गाईजात्रा : मृत्यु शोकको अनौठो उत्सव

अनलाइनखबर

काठमाडौँ

संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठले दिवंगत पिताको सम्झनामा गाईजात्राको दिन २०५२ सालमा साँच्चिकै गाईलाई नगर परिक्रमा गराए। काठमाडौं उपत्यकामा मनाइने गाईजात्रामा गाईकै प्रयोग गर्ने चलन हराउँदै गएकाले संस्कृतिको मौलिकता कायम राख्न दुवाकोटबाट गाई ल्याएर यात्रा सम्पन्न गरेको श्रेष्ठ बताउँछन्।

उनका अनुसार, पहिले र अहिलेको गाईजात्रा परम्परामा धेरै फरक आइसकेको छ। अहिले बालक वा बाँसका संरचनालाई गाईको प्रतीक मानेर गाईजात्रा मनाउने चलन बढेको श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘पछिल्लो तीन दशकमा गाईजात्राको धेरै संस्कार बदलिएको देखिन्छ।’

उनका अनुसार, अहिले त गाईजात्रालाई दिवंगत आफन्तको नाममा गाईजस्तो आकृति बनाएर नगर परिक्रमा गराउने पर्व भनेर बुझ्न थालिएको छ। ‘तर, गाईजात्रा यति मात्र त हुँदै होइन’, श्रेष्ठ भन्छन्।

६०० वर्ष पुरानो जात्रा

संस्कृतिविद्हरू गाईजात्रालाई शोक र उल्लासको संगम मान्छन्। यो पर्वलाई नेवारी भाषामा ‘सारुपा’ भनिन्छ। यसको प्रचलनकर्ता राजा प्रताप मल्ल हुन् भनिन्छ। उनले छोरो मरेर शोकमा परेकी रानीलाई सान्त्वना दिन नगरमा एक वर्षभित्र आफन्त मरेका परिवारलाई दरबारमा जात्रा ल्याउन निर्देशन दिएको अभिलेखहरू पाइएका छन्।

प्रकाशित मिति: : 2021-08-21 11:19:00

प्रतिकृया दिनुहोस्