माधव नेपालको प्रतीक्षा, महन्थ ठाकुरलाई बेवास्ता!

नेपाल खबर

केशव सावद

माधवकुमार नेपालसँग सत्ता सहकार्यका लागि कुरेर बसेको गठबन्धन सरकारले आफैँलाई विश्वासको मत दिएको महन्थ ठाकुरलाई भने बेवास्ता गरिरहेको छ।  

प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीलाई कुरेर सरकारले मन्त्रिपरिषद् विस्तारमै ढिलाइ गरिरहेको छ। तर, संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग सत्ता साझेदारीका लागि छलफल समेत सुरु गरेको छैन।

सत्ता साझेदारीका बारेमा महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोसपासँग कुनै छलफल नभएको प्रधानमन्त्री शेरबहादुर देउवानिकट स्रोतले पुष्टि गरेको छ। 

‘माधव नेपालजीको दल औपचारिक दर्ता कुरेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको हो,’ स्रोतले भने, ‘महन्थजीहरुसँग सत्ता सहकार्यका लागि अहिलेसम्म कुनै छलफल भएको छैन।’

लोसपाका नेताहरुले पनि सत्ता साझेदारीका बारेमा सरकारसँग र आन्तरिक रुपमा पनि कुनै छलफल नभएको दाबी गरेका छन्। नेता लक्ष्मणलाल कर्णले सरकारमा जाने/नजाने बारेमा कुनै छलफल नचलेको प्रतिक्रिया दिए।

प्रकाशित मिति: : 2021-08-23 11:26:00

प्रतिकृया दिनुहोस्