युट्युब ट्रेन्डिङ र भ्यूज नै लोकप्रियताको मानक हो ?

अनलाइनखबर

सुशील नेपाल

कुन गीत सर्वप्रिय ? कुन गीत कर्णप्रिय ? कुन गीत मर्मस्पर्शी ? कुन गीत श्रेष्ठ ? यसलाई नाप्ने सर्वमान्य इकाइ छैन । सामान्यत जुन गीतको भाका, शब्द-शिल्प, धुन संयोजनले श्रोताको हृदय स्पर्श गर्छ, त्यही गीत राम्रो हो ।

तर, कस्तो तराजुले यसको नापतौल गर्ने ?

वर्तमान परिदृश्यलाई हेर्ने हो भने भिडियो शेयरिङ प्लेटर्फम युट्युब नै त्यस्तो आधारशीला हो, जसले गीत-भिडियोको गुण मापन गर्छ । युट्युबमा गीतको भिडियो कति पटक हेरियो भन्ने अंकको आधारमा यसको सफलता/विफलताको लेखाजोखा गर्न थालिएको छ । युट्युबको ट्रेन्डिङलाई गीत/भिडियो लोकपि्रयताको मानक बनाइएको छ ।

केही दिनअगाडि प्रकाश सपूतको नयाँ गीत ‘कुरा बुझ्न पर्च’ निर्माण टिमले केक काटेर सफलताको खुसी साट्यो । गीतले ६ दिनमा ४७ लाख भ्यूज पाएपछि निर्माण टिमले खुसी साटेको थियो । प्रकाशसँगै मोडलद्धय स्वस्तिमा खड्का र आँचल शर्मा, गायिकाद्धय शान्तीश्री परियार र समीक्षा अधिकारी लगायतका कलाकारहरु कार्यक्रममा सहभागी थिए । यस गीतले १५ दिनमा १ करोड भ्यूज पाईसकेको छ ।

‘सम्झिनी पानी छम्किनी’बोलको गीतले आइतबार मात्रै आफूआफूमा सेलिव्रेशन कार्यक्रमको आयोजना गरेको थियो । यस गीतले सार्वजनिक भएको ११ दिनमै युट्युबमा १ करोड भ्यूज पाएको थियो ।

सम्राट चौलागाईको शब्द, संगीत रहेको गीतमा सम्राटसँगै रचना रिमाल, स्मीता दाहाल, ममता गुरुङको स्वर छ । विक्रम स्वाँरको निर्देशनमा बनेको भिडियोमा भुवन केसी, दीपाश्री निरौला, आकाश श्रेष्ठ, स्वस्तिमा खड्का, गीता ढुंगाना, सम्राट चौलागाइँ लगायतको अभिनय छ । आईतबार आयोजित सेलिब्रेसन कार्यक्रममा भुवन केसी, दीपाश्री निरौला लगायतका कलाकाहरु उपस्थित थिए ।

प्रकाशित मिति: : 2021-08-25 10:53:00

प्रतिकृया दिनुहोस्