कोरोना महामारीले गर्दा अहिले धेरै युवाले रोजगारी गुमाएका छन्। धेरै कामबिहीन भएर अब के गर्ने, कसरी घर धान्ने भन्ने चिन्ताले पिरोलिएका छन्। कोरोना भाइरस महामारी संसारलाई गाँजेको अवस्थामा डडेल्धुराका परशुराम नगरपालिका–४, कटालका ओमप्रकाश जोशीलाई भने कृषिकर्मले आकर्षित गरेको छ।
कोरोमा महामारी फैलिएपछि जोशीको दैनिकी तरकारीबारीमै सीमित छ। उनी हरेक दिन बिहानै बारीमा जान्छन्, अनि साँझ मात्र त्यहाँबाट फर्किन्छन्। एक बिघा जमीनमा आधुनिक तरिकाले लगाएको तरकारी खेती गोड्मेल र सिँचाइमै उनको दिन बितिरहेको छ। गोलभेडा, काँक्रो, बन्दा, फर्सी, भेडेखुर्सानी, भण्टा, खुसार्नी, धनियाँ, लसुनलगायतका तरकारी फलाइरहेका छन्।
जोशी इजरायलसम्म पुगेर फर्किएका किसान हुन्। उनी बल्लतल्ल लाखौँ खचए गरेर इजरायल पुगेका थिए। कोरोना भाइरसको महामारीका कारण एक वर्षमै नेपाल फर्किन बाध्य भए तर अब उनी यहीँ कृषिकर्ममा रमाएका छन्। जोशीले भने, ‘कोरोना छ भनेर के गर्ने, खानलाउन त चाहियो। तरकारी लगाएको छु। उत्पादन उत्पादन बढाउन दिनभरि खेतबारीमै तल्लीन छु।’
बारीभरि फलेका काउली, मूला, आलु, भेडेखुर्सानी, भाण्टा देखेर उनी त्यसै रमाइरहेका छन्। ‘दुःखका बेला आफ्नै माटो काम लाग्ने रहेछ, अहिले बल्ल मलाई महसुस भयो। मैले समयमै यहीँ मेहनत गरेको भए अहिले त करोडपति हुन्थेँ होला। मान्छेले लागेपछि पो थाहा पाउछ,’ उनले भावुक हुँदै भने।
‘लकडाउन’को लाभ: बारीबाटै बिक्री
कोरोना महामारीका कारण सरकारले ‘लकडाउन’ र निषेधाज्ञा जारी गरेको छ। अझै पूरै खुलेको छैन– निषेधाज्ञा। यसका कारण धेरै ठाउँमा तरकारी नबिकेर बारीमै कुहिएको गुनासो सुनिने गरेको छ तर जोशीले भने यो समस्या झेल्नुपरेको छैन बरु यसबाट लाभ पो पाएका छन् उनले।
लकडाउनका कारण भारतीय बजारबाट तरकारी आउने क्रम रोकिएको छ। यसको प्रत्यक्ष फाइदा जोशीलाई भएको छ। पहिले उनलाई बजारको समस्या हुन्थ्यो। अहिले उनले फलाएको तरकारी बारीबाटै बिक्री भइरहेको छ। ‘लकडाउनले मलाई समस्या भएको छैन। स्थानीयले बारीमै आएर तरकारी लैजानुहुन्छ। बारीमै तरकारी बिक्री हुन्छ,’ उनले उनी हाँस्दै भने,‘ विषादी प्रयोग भएको भारतीय तरकारीभन्दा पनि गाउँठाउँमै उत्पादन भएको आर्ग्यानिक ताजा तरकारी खाँदा स्थानीय खुशी छन्।’
इजरायलको सीपले नेपालीको खेत हराभरा
रोजगारीकै सिलसिलामा उनी इजरायल गएका थिए। करिब १ वर्ष जति उनी त्यहाँ रहे। त्यहाँ रहँदा उनले कृषिसम्बन्धी थुप्रै सीप हासिल गरे। त्यहाँ सीप हासिल गरेपछि उनलाई आफूले सिकेको सीप स्वदेशमै प्रयोग गर्नुपर्छ भन्ने लाग्यो।
कोरोना भाइरसको महामारीपछि उनी इजरायलको काम छाडेर नेपाल फर्किन बाध्य भए। अनि जग्गा भाडामा लिए र व्यावसायिक कृषिमा लागे। अहिले आफ्ना छरछिमेकी र स्थानीय बासिन्दालाई जोशीले आधुनिक खेती गर्ने तरिका सिकाइरहेका छन्।
विगतमा परम्परागत खेती गर्ने डडेलधुरास्थित उनको गाउँका किसानलाई अहिले जोशीले आधुनिक प्रविधिबाट खेती गर्न सिकाइरहेका छन्। आधुनिक तरकारी खेतीतर्फ आकर्षित छन्। ‘नेपालीभन्दा इजरायली किसान धेरै मेहनति छन्। त्यहाँका पाँच प्रतिशत जनताले मात्रै खेतीकिसानी गर्छन् तर उनीहरुले नै अर्थतन्त्र धानिरहेका छन्’, जोशीले भने, ‘आधुनिक तरिकाले खेती गर्ने हो भने नेपालमा पनि अहिले किसानहरुले अर्थतन्त्र धान्न सक्छन।’
परिवारको सहयोग
कोभिड–१९ को कारणले अहिले सिंगो संसार तहसनहस भएको छ। कोरोनाका कारण अहिले उनलाई परिवारको साथ मिलिरहेको छ। उनी दैनिक ५ घण्टा खेतमा काम गर्छन्।
विशेष गरेर साँझ–बिहान परिवारको साथ मिल्ने गरेको उनी बताउँछन्। बुवा साँझ बिहान पसलमा गए पनि दिउँसोतिर सहयोग गर्ने गरेको उनको भनाइ छ। ‘अहिले कोरोनाका कारण परिवारको साथ सहयोग अरू समयभन्दा बढी पाएको छु। विशेष गरेर बुबाले सहयोग गर्नु हुन्छ’ उनले भने। ‘अरू परिवारका सदस्यहरू अन्य काममा व्यस्त हुन्छन् तर आपत्विपतमा सहयोग गरिरहन्छन्।’
घर खर्च कटाएर वार्षिक तीन लाख कमाइ भएको उनले बताए। उनी कृषि पेशाप्रति उत्साहित छन्। आगामी दिनमा पनि कृषि कार्यलाई निरन्तरता दिने उनले बताए। यस वर्ष एक लाख ६० हजार रुपैयाँको आलु मात्र बिक्री गरेको उनले सुनाए।
वैदेशिक रोजगारी र अरू व्यापार–व्यवसायभन्दा आफू कृषि पेशामा सन्तुष्ट रहेको उनले बताए। कुन मौसमका के तरकारी लगाउँदा उपयुक्त हुन्छ भनेर अहिले परीक्षण गरिरहेको र आगामी दिनमा अझै तरकारी खेतीलाई विस्तार गर्ने उनको योजना छ।
अहिले उनले गोलभेडा, धनियाँलगायत अन्य तरकारी बाली लगाएर परीक्षण गरिरहेका छन। आगामी दिनमा जुन तरकारी लगाउँदा बढी फाइदा हुन्छ, त्यसैलाई निरन्तरता दिने उनको सोच छ।