पन्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरेको तालिबानको दावी

Photo : AFP
Photo : AFP

अफगानिस्तानको पन्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरिएको तालिवान विद्रोहीहरूले दावी गरेका छन्।

विद्रोहीहरूले आक्रमण गरेपछि केही घण्टा दोहोरो भिडन्त भएको त्यस क्षेत्रमा अन्ततः तलिबान समूहले चार जिल्ला कब्जा गरेको दाबी गरेको हो। तर तालिबान विद्रोहीलाई प्रतिकार गरेको पक्षले भने तालिबान विद्रोहीको दाबीको खण्डन गर्दै त्यो क्षेत्र अझै पनि आफूहरूकै नियन्त्रणमा रहेको दाबी गरेका छन्।

तालिबान विद्रोहीहरूले पन्जशिर उपत्यकामा पर्ने शुतुल, पार्यान, खिन्ज र अब्शार जिल्ला कब्जा गरेको दाबी गरेका हुन्। दुवै पक्षले आ–आफ्नो दाबी गरेपछि अन्यौलता सृजना भएको छ। त्यस क्षेत्रमा अहिले पनि भिडन्त जारी नै रहेको जनाइएको छ।

पन्जशिर उपत्यकामा भिडन्तका कारण सञ्चार सेवा पनि टुटेकाले थप विवरणहरू सार्वजनिक हुन गाह्रो भएको स्थानीय सञ्चारकर्मीहरूले बताएका छन्।

भिडन्तका क्रममा पन्जशिरमा कैयौँको मृत्यु पनि भएको र कैयौँ घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन्। तर पूरा विवरण भने आउन बाँकी छ। 

प्रकाशित मिति: : 2021-09-06 05:55:00

प्रतिकृया दिनुहोस्