सायद पूर्णिमाको दिन जस्तो लाग्छ, एकाबिहानै बाहिरबाट ढोका ढकढक गरेको आवाज आयो। हतारहतार ढोका उघारें, आफ्नै जेठाजु र जेठानी दिदी आएका रहेछन्। आश्चर्य नै भयो, सितिमिति मेरो घरमा जेठाजु र जेठानी
आउँदैनथे, आज त बिहानै दुवै जना आएका रहेछन् , के रहेछ त्यस्तो खास ?
मनमनै गम खाएँ एकैछिन। फेरि अर्को मनले भन्यो, यिनीहरू के विशेष कामको लागि आउँथे र ? केही नयाँ काम नपरी त आउने मान्छे पक्कै होइनन्।
होस्। मनलाई एकातिर अल्मलाएर आतिथ्यता दर्शाएँ, ओहो एकाबिहानै आउनुभएछ, दाजु दिदी भित्रै बसौं न।
दुवै जना भित्र पसे, सामुन्नेमा भएको सोफा देखाउँदै दुवै जनालाई बस्न भनें।
'तपाईंहरू बस्दै गर्नुस् म चिया पकाउँछु है।'
म भान्सातिर जान लाग्दै थिएँ, जेठानीले रोकिन्।
ए शिलु पर्दैन ... पर्दैन ... चियासिया त खाँदै गरौंला नि हामी त अर्कै कामले आएका हौं।