विश्वासको मत लिनुपर्ने बाध्यता छल्न हतार–हतार भीम आचार्य मुख्यमन्त्री, प्रदेश १ मा माधव नेपाल पक्षमा चार जना खुले 

तेजन खड्का

विराटनगर

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले फुटाएपछि त्यसको प्रभाव प्रदेशसभामा देखिनुअघि नै एमालेले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हटाएर भीम आचार्यलाई बनाएको छ।

प्रदेशसभाका तीन जना नेकपा (एकीकृत समाजवादी) तर्फ खुलेको र यो संख्या छ पुग्ने संभावना भएकाले हतार–हतार मुख्यमन्त्री बदलेको हो। प्रदेशसभामा विश्वासको मत लिनुपर्ने बाध्यताबाट बच्न एमालेले हतार–हतार मुख्यमन्त्री बदलेको हो।

एमाले स्रोतका अनुसार, प्रदेशसभा सदस्यहरु राजेन्द्र राई, गणेश काङमाङ, राजन राई र खिनुलङ्वा लिम्बू नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा लागेका छन्।

ताप्लेजुङबाट प्रदेशसभा सदस्य बलबहादुर साम्सुहाङले बुधबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट गएर भेट गरेकाले उनी नयाँ पार्टीमा लाग्ने छैनन्।

एकीकृत समाजवादीमा अरु तीन जना प्रदेशसभा सदस्य पनि थपिनसक्ने एमाले स्रोतले जनाएको छ। प्रदेश १ को प्रदेशसभा ९३ सदस्यीय छ। एक जना टंक आम्बुहाङलाई माओवादीले हटाएपछि हाल ९२ जना कायम छन्।

माधव नेपाल पक्षका प्रदेशसभा सदस्य गुलेफुन मिया फौजदारी अभियोगपछि फरार छन्। नेपाल समूहले अफ्नो पक्षमा ८ जनासम्म पुग्न सक्ने दाबी गरेको छ।

माधव नेपालले पार्टी फुटाएपछि अब एमालेबाट बुधबार मात्र नेकपा (एकीकृत समाजवादी) नामको बेग्लै पार्टी गठन भइसकेको छ। एमालेभित्रको विवादमा लामो समय माधव नेपाल खेमामा लागेका आचार्य विवाद समाधान कार्यदलले तयार पारेको आचार्य १० बुँदे सहमतिको प्रस्ताव कार्यान्वयन गर्ने सहमतिसँगै नेपाललाई छाडेका थिए।

साढे तीन वर्षअघि एमाले संसदीय दलमा चुनाव हुँदा अध्यक्ष केपी ओली खेमाका शेरधन राईसँग दुई मतले संसदीय दलको नेतामा पराजित भएका थिए। उनी एमालेका केन्द्रीय सचिव हुन्।

प्रकाशित मिति: : 2021-08-26 13:24:00

प्रतिकृया दिनुहोस्