प्रकाशका दुई भेद छन्- उज्यालो र अँध्यारो । जब कोही उज्यालोमा उभिन्छ, उसलाई छर्लङ्ग देखिन्छ । दृश्यहरू स्पष्ट हुन्छन् । त्यहाँ सबैको दृष्टि पर्छ । तर, अँध्यारोमा ?
अँध्यारोमा त आफ्नै छायाँले पनि साथ छाड्छ ।
यो उनको अँध्यारो दिनहरूको कथा हो, जतिबेला उनलाई कसैले देख्दैनथे, चिन्दैनथे । जिन्दगानीमा अभावको क्षेत्रफल ठूलो थियो । दुःखको घनत्व बढी थियो ।
हो, यो उनको भोकको कथा हो । संघर्षको कथा हो । अनि कथा हो, आकांक्षा, अठोट, दृढता र लगावको ।
कथाकी पात्र हुन्, दीपाश्री निरौला ।
त्यो पुरानो स्टोभ, कराही र काठमाडौंको डेरा
टेलिचलचित्र, रेडियो नाटकबाट थोरबहुत पैसा आउन थालेपछि म काठमाडौंमा एउटा कोठा भाडामा लिएर बस्न थालें । त्यो साँघुरो कोठा थियो । एकै ठाउँ पकाउने, सुत्ने सबै ।
केशव भट्टराई र भाउजू रेनु दिदी डेरा नजिकैको घरमा भाडामा बस्थे । दिदीले भनिन्, ‘दीपा तिमीले कोठा लियौं । अब यसो गर तिमीलाई स्टोभ, कराही र थाल-बटुका म दिन्छु । केही गाह्रो भयो भने मलाई भन्नु ।’
त्यसबेला स्टोभकै चलन थियो । मट्टीतेल लगाएर स्टोभमा खाना पकाउनुपथ्र्यो । सुत्ने पलङ, केही लुगाफाटो र त्यही भाडावर्तन बाहेक मसँग केही थिएन । टेलिचलचित्रमा खेल्थें । तर, आफ्नो अभिनय हेर्नका लागि मसँग टेलिभिजन पनि थिएन ।
टेलिभिजन हेर्नका लागि घरबेटीको कोठामा पुग्नुपर्ने । ‘म पनि हेर्छु न है’ भन्दै जान्थें र टुसुक्कै मुडामा बसेर टिभी हेरिन्थ्यो । एकदमै असजिलो लाग्थ्यो । उहाँहरूलाई डिस्टर्ब हुने पो हो कि ?
लुसुक्कै गयो, टुसक्क बसेर हेर्यो । विज्ञापन आउँदा पनि छटपटी हुने । सरासर सिरियल मात्र आउनु नि जस्तो हुन्थ्यो ।
त्यो समयमा मोबाइल नहुने । सम्पर्कका लागि घरबेटीकै ल्यान्डलाइन फोन नम्बर दिइन्थ्यो । कसैले सम्पर्क गर्नु परेमा त्यहीं फोन आउँथ्यो । जब फोनको घण्टी बज्थ्यो, म बेचैन हुन्थें । कतै मेरो नै फोन आएको हो कि ? कसैले मलाई सिनेमामा अफर गर्न पो सम्झिएको थियो कि ?