अफगानिस्तानमा कार्यरत १४ हजारभन्दा बढी नेपालीलाई तत्काल उद्दार गर्न सरकारलाई दबाब 

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारसँग माग गरेका छन्। उनले सरकारलाई आलटाल र बहानाबाजी नगर्न समेत चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले भनेका छन्, 'अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल/बहानाबाजी गर्नुभएन।'

डा. भट्टराईले भनेका छन्, 'पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुँदैनथ्यो। गइसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस् !' भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारका सत्ता साझेदार दलमध्ये एक घटकका नेता हुन्।

एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले पनि अफगानिस्तानबाट नेपाली फर्काउन सरकारले कुनै पनि पहल नगरेको भन्दै विरोध जनाएका छन्। यसअघिको केपी शर्मा ओली प्रधानमन्त्री छँदा कूटनीनिक सल्लाहकार रहेका भट्टराईले ट्वीट गरेका छन्, 'संसदमा विपक्षीका तर्फबाट बिषय उठाइएको पनि धेरै दिन भइसक्यो। अन्य मुलुकहरूले आ-आफ्ना नागरिक फर्काउन थालिसके। तर पनि सरकार अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन कुनै पहल गरिराखेको छैन। लोकतन्त्रमा सरकार यति गैरजिम्मेदार र अनुत्तरदायी हुन मिल्छ ? कि परमादेशबाट आएकालाई मिल्छ ?'

प्रकाशित मिति: : 2021-08-15 14:26:00

प्रतिकृया दिनुहोस्