रखिया बन्हाल, भइया सावन आइल...
रक्षाबन्धनको अवसरमा भोजपुरी भाषी क्षेत्रमा दिदीबहिनीहरुले गाउने गीत हो यो। साउनको शुक्लपक्ष पूर्णिमाको दिन रक्षाबन्धन पर्व मनाइन्छ।
हाम्रो प्यारो देश नेपालमा यसै दिन जनैपूर्णिमा, रक्षाबन्धन तथा नेवार समाजमा क्वाटी खाने, पर्व मनाउनुको साथै संस्कृत दिवस पनि परम्परा रहेको छ। विशेष गरेर दिदीबहिनीहरुले आफ्नो दाजुभाइहरुलाई आफ्नो इज्जत, मान, मर्यादा र सम्मानको रक्षा गर्ने कुराको सम्झना गराउने तथा भर पर्ने प्रतीकको रुपमा कच्चा सुत वा रेश्मी धागोको रक्षाशुत्र बाँध्ने चलन परापूर्व कालदेखि परम्पराको रुपमा चलिआएको देखिन्छ।
साउनको महिनामा विवहित वा कुमारी केटीहरुको मन प्राणमा यस अवसरको सुदीर्घ प्रतिक्षा रहेको हुन्छ। उनीहरुको मनमा सावन कहिले आउँला ? अझ पूर्णिमा कहिले आउँला ? भन्ने काैतूहलता उत्पन्न भएको हुन्छ।
तिनीहरुले औंलामा दिन गनेर समय बिताइरहेका हुन्छन्। हुन त हिन्दूहरुको तमाम व्रत त्योहार नागपञ्चमीदेखि नै सुरु भइसकेको हुन्छ। नाग पञ्चमीपछि साउन शुक्ल सप्तमी वा नवमीको दिन कुलदेवताको वार्षिक पूजन–अर्चन हुन्छ। साउन शुक्ल नवमी कै दिन ‘बेलपानी’ भन्ने पर्व आइमाई मान्छेहरुले मनाउने गर्दछन्।
यस पर्वको अवसरमा सर्वप्रथम ग्रामदेवी र कुलदेवीलाइ श्रृंगार सामग्री तथा मेहन्दी निश्चय नै अर्पण गर्ने गरिन्छ। तत्पश्चात विवाहित र कुमारी केटीमान्छेहरु चाहे ती छोरी वा बुहारी नै किन नहोउन् राति खाना खाएर हातमा मेहन्दी सजाएर लगाउने गर्दछन्।
यसदिन गाइ, भैंसी तथा बाख्राबाख्रीहरुलाइ पनि मेहन्दीको थोपो लगाइदिने चलन रहेको पाइन्छ। बेलपानी नामक पर्वको अवसरमा प्रायः पुरुषहरुको कान्छी औलोको टूप्पोमा आइमाइहरुले मेहन्दीको थोपो लगाइ दिने गरेको पाइन्छ। साउन शुक्ल एकादशीदेखि चतुर्दसीसम्म गाउँमा ग्राम देवताको भव्य पूजन अर्चनको धूमधाम हुन्छ तथा पूर्णिमाको दिन त लामो समयदेखि प्रतिक्षित महान प्रेमपर्व रक्षाबन्धनको मंगलमय सुअवसर आइपुग्दछ।
रक्षाबन्धनको दिन एकाबिहानै दिदीबहिनीहरुले नुहाइ-धुवाइ गरि पवित्र भइ थालमा आरती, मुख मिठ्याउनको लागि यथोपलब्ध मिठाइ तथा रक्षाशुत्र सजाएर दाइ वा भाइको प्रतिक्षामा निराहार बसिरहेका हुन्छन्। भोकोपेट नै रक्षाबन्धन गर्दा दाइभाइको सुख समृद्धि र ऐश्वर्यको वृद्धि हुन्छ भन्ने धार्मिक जनविश्वास रहेको पाइन्छ।
दाइभाइ पनि रक्षाबन्धन नहुँदासम्म निराहार नै बस्नु पर्दछ भन्ने बुढा पुरानियाहरुको भनाइरहेको पाइन्छ। दाइभाइहरुले नुहाइधुवाइ गरिसकेपछि दिदीबहिनीहरुले सर्वप्रथम दाइभाइहरुको निधारमा मंगलसूचक रातो टीका–अक्षता हाली दिएर रक्षा बन्धन गरि आरती देखाउँछन।
मुखमा मिठाइ ख्वाएर मुख मिठ्याउँछन्। दाइभाइहरुले आफ्नो गच्छेअनुसारको दान दक्षिणा सोहि थालमा राखिदिन्छन्। यसप्रकारले रक्षा बन्धनको सम्पूर्ण कृत्य पूर्ण हुन्छ। घरमा सो अवसर पारेर खानाका मिठामिठा परिकारहरु बनाइएका हुन्छन्। दाजु–भाइ, दिदी–बहिनी तथा नन्द–भाउजू एकै साथ बसेर आनन्द र उमंगका साथ विभिन्न खालका हाँस–ख्याल र ठट्टा गरेर ठूलो अपनत्वका साथ खाना खान्छन्।
