गर्मीको हप्हपी। खपी नसक्नु। अझ, सडक तातेर शरीर बाँफिएको थियो। साउन मध्यतिर हुनुपर्छ। दिउँसोतिर पोखराको न्युरोडमा बरालिँदै थिएँ।
हुन त मेरो दैनिकी नै हो यो। पोखराका गल्ली पैतालाले नापिरहेको हुन्छु।
त्यो दिन रामजी गन्धर्व भेटिए। काँधमा सारङ्गी भिरेका। अग्लो कदका थिए, रामजी। कास्कीकै पुछार तल्लो गगनगौडाबाट आएको हूँ भन्थे। सारङ्गी अघि पारेर, पछाडि झोला पनि भिरेका थिए। मैलो परेको सेतो सर्ट। नीलो पाइन्ट। गोल्डस्टार जुत्ता लगाएका थिए।
एउटा हातमा सल्काएको चुरोट। अर्को हातले सारङ्गी रेट्ने ‘धनु’ समाएका। व्यस्त बजारका गल्ली–गल्लीमा खबर पुर्याउँदै हिँडेका रामजी दाइको सारङ्गी र्याइँ र्याइँले तान्यो। गाउँ छाडेको निकै पछि सारङ्गीको धुन जो सुनेको थिएँ।
‘मैले देको माया कम थियो कि
कोही कसैले थपेर दियो कि
चौतारीको वर ...’
रामजी दाइ न्युरोडका व्यापारीका दैलोअघि सारङ्गी रेट्दै गीत घन्काउँथे। व्यापारीहरु १०, २० का दुई–तीनटा नोट ल्याएर दिन्थे। सारङ्गी रेट्दै एक हातले ‘जदौ’ गर्न पनि भ्याएकै थिए उनले।
रमाइलै लागि रहेको थियो। एकैछिन उनलाई पछ्याउने अनुमति मागेँ। उनले नाइँनास्ति गरेनन्। म उनको पछि लागेँ। लगभग १०–१२ जति व्यापारीको दैलोमा पुगेर गीत गाइसकेपछि मैले उनलाई अर्को दुःख थपिदिएँ। उनको समय केही छिनका लागि मागेँ। यसमा पनि उनले मलाई दुःखी बनाउन चाहेनन्। ‘हुन्छ’ भने।
आज उनी गीत गाउँन पोखरा थिए। भोलि यहाँ हुने छैनन्। अर्कै ठाउँ पुग्ने छन् तर, गीत सुनाउन छाड्ने छैनन्। सारङ्गी रेट्न छाड्ने छैनन्। हो, पुख्र्यौली परम्परा उनले सास रहुञ्जेल तोड्ने छैनन्।
रामजीका पुर्खा कास्की लामाचौरका रहेछन्। बाले पुख्र्यौली थलो छोडेर गगनगौडा पुगे। रामजी उतै जन्मिए। हुर्किए। बा दिनभरि सारङ्गी भिरेर गीत गाई गाउँबस्ति डुल्थे। साँझ परेपछि झोलाभरि अन्नपात बोकी ल्याउँथे।
दिनभरि रेटेर खाँबोमा झुण्ड्याई राखेको सारङ्गी रामजी बाको आँखा छलेर के बजाउन मात्रै खोज्थे, बा भन्थे रे ! ‘तिमीहरु केटाकेटी नै छौँ। यो गरिखाने भाँडो बिगारेर के खाने ?’
बा ले भनेपछि मान्नै पर्याे। थपक्कै पहिलेजस्तो गरी राखेको थियो सारङ्गी त्यस्तै गरि खाँबोमा झुण्ड्याई दिन्थे। तैपनि रामजीलाई खट्की रहन्थ्यो, ‘मैले पनि सारङ्गी बजाउन पाए... !’
बाको उमेर ओरालो झर्दै आयो। रामजीका उकालो चढ्दै। लुकीचोरी बाको सारङ्गी रेटेर रामजी सारङ्गीमा पोख्त भइसकेका थिए। ‘यसरी यसरी गरेर सिकियो बाबु, सारङ्गी नै नभए केटाकेटीलाई के खुवाउँला भन्ने पीर हुने भयो बालाई पनि...’
‘अहिले तपाईंका छोराहरुलाई सारङ्गी बजाउन दिनुहुन्छ कि हुन्न ?’
‘किन नदिने ? ला बाबु, सिक्नुपर्छ ! बाबु बाजेको बिँडो थाम्न पर्छ भन्छु। अहिले छ–तारेको जमानमा काँ, चार–तारे बजाएर हुन्छ भन्छन्।’
‘छोराहरुलाई आउँदैन सारङ्गी बजाउन ?’
‘सिक्नै खोज्दैनन्। सिकाउन त खोज्छु !’
छोराहरुले परम्परा बिर्सिन थालेको देखेर खूबै पिरोलिन्छन्। यस्तै अवस्था हो भने अबको केही समयमै परम्परा लोप हुनेछ, उनले बुझेका छन्। अझैं पनि। नयाँ पुस्ताले सिक्दिए हुन्थ्यो भन्ने लाग्छ उनलाई।
(स्व.) झलकमान गन्धर्व, तपाईले सुनि रहेकै नाम हो। उनै झलकमान जसले नेपाली जन जनको जिब्रोमा झुण्डिएको ‘आमैले सोध्लिन् नि...’ बोलको गीत गाए।
हो, उनै झलकमान गन्धर्व रामजीका छिमेकी हजुरबुवा रहेछन्। रामजी आफैँ पनि कुनै समय काठमाडौंमा नामी कलाकारहरुसँगै काम गर्थे रे, दोहोरी साँझमा। बीचमा नराम्रोसँग थलिए। अनि घर फर्किए। केही गीति एल्बममा काम गरे पनि आशातित सफलता पाउन सकेनन्। तर, उनले परम्परा बिर्सेका छैनन्।
अहिले गीतहरु दिनहुँ जसो निस्किन्छन्। हरेक गीतमा लोकबाजा समेटिएकै हुन्छ। तर, कही नमिलेको जस्तो। सारङ्गी त बजायो नयाँपुस्ताले। तर, अनभिज्ञताले सारङ्गीको अस्तित्व नै मासिने पीर छ रामजीलाई।
अहिले पो छिनमै खबर दिने मोबाइल इण्टरनेट छ। पहिले–पहिले रामजी दाइहरु खबर लिएर पुग्थे। केही राम्रो, केही नराम्रो। तीतो, मिठो जे छ गाउँमा खबर पुर्याउँथे परदेशीको।
‘अहिले त गीतै गाउन भनेर गए पनि वास्ता हुन्न। बरु, काम गरेर खानु नि यसरी गाउँदै हिँड्नु भन्दा भनेर पनि भन्छन् कसैले।’ उनका दुःख कति थिए ?
अनुहार हेरेर मैले भेउ पाइनँ। मासिने लागेको परम्परा जोगाउदा पनि खोट पाउदा यस्तो बचन पाउदा रामजीलाई कति दुखेको होला।