मोरङको कानेपोखरी–७ का २८ वर्षीय दिनेश जातले किराती समुदायका हुन्। राई समुदायमा जन्मिए पनि उनलाई व्यवसाय गर्न न जातले रोकेको छ, न समाजले छेकेको छ। हातमा सीप र मनमा आँट भए जुनसुकै जात वा समुदायका मानिसले इच्छाएको पेशाबाट जीविकोपार्जन गर्न सक्छन भन्ने उदाहरण बनेका छन्, दिनेश राई।
कुनै समय नेपालमा भारतीय मुलका ठाकुरहरुको एक छत्र राज थियो, कपाल काट्ने शैलुन व्यवसायमा। चना चटपटे र पानीपुरी बनाउने, कपडा सिउने मात्र होइन, फलफुल व्यापार, मिठाई पसल र कृषि मजदुरमा पनि भारतीयकै भरपर्नु पर्थ्यो। भारतबाट रोजगारका लागि आएका उनीहरूले वार्षिक करोडौं रुपैयाँ नेपालबाट लाने गर्थे। तर, अहिले समय बदलिएको छ।
चनाचटपटे र सिलाईमा मात्र होइन, पहाडे समुदायका युवाहरु पनि शैलुन पेशाप्रति आकर्षित हुन थालेका छन्। दिनेश भन्छन्– ‘पैसा आफ्नै देशमा रहेछ।’ दुख गरेर कमाएको पैसा खर्चेर ५ वर्ष वैदेशिक रोजगारका लागि कतार बसेका दिनेश अहिले स्वदेशकै कमाईसँग सन्तुष्ठ छन्।
दिनेशले गत वर्षको साउनमा कानेपोखरी– ७ को आइतबारे बजारमा सैलुन व्यवसाय थालेका हुन्। त्यसयता राईले एकदिन पनि खाली बस्नु परेको छैन। मधेसी समुदायका थुप्रै ठाकुरहरुले आइतबारे बजारमा आएर सैलुन चलाए। झण्डै ५५ वर्ष पुरानो आइतबारे बजारमा कसैले पनि व्यवसाय टिकाउन सकेका थिएनन्।
काठमाडौंमा ६ महिना सौन्दर्य (ब्युटिसियन) तालिम सिकेपछि उनी सैलुन व्यवसायमा छिरेका हुन्। स्थानीय जनकल्याण माविबाट एसएलसी उत्तीर्ण भएपछि उनले २ वर्ष उच्च मावि तहको अध्ययन गरे।
आफ्नो पढाईप्रति आफैँ असन्तुष्ट भएपछि उनी पैसा कमाउने सपना बोकेर कतार भासिए। तर, ५ वर्षको कतार बसाईले पनि उनको सपना पुरा भएन। उनी भन्छन्, ‘मेरो दाजु पनि यही पेशामा हुनुहुन्थ्यो। त्यसैले दाजुको व्यवसायिक सफलताका पछि लागें।’ औषत मानिसलाई बन्दाबन्दीले गरिखान दिएन। दिनेश त्यस्ता व्यवसायी हुन्, जसलाई बन्दाबन्दीले कैंची र काँइयो चलाउन निपूर्ण बनायो।
उनले भने, ‘बन्दाबन्दीको समयमा धेरै जना साथीभाइको कपाल निशुल्क काट्ने अवसर पाएँ। काठमाडौंमा सीप सिक्दाको सबैभन्दा ठूलो समस्या नै काइयो र कैंची कसको टाउकोमा चलाउन पाइन्छ भन्ने थियो। गाउँ आएपछि त्यो समस्या हल भयो। जसले गर्दा व्यवसायिक बन्न अझ बढी प्रेरणा मिल्यो।’
अहिले दिनेशको हात राम्रो गरी काममा बसेको छ। यतिबेला दिनेशलाई मासिक ३०/३२ हजार रुपैयाँ कमाउन कुनै लडाई जित्नु पर्दैन। राईले भने, ‘हातमा सीप र मनमा आँट भएपछि पैसा कमाउन, न त धेरै पढ्नु पर्दो रहेछ, न विदेश नै जानु पर्दो रहेछ।’
मासिक दुई हजार रुपैयाँ घर भाडा तिर्दै आएका राईले सैलुनलाई निक्कै व्यवस्थित गरेका छन्। ६० हजार रुपैंयाँ लगानी गरेर व्यवसाय थालेका राई सिक्न चाहने साथीहरूलाई पनि सीप प्रदान गरिरहेका छन्।