अफगानिस्तानमा कार्यरत १४ सय नेपाली सरकारको जानकारीमा, साढे १२ हजार बढी नेपालीबारे परराष्ट्र मन्त्रालय बेखबर

काबुल छिरेका तालिबान लडाकू। Photo - algulf.net
काबुल छिरेका तालिबान लडाकू। Photo - algulf.net

अफगानिस्तानका प्रमुख शहरहरु कब्जा गर्दै राजधानी काबुलमाथि समेत तालिबान विद्रोहीहरुले हमला गर्न थालेपछि त्यहाँ कार्यरत करिब १४ हजार नेपाली जोखिममा परेका छन् तर परराष्ट्र सचिव भरतराज पौडेलले भने त्यहाँ औपचारिक रुपमा गएका १४०० नेपालीबाहेक अरुबारे सरकारलाई जानकारी नभएको जवाफ दिएका छन्।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सचिव पौडेलले यस्तो बताएका हुन्। उनले अनौपचारिक रुपमा अफगानिस्तानमा काम गर्ने हजारौँ नेपालीबारे सरकारलाई जानकारी नभएको र यसबारे यथार्थ बुझ्ने प्रयास गरिरहेको उनले बताए।

पौडेलले औपचारिक रुपमा गएका १४०० नेपाली राजधानी काबुलमै कार्यरत रहेको र सुरक्षित अवस्थामा रहेको जानकारी दिए। ‘काबुलबाहिर एकै जना नेपाली पनि छैनन्,’ परराष्ट्र सचिव पौडेलले भने। उनले औपचारिक रुपमा रहेका अधिकांश नेपाली अन्तर्राष्ट्रिय नियोग तथा संस्थाहरुमा कार्यरत रहेको जानकारी दिए। करिब १४ हजार नेपाली अफगानिस्तानका विभिन्न स्थानमा काम गरिरहेको अनुमान छ।

सचिव पौडेलले परराष्ट्र मन्त्रालय र अफगानिस्तान पनि हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले अफगानिस्तानमा रहेका नेपालीलाई अनलाइनमार्फत् दर्ता हुन आग्रह गरेको पनि जानकारी दिए।



अफगानिस्तान: जलालावादलाई कब्जापछि चारैतिरबाट काबुल पसे तालिबान लडाकू

अफगानिस्तानमा कार्यरत १४ हजारभन्दा बढी नेपालीलाई तत्काल उद्दार गर्न सरकारलाई दबाब 

प्रकाशित मिति: : 2021-08-15 15:54:00

प्रतिकृया दिनुहोस्