कर्णालीमा गाईजात्राबाट पाँच दिनसम्म चल्ने जात्रा याे वर्ष पनि नहुने

कर्णालीकाे जुम्लामा गाईजात्रापछि लामाे समयसम्म मनाइने ऐतिहासिक जात्रा याे वर्ष पनि नहुने भएकाे छ।

वि.सं १९५३ सालबाट लगातार मनाइदै आएकाे जात्रा विगत दुई वर्षदेखि काेराेनाका कारण प्रभावित भएकाे हाे। आइतबार (भदाै ७) गतेदेखि सुरु हुने जात्रामा मानिसहरूको भीडभाड हुने र कोरोना संक्रमण फैलिन सक्ने भएकोले जात्रा सञ्चालन नगरिने जिल्ला प्रसाशन कार्यालयले जनाएको छ।

साउन र भदौ महिनामा मुख्यतया जुम्लाको सदरमुकाम खलंगामा हुने जात्रा नेवार समुदायसँग जोडीएको पाइन्छ। जब कान्तिपुरी नगरी (हालको काठमाडौं)बाट नेवार समुदाय देशको विभिन्न स्थानहरुमा व्यापारिक स्थानान्तरको सिलसिलामा दैलेख हुँदै जुम्ला आएर स्थायी कर्मथलो बनाउँदादेखि नै उनीहरुले यो संस्कृति भित्र्याएको देखिन्छ।

जसका प्रवर्तकका रुपमा पूर्णसिंह श्रेष्ठ मल्लका छोरा कृष्णबिर श्रेष्ठ मल्ललाई मानिन्छ। तर, आजको परिवेशमा यो नेवार समुदायको मात्र नभएर समग्र जुम्लाबासीको संस्कार र संस्कृति बनिसकेको छ।

यो संस्कृति चन्दननाथ नगरपालिकाभित्र मात्र सिमित नभई जिल्लाका अन्य भाग, कर्णाली आसपासका जिल्लासँगै समग्र कर्णाली प्रदेशभित्र ठूलो जात्रा वा संस्कृतिको रुपमा विस्तार भएकाे छ।

विगत केही वर्षदेखि खस भाषाको उद्गम थलाे सिंजाको कनकासुन्दरीमा मनाइदै आएकाे जात्रा पनि यो वर्ष संचालन नहुने कनकासुन्दरी गाउँपालिकाले जनाएको छ।

श्रावण कृष्ण चतुर्दशीका दिन गठामंगल (गाँठेमंगल) को रुपमा घण्टाकर्ण नामक राक्षेशको पुत्ला थपना गरि सोहि दिन साँझ नदीमा सेलाई विदिवत् जात्राको सुरुवात गरिन्छ। सो दिनबाट जात्रा सुरुवात हुन्छ। त्यसै दिनदेखि हरेक साँझ लाखे नाच देखाउने गरिन्छ। यसले जात्रा चलिरहेको छ भन्ने संकेत दिन्छ।

गाउँ-गाउँबाट सदरमुकाम आउने नागरिकले यो सन्देश बोकेर गाउँगाउँ पुग्दछन् र भन्दछन्, 'यो वर्ष पनि जात्रा भव्य रुपमा मनाइँदैछ।' तर श्रावण कृष्ण चतुर्दशीका दिनबाट यी कुनैपनि गतिविधि नभएकाले जात्रा नहुने सन्देश गाउँगाउँ पुगिसकेको छ।

जनै पूर्णिमाको भोलिपल्टबाट जात्रापर्व व्यापक हुन्छ। त्यो दिनबाट जात्राले औपचारिक रुप लिन्छ। पहिलो दिन औपचारिक रुपमा गाईजात्रा मनाइन्छ। जसरी काठमाडौं उपत्यकामा गाईजात्रा मनाइन्छ, त्यसरी नै जुम्लामा पनि मनाइन्छ।

खासगरि बजार आसपासको घरमा त्यस वर्ष काेही मान्छे मरेको रहेछ भने त्यही घरबाट गाई निकाल्ने चलन छ।  गाईसँगै गाईका बाच्छाहरु नाचेर आम दर्शकलाई रमाइलो दिने गरिन्छ भने मान्छे मरेको घरका सदस्यहरुको शोक पनि कम हुने मान्यता रहेकाे छ।

यद्यपि, पछिल्लो समय गाईजात्रा देशको अव्यवस्थालाई प्रहार गर्ने व्यंग्यात्मक प्रतिबिम्बको रुपमा समेत चिनिएको छ।

दोस्रो दिन रोपाई जात्रा, तेस्रो दिन मिम वाद्साहा र पल्टन जात्रा, चौथो दिन बाघभालु मार्ने र खष जात्राले जुम्ली नागरिकलाई भरपुर मनोरञ्जन दिन्छ।

कृष्ण जन्माष्टमिको दिन कृष्ण जन्मेको दृश्य देखाइन्छ। कृष्ण जन्माष्टमिको भोलिपल्ट लाखे मारि कृष्णको विजय रथयात्रा कृष्ण मन्दिरबाट सुरु गरि चन्दननाथ, भैरवनाथ र दरबार मालिकाको मन्दिर परिक्रमा गरि सोहि कृष्ण मन्दिरमा आएर विधिवत् रुपमा जात्राको समापन गरिन्छ।

जात्राको अवधिभर जुम्ला जिल्लालगायत त्यसको आसपासका जाजरकोट, मुगु, कालिकोट र डोल्पा जिल्लाका लगभग बिस-तीसहजार नागरिकहरु लामोसमय कृषी पेशा र घरायसी कामकाजबाट थकान मेटाउन जात्राको माध्यमबाट भरपुर मनोरञ्जन लिने आउने गरे पनि काेराेनाकाे कारण पछिल्लाे एक वर्षदेखि सबै मनाेरञ्जनात्मक गतिविधि राेकिने भएका छन्।

जात्राले जिल्लाको सांस्कृतिक पर्यटनमा ठूलो प्रभाव पार्दै स्थानीय रोजगारी सृजनामा पनि टेवा पुर्‍याइरहेकाे छ। तथापि, यसबीचमा सरकारी टाेली बडिमालीका प्रस्थान गरिसकेकाे हुनाले बडिमालिकाे बढाई भने राेकिने छैन।

प्रकाशित मिति: : 2021-08-22 14:35:00

प्रतिकृया दिनुहोस्