उपहार

नागरिक दैनिक

सूर्यप्रसाद लाकोजू

वसन्त यामको उत्तरार्ध। न गर्मी न जाडो। साँझ छिप्पिँदै थियो। सबैजना भान्छाकोठामा ओर्लियौं।आमा कामधन्दामा व्यस्त हुनुहुन्थ्यो। वातावरण सुनसान बन्दै थियो। यदाकदा हावा चल्दा मन्दिरका ससाना घण्टी बजेको आवाज सुनिन्थ्यो। भुइँतलाको दुईकोठे सानो घर थियो हाम्रो। एउटामा भान्सा, अर्काेमा परिवारका चारजना सुत्थ्यौं लाइनै। दुईचार दिनयता बुबाको अनुहारमा मलिनता छाएको आभास हुन्थ्यो।

खाना खाइवरी सुत्ने तर्खरमा थियौं। ‘भोलि बिहान छिट्टै उठ्नु छ राजु सुत। भाइलाई पनि छिटो उठाउनू अनि आफू पनि पढ्नू भाइलाई पनि पढाउनू,’ आमाले भन्नुभयो, ‘के गर्नु बाबु, गरिबको कोखमा जन्मियौ। घरको काम पनि सघाउनुपर्छ। हामी बिहानै खेतमा जानुपर्छ।’

उहाँको कुरामा चित्त बुझेन। भनें, ‘ह्या आामा पनि, के गरिबगरिब भनिराख्या भन्या?’ कुरा टुंग्याउन बुबाले भन्नुभयो, ‘लल सुत अब।’

म अलि बुझ्ने भइसकेको थिएँ। आमाबुबाको दुःख नजिकबाट देखेको थिएँ। ठूलो भएपछि कमाएर आमाबुबालाई सुखसँग राख्ने चाहना सगरमाथा भएर उभिन्थ्यो। सानै भएकाले केवल सपना मात्र देख्ने सामर्थ्य  थियो ममा। विपना तुल्याउने बेला आइसकेको थिएन।

प्रकाशित मिति: : 2021-08-28 10:23:00

प्रतिकृया दिनुहोस्