झाँडीभित्र लुकेको ‘घाङ्च ल्हुम’: अहिले सबैको मन लोभ्याउदै 

Breaknlinks
Breaknlinks

नीलो आकाश छुनै लागेका छ ढुंगाले। दुई, चार टुक्रा बादल पनि छरिएको छ आकाशमा। चट्ट मिलाएर ढुंगा छापेर बाटो