भारतको महाराष्ट्रमा कोरोनाको ‘डेल्टा प्लस भेरियन्ट’ बाट तीन जनाको मृत्यु

भारतको महाराष्ट्र राज्यमा कोरोनाभाइरसको ‘डेल्टा प्लस भेरियन्ट’बाट तीन जनाको मृत्यु भएको छ। एवाई–१ नामले चिनिने नयाँ भेरियन्टले रायगढ, मुम्बई र रत्नागिरी जिल्लाका तीन जनाको मृत्यु भएपछि भारतभर थप त्राश पैदा गरेको हो।

‘डेल्टा प्लस भेरियन्ट’बाट रायगढकी एक ६९ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयकी कलेक्टर निधि चौधरीले पुष्टि गरिन्। यसअघि भारतको आर्थिक राजधानी मुम्बईमा नयाँ भेरियन्टबाट अर्की एक ६३ वर्षीया महिलाको मृत्यु भएको थियो। तर उनले कोरोनाविरूद्धको दुबै डोज खोप लगाएकी थिइन्।

गत जुलाई–२१ मा कोरोना परीक्षण गर्दा पोजेटिभ देखाएपछि अस्पताल भर्ना भएकी उनको जुलाई–२७ मा मृत्यु भएको हो। ‘डेल्टा प्लस भेरियन्ट’बाट महाराष्ट्रमा तीन जनाको मृत्यु भएको पुष्टि भएपछि राज्यभर आतंक फैलिएको छ।

रत्नगिरी जिल्लामा पनि दुबै डोज खोप लगाएका पुरुषको नयाँ भेरियन्टबाटै मृत्यु भएको पुष्टि भइसकेको छ। महाराष्ट्रमा कुल ६० प्रतिशत ‘डेल्टा प्लस’का बिरामीहरू रहेका छन्। नयाँ भेरियन्ट फैलिएसँगै राज्यमा खोप अभाव भइरहेको समेत चर्चा सुरु भएको छ।

के हो ‘डेल्टा प्लस भेरियन्ट’ 
‘डेल्टा प्लस भेरियन्ट’ भारत र पछिल्लोपल्ट नेपालमा भेटिएको डेल्टा भेरियन्टबाट  नै म्युटेट भएको कोरोनाभाइरसको नयाँ भेरियन्ट हो। सबै उमेर समूहमा तीव्र संक्रमण हुने यो भेरियन्टबाट नेपालमा पनि दर्जनौँ संक्रमित छन्।

यसलाई डब्लूएचओले ‘डेल्टा प्लस’ अर्थात् ‘एवाई–१’ भनेको छ। यो भेरियन्टले खोप र औषधिको प्रभावलाई समेत कम गर्नसक्ने जनाइएको छ। मानिसको प्रतिरोधी क्षमतालाई कमजोर बनाउन सक्ने भेरियन्टको रुपमा चिनिएको छ।

प्रकाशित मिति: : 2021-08-13 16:22:00

प्रतिकृया दिनुहोस्