उहिलेजस्तो आज कहाँ छ र?
कहिलेकाहीँ मन आत्तिँदा बह पोख्ने,
तिम्रो न्यानो अँगालो आज कहाँ छ र?
उहिलेभन्दा अहिले धेरै बुझ्ने भएछु,
आँखाबाट आँशु पनि कमै झार्छु,
तर, उहिलेजस्तो रुदाँ आँशु पुछ्ने
तिम्रो हात आज कहाँ छ र?
आज पनि घरमा तिमीलाई
मनपर्ने खाना पाक्छ तर,
नुन चर्को हुँदा पनि मिठो छ भन्ने
तिम्रा ओठ आज कहाँ छन् र?
आज पनि तिम्रो जन्मदिनको
शुभकामना दिन तिमी फर्कने बाटो हेर्छु
तर, उहिलेजस्तो तिम्रो साइकलको घण्टीले
तिमी आएको खबर कहाँ सुनाउँछ र?
यो कविता हो, स्वस्तिका माली (१९ वर्ष) काे। १४ भदौमा माइतीघर मण्डलास्थित द्वन्द्वपीडित समुदायद्वारा आयोजित दीप प्रज्वलन कार्यक्रममा आफ्ना बुवाको सम्झनामा वाचन गरेको कविताका पंक्तिहरू हुन्। स्मृतिमा बुवाको धमिलो आकृति लिएर बाँचेकी छिन्। उनी। ललितपुर थेचोकी स्वस्तिका आफ्नी दिदी नग्मा मालीसँग बस्छिन् र पद्मकन्या क्याम्पसमा स्नातक तह अध्ययनरत छिन्।
बिनाकसुर सामान्य सोधपुछका लागि घरबाट उठाएर लगिएका बुवाहरू फर्किने आशमा आज पनि कैयौँ सन्तानहरू बाटो हेरेर बसेका छन्। ती सन्तान, जसले कहिल्यै बुवाको अनुहारसम्म देख्न पाएनन्, देख्न पाएका सन्तानले बुवाको काख महसुस गर्न पाएनन्। मनको कुनै कुनामा बुवाको धमिलो आकृति लिएर बाँचेका सन्तानका आँखाका आँशु अझै ओभाएका छैनन्।
आज कुशे औँशी अर्थात् सन्तानले बुवाको मुख हेरेर आशिर्वाद लिने दिन। ‘बुवाको मुख हेर्ने’ दिन आउँदा स्वस्तिका झस्किन्छिन्। ‘बुवाको मुख हेर्ने दिन आउँदा बुवाको झनै याद आउँछ,’ उनी भन्छिन्, ‘सामाजिक सञ्जालमा सबैले बुवासँगको फोटो राख्दा मेरो पनि बुवा फर्केर आउनुभए हुने नि जस्तो लाग्छ।’