यस अवसरमा विवाहित दिदीबहिनीहरु आफ्नो घरबाट माइती आएका हुन्छन् तथा आउन नभ्याउनेहरुको घरमा दाइभाइ आफै पुग्ने गरेका पाइन्छन्। जुन दिदीबहिनीहरुका आफनो दाइभाइ वा जुन दाइभाइका आफ्नो दिदीबहिनी हुँदैनन् तिनीहरु धर्मभाइ वा धर्मबहिनी बनाइ रक्षाबन्धन सम्पन्न गर्ने गर्दछन्। इतिहासमा त कैयन शत्रुहरुलाई शत्रुपक्ष कै दिदीबहिनीहरुले रक्षाबन्धन गरि दिएर शत्रुताको अन्त्य गरिदिएको उदाहरणहरु विद्यमान रहेका छन्।
यो परम्परा कहिलेदेखि चलेको हो भन्ने कुरा स्पष्ट नभए पनि धेरै पहिलादेखि रक्षाबन्धनको परम्परा चलिआएको देखिन्छ। श्रीमद्भागवद् पुराणको आठौ स्कन्धअनुसार यो परम्परा वामन भगवानको प्रतापी राजा बलीसित तीन पाइलो धरती मांगी उनलाई सुतललोकमा पठाउँदा मसित वर माग भनेर आदेश गर्दा बलिराजाले–‘भगवन् ! तपाइ मसित प्रसत्र हुनुहुन्छ भने सुतललोकमा म बस्ने दरबारको प्रत्येक ढोकामा म निस्कने बेलामा तपाइको दर्शन पाउ भने वरदान मागे।
वामन भगवानले–एवंमस्तु भनेर वरदान दिएपछि वामन रूपधारी भगवान विष्णु स्वयं पनि राजा बली कै संघारमा बस्न कैदी झैें कैद नै भए। यो देखेर लामो समयपछि भगवान विष्णुकी पत्नि महादेवी लक्ष्मीजी स्वयं सुतललोकमा गइ राजा बलीलाई धर्मदाज्यु बनाइ उनलाई नै सर्वप्रथम रक्षाशुत्र बाँधेर दक्षिणादानमा भगवान विष्णुलाई बलीराजाको वरदानबाट मुक्त गराएर फर्काएकी थिइन् र त्यसैबेलादेखि रक्षाबन्धनको परम्परा नियमित भएको हो भन्ने धार्मिक किंवदन्ति सर्वज्ञात छ।
पुराना दिनहरुमा यस अवसरमा कच्चा सुतको रक्षाबन्धन कुलका गुरु पुरोहितहरुले गरिदिन्थे। यस अवसरमा गुरु पुरोहितहरु यजमानको घरदैलो मै गएर–येन बद्धो बली राजा दानवेन्द्रो महाबलः। तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल।। भन्ने मन्त्र पढदै यजमानहरुको नाडीमा रक्षाशुत्र बाँधिदिने गर्दथे तथा यजमानहरुले तीनीहरुलाई यथेच्छ दान दक्षिणा तथा सामल दिएर पठाउँथे। पण्डितज्यूहरुले त्यस प्रकारले रक्षाबन्धन गरि दिदा–श्रीर्वर्चस्वमायुष्यमारोग्यमाविधाच्छोभमानं महीयते। धनं धान्यं पशुं बहुपुत्रलाभं शतसंवत्सरं दीर्घमायः।। अर्थात् जजमानको श्री, वर्चस्व, आयुष्य, आरोग्य, धन , धान , पशु, धेरै पुत्रहरु तथा सय वर्षको दीर्घ आयु प्राप्त हुन्थ्यो।
हिन्दू धर्ममा खासगरि भोजपुरी भाषी क्षेत्रहरुमा वर्तमान समयमा व्रत त्योहारहरुमा पूजा अर्चन र सांस्कृतिक परम्पराहरुको सादगीपूर्ण निर्वहनको साटो आडम्बर तथा वैभव प्रदर्शन जस्ता तामसिक प्रवृति बढदो छ। यस्ता अवसरहरुमा बजारको चहलपहल बढ्दो छ, विभिन्न खाले स्वास्थ्यकर अस्वास्थ्यकर सजिएका खुल्ला मिठाइहरु, किसिम-किसिमका र डिजाइनका भड्किला रक्षाशुत्रहरु, विभिन्न फैसनमा सजिएका आइमाइहरुको ओहर-दोहर, व्यापारीहरुको अवसरबाट नाजायज लाभ लिएर मौकाको फाइदा लिने प्रवृति हेरेर त यहि कुराको पुष्टि हुन्छ।
जे होस् परम्परागत रीतिथितिहरुको रुप र· समयानुसार बदलिदै जानुलाई आश्चर्यको रुपमा लिएर चित्त दुखाउनु आवश्यक पर्ने समय र स्थिति छैन। रक्षाबन्धनको पावन अवसरमा प्रत्येक दिदीबहिनी तथा दाज्यूभाइहरुको शुभ होस्, मंगल होस्।
स्मरण रहोस–कोरोना कहर अलि मत्थर भए पनि, निर्मूल भने अझै भएको छैन।