उदयपुर सदरमुकाम गाईघाटका २४ वर्षीय युवक सन्तोष खत्री। नयाँ बानेश्वरमा बिहीबार फोहोर उठाउँदै गरेका उनी निकै व्यस्त थिए। उनी आफू फोहोरसँग खेलिरहेका थिए तर उद्देश्य अत्यन्त सफा थियो– राजधानी सफा गर्ने।
खत्रीलाई कुनै असहज महसुस छैन, बाटोको फोहोर उठाएकोमा। उनी यसलाई आफ्नो कर्तव्य सम्झन्छन्। विगत चार वर्षदेखि काठमाडौं महानगरपालिको फोहोर व्यवस्थापनमा सक्रिय हुँदै आएका एक कर्मठ कर्मचारी हुन् उनी।
करिब एक महिनादेखि राजधानीमा थुप्रिएको फोहोर एक सातामा उठाइसक्न उनी क्रियाशील छन्। आफूजस्तै यसरी फोहोर उठाउने उनको सहकर्मी कति छन् उनलाई थाहा छैन। उनलाई यत्ति थाहा छ– एउटा गाडीमा फोहोर उठाउन हिँड्ने आफ्नो एउटा टीम छ, त्यसले एकसाथ मिलेर काम गर्छ।
खत्रीको दैनिकी फोहोर उठाएर सुरु हुन्छ, अनि साँझको ट्रिप फोहोर खन्याएपछि उनको विश्राम हुन्छ। फोहोर उठाउन राजधानीका विभिन्न ठाउँहरुमा पुुग्नु उनको नित्यकर्म हो। तर कहिलेकाहीँ चाहिँ उनलाई दिक्क लाग्छ– अव्यवस्थित तरिकाले मिल्काइएका फोहोर, जथाभावी राखिएका सिसा तथा काँचका टुुक्राहरु। उनलाई निकै समस्या हुन्छ त्यो उठाउन । जता गए समस्या उस्तै हुुन्छ। कतैको पनि समाज सुध्रिएकै छैन।
सन्तोष आफ्नो कामप्रति खुशी छन्। उनी भित्रैदेखि प्रेरित छन्– काम सानो–ठूलो भन्ने हुँदैन। अनि आफ्नो कर्तव्य पथमा अघि बढेका छन्। भन्छन्, ‘एक सातामा सबै फोहोर उठाइसक्ने भन्नुभएको छ। हाम्रो जस्तो धेरै वटा गाडी शहरभरि फोहोर उठाउन गएको छ। अलि गाह्रो छ अहिले।’
उनलाई साथ दिइरहेका छन्– काभ्रेका पाल्देन लामाले। पाल्देन २३ वर्ष भए। तन्नेरीवयमा पनि उनलाई फोहोरसँग खेल्नुपरेकोमा बेखुशी लागेको छैन। उनी पनि कर्तव्यपथमा निरन्तर छन्।
तीन वर्षभन्दा लामो समयदेखि काठमाडाैं उनी शहर सफाइमा सक्रिय छन्। उनी पनिमहानगरपालिकाको फोहोर व्यवस्थापनका कर्मचारी हुन्।
पाल्देनलाई आफ्नो कामप्रति खासै गुनासो छैन तर नेपाली समाजको अव्यवस्थित शैलीप्रति भने गुनासो छ। बिएल नेपाली सेवासँग उनले भने, ‘सडकमा जथाभावी फालेका फोहोर सङ्कलन गर्न अप्ठ्यारो हुन्छ। घरको फोहोर उठाउनभन्दा सडकको फोहोर उठाउन झन् गाह्राे हुन्छ।’ नगरपालिकाले फोहोर उठाउनको लागि छुट्टै ठाउँको व्यवस्था गरे काम गर्न सजिलो हुने बताए।
सन्तोष र पाल्देन त केबल दुई प्रतिनिधिपात्र मात्र हुन्, जो आफू फोहोरसँग खेलेर भए पनि राजधानी सफा बनाउन क्रियाशील छन्। आफू दुगन्धित बन्न तयार छन् तर शहरको दुर्गन्ध हटाउन उनीहरु दिनभरि खट्छन्।
कोरोना भाइरसको महामारी हटेको छैन तर पनि काममा दत्तचित्त छन्। उनीहरुलाई आफ्नो स्वास्थ्यप्रति माया नहुने त कुनै भएन, काम प्रति भने कुनै माया छ। ‘अरु काम गरु भने हातमा कुनै शिप छैन,काम कुनै सानो ठुलो हुदैन त्यसैले म मेरो काम प्रति खुसी’, उनले भने।
काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा उनीहरु जस्तै दैनिक तीन हजार दुई सय श्रमिक काम गरिरहेका छन्। सबैको दुःख उनीहरुको जस्तै छ। दैनिक १३० वटा कण्टेनरहरु फोहोर बोकेर सिसडोलस्थित डम्पिङसाइट पुग्ने गरेका छन्। जुन स्थानीयको विरोध पछि रोकिएका थिए। राजधानीको फोहोर सडक र घरमै थुप्रिएको छ।
पाल्देनले भने, ‘काठमाडौंमा घर भएका र डेरा बस्ने सबैले हाम्रो समस्या बुझिदेओस्। कुहिने फोहोर र नकुुहिने फोहोर छुट्टै राखिदिए जाति हुन्थ्यो। सडकमा नफाली घरमै जम्मा गरेर राखिदिएमा दुर्गन्ध र रोग फैलने थिएन। फोहोर उठाउन सजिलो हुन्थ्यो। सिसाका टुुक्रा र किलाकाँटी जथाभावी फोहोरमा नहालिदिए हुन्थ्यो भन्ने लाग्छ।’