चित्रकलामा आकर्षण बढ्दाे

एउटा हातको चिम्टाले घोच्दै  र अर्को हातको ढुङ्रो फुकिरहेका  किशोरले कोइला बालिरहेका  छन्।

उनकै अगाडि करिब ५५ वर्षका पुरुष सुनको गहना बनाउन व्यस्त छन्। काम गरिरहेको कोठाको  कतै परम्परागत शैलीका सुनचाँदीका गहना त कतै जिल्लाका रमणीयस्थलका चित्र प्रशस्तै छन्। हातैले कोरिएका निकै आकर्षक ती चित्रले जो कोहीको पनि मन लोभ्याउँछ।

ती तानसेन–१, गैरागाउँका राजकुमार खड्का अहिले सुनचाँदीको काम छाडेर चित्र कोर्न व्यस्त छन्। सुनचाँदी प्रशस्त आम्दानी हुने व्यवसाय भएकाले यहाँका व्यावसायीलाई अन्य पेशामा रुचि हुँदैन  तर उनी भने चित्रकलामै बढी सक्रिय छन्।

वैदेशिक रोजगारीबाट फर्केपछि खड्काले विसं २०७२ देखि उक्त व्यवसाय गरे पनि चित्रकलामा पनि उत्तिकै  चासो भएकाले फुर्सदमा  चित्र कोर्थे। रङ्गको प्रयोग गरिएका  चित्रकलाले उत्साही त बनायो फेरी सामाजिक सञ्जालमा राखेपछि आफूलाई काम गर्न थप हौसला मिलेकोे उनको भनाइ छ।

अहिले पाल्पाको पर्यटन क्षेत्रको विकासका निम्ति रानमीहल, अमरनारायण र तानसेनको पुरानो तथा नयाँ शहरको चित्र कोरिसकेका खडकाले यसबाट जिल्लाका पर्यटन क्षेत्रको थप प्रचार हुने अपेक्षा गरेका छन्।

उनी भन्छन्, “जातीय व्यवस्था अन्त्यका लागि सचेत गराउने चित्र बनाउने रुचि छ। शान्तिका प्रतिक गौतम बुद्ध, सामाजिक रुपान्तरणका अभियानकर्मी, साधु र वृद्ध महिला तथा पुरुषको चित्र पनि  विशेष रुचिका साथ कोरिरहेको छु।”

चित्रले प्राय विचार पनि बोकेको हुन्छ। प्रत्येक चित्रका अर्थ फरकफरक हुन्छन्। पहिला प्राकृतिक चित्र धेरै कोरिएकामा अहिले त्यसमा केही नयाँपन थपिएको छ। चित्रलाई थप आकर्षक बनाउन कल्पनिक चित्रसमेत कोरिने चलन बढ्दो छ।

यहाँ बसेर चित्र कोर्न त्यति सजिलो छैन। यसका लागि रङ्ग, बुरुस, कागज र कपडा चाहिन्छ  तर यहाँ ती सामान नपाइने भएकाले  बुटवलबाट ल्याउन महँगो पर्छ। काठमाडौँबाट ल्याउन अलि सस्तो पर्छ। युरोप र चीनबाट ल्याएका सामान गुणस्तरीय हुनाका साथै कोरिएको चित्रको मूल्य पनि उच्च हुने खडकाको भनाइ छ।

प्रकाशित मिति: : 2021-08-21 16:17:00

प्रतिकृया दिनुहोस्