस्थामा फर्किए। भर्खर प्यारालाइसिसबाट तंग्रिएका बाको तागत देखेर त्यो दिन म कम्ता खुसी भइन। त्यति नै खुसी जतिबेला म सानो थिए। बाले दिनभरी काम गरेर घर आउँदा एक रुपियाँका तीन आउने सुन्तला टपी(चक्लेट) ल्याइदिन्थे। लाग्यो अब बालाई निको भैसकेछ।
खुसीखुसीमा मैले खाना पकाए। बाबु छोराले खायौं। दिनभर चर्को गर्मी भए पनि राती पानी पर्न थाल्यो। गर्मीबाट पार पाइयो। विस्तारै शितल भयो। १० नबज्दै म निदाए। राति ११ बजे बाकाे दम बढ्यो। दमको निरन्तर च्यापाइले बाको पीडा मिश्रित आवाज बढ्यो। कति बेला उज्यालो होला र अस्पताल पुर्याउला सोचिरहेको थिए।
रातिभरी सुत्न नपाएको म, बिहान चार बजेतिर निदाएछुँ। पाँच बजे बिँउझिँदा बाको हालत खराब भैसकेको थियो। हतार हतार बालाई अस्पताल लिन रिक्सा खोजे। अस्पताल लिँदालिँदै बाटोमा बाको शरीर चिसिन थाल्यो। नेपालगन्जको चर्को गर्मीमा शरीर चिसिदा मेराे मनमा चिसाे पस्याे। तर सास छउन्जेल आश हुन्छ। नसा मन्द चलिरहेका थिए। मुखबाट घ्यारघ्यार आवाज आइरहेको थियो। लाग्थ्यो बाको आवाज आउने नलिमा केही अल्झिएको छ, अस्पताल पुग्ने बित्तिकै निक्लन्छ। अनि सब ठिक हुन्छ।
हतारमा बालाई भेरी अस्पतालको इमर्जेन्सी वार्डको बेडमा राखे। नर्स खोजे र अक्सिजन मास्क मागे। सिलिन्डर छिटो अन गर भने। अत्तालिदै डाक्टर बोलाएर ल्याए। डाक्टरले नाडी छामेपछि धमिलो अनुहारमा मधुरो स्वर लगाएर अमिलो वाक्य बोले, 'हि इज नो मोर'।
बाको सास उडेसँगै मेरो आश पनि उड्यो। बिहानीको उज्यालो खुल्दै गएको नेपालगन्ज अध्याँरो लाग्न थाल्यो। घरदेखि टाढाको ठाउँ त पुरै कालो भयो। आँखाबाट झरेको नुनिलो पानीले शरीर सिंचित थियो। जसरी समुद्रको नुनिलो पानीले बोटबिरुवा गल्छन्, त्यसरी नै नुनिलो आँसुले म गलेँ। निराश भएँ।
त्यति नै निराश, जतिबेला बाले, 'आज रुपियाँ भयानुन् छोरा' भन्दै सुन्तला टिपी ल्याएदिएका हुन्नथे। त्यसपछि के भयौ, आफै थाहा पाइहाल्नु हुन्छ। भनिरहनु परेन। आज बाकाे न्यास्राे लागिरहेको छ। (आर्काइभबाट)
आहा एकदमै यथार्थपरक घटनामा आधारित लेख निकै भावुक शब्द जात ब्यवस्थाले ल्याएको द्वन्द्व बाहुवाद विरुद्धमा बा को लडाई साच्चै क्रान्तिकारी नै हुन कम्युनिस्ट नभएपनी बा जुन जातीय विभेदको विरुद्ध बोलेको छ समाजलाई यथार्थ चित्रण गरिएको यो लेख साच्चिकै यसले सकारात्मक सन्देश दिन्छ एकदमै भावुक पनि बनायो यो लेखले अझ मार्मिक त यतिबेला लाग्यो "बाको सास सगैँ मेरो आस पनि उड्यो"निकै मर्मस्पर्शी लेख दाइ महेश नेपाली केही सिक्न पाइएको छ पुरै पढे तर सुझाव संमक्षिप्तमा दिएँ 🙏😥❤️
मनै खल्वलायो दाई 👏👏🙏 उतकृष्ठ लेख