अमेरिका: लुइजियानामा ‘विनाशकारी’ आँधी, सात लाखभन्दा बढी मानिस विद्युतबाट बञ्चित

Photo : BBC
Photo : BBC

अमेरिकाको लुइजियानामा हालसम्म आएको सर्वाधिक शक्तिशाली मध्येको एक समुद्री आँधीका कारण तटीय क्षेत्र डुबानमा परेको छ। डुबानपछि कम्तीमा सात लाख मानिसहरू विद्युत सेवाबाट बञ्चित बनेका स्थानीय प्रशासनले पुष्टि गरेको छ।

मौसमविद्हरूले आइडा नामक उक्त आँधी लुइजियानमा अवतरण गर्दा ‘क्याटेगोरी फोर’ को हुने पूर्वानुमान गरेका भएपनि सोमबार अलिकति कमजोर अर्थात् क्याटगरी थ्रीको आँधीमा रूपान्तरण भएको उल्लेख गरेका छन्।

तर उसले निरन्तर रूपमा दुई सय किलोमिटर प्रतिघण्टा वेगको आँधी निम्त्याइरहेको र बिस्तारै उत्तरतर्फ बढिरहेकाले यसको विनाशकारी क्षमता अझ बढी हुनसक्ने चेतावनी दिइएको छ।

दशौँ हजार व्यक्तिहरूलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ र त्यहीँ बसिरहेका व्यक्तिहरूलाई कैयौँ दिनसम्म मद्दत गर्न नसकिने सम्भावनातर्फ अधिकारीहरूले सचेत गराएका छन्।

न्यूअर्लियन्स नजिकै अस्पतालको छानाको हिस्सा आँधीले उडाएको भए पनि बिरामीहरूलाई चोट नलागेको बताइएको छ। लुइजियानाका गभर्नर जोन बेल एडवर्ड्सले महामारीका कारण थप क्षमता नभएकाले धेरै बिरामीहरूलाई अस्पतालहरूमा उद्धार नगरिएको जनाएका छन्।

कट्रिना आँधीले सन् २००५ मा एक हजार ८०० जनाको ज्यान लिएपछि त्यहाँ विपद्सँग जुझ्ने क्षमतालाई मजबुत बनाइएको थियो।

प्रकाशित मिति: : 2021-08-31 05:54:00

प्रतिकृया दिनुहोस्