राष्ट्रिय अभिलेखालयमा सात ताल्चा मारेर राखेको कलाकृति त यूरोपको सयल गर्न पुग्छन् भने बाटोमा अलपत्र परेर रहेका मूर्तिको रक्षा कसले गर्न जिम्मेवारी लिन सक्छ?
अखिल भरतखण्डको मूर्तिकलाको इतिहासमा नेपालका मूर्तिको भिन्नै वैशिष्ट्य छ। उदाहरणका लागि, राजा मानदेव (निश्चित राज्यकाल विसं ५२१-५६३)ले आफ्नी आमा राज्यवतीको पुण्यका लागि वर्तमान लाजिम्पाट धोबीचौरमा र पशुपति तिलगंगामा एकै दिन स्थापना गरेका वामनावतारका मूर्ति (चित्र नं. १, २) भारतमा पाइएको सबभन्दा पुरानो वामनावतारको मूर्ति (चित्र नं ३)भन्दा एक सय दश वर्ष अगाडिका हुन्।
खुलाएर भन्दा, मानदेवले स्थापना गरेका वामनावतारका ती मूर्ति विसं ५२५ का हुन् त भारतमा पाइएको वामनावतारको सबभन्दा पुरानो मूर्ति चाहिं कर्णाटक राज्यको बादामी भन्ने ठाउँमा विसं ६३५ मा स्थापना गरिएको हो।
प्राचीन कालमा भरतखण्डमा आआफ्नो श्रद्धा र विश्वास अनुसार एउटै घरका मानिसहरू पनि भिन्नाभिन्नै देवताको उपासना गर्थे भन्ने कुरा सातौं शताब्दीका उत्तर भारतका राजा प्रभाकरवर्धन सौर अर्थात् सूर्यका भक्त, उनका जेठा छोरा राज्यवर्धन बौद्ध र कान्छा छोरा हर्षवर्धन माहेश्वर अर्थात् शिवका उपासक भएकोबाट बुझिन्छ।
नेपालमा पनि छैटौं शताब्दीमा मानदेवले चाँगुनारायणको भक्ति गरी गरुडस्तम्भ नै राखेको र वामनमूर्तिको स्थापना गरेकाले उनको झुकाव वैष्णव मतपट्टि भएको र उनका रानी गुणवती र क्षेमसुन्दरीले भने शिवलिंगको स्थापना गरेकाले वर्धनवंशको विषयमा माथि जे लेखियो, यहाँ पनि एउटै घरमा मानिस अनुसार फरक फरक सम्प्रदायप्रति भक्ति देखाउने गरिन्थ्यो भन्ने स्पष्ट हुन्छ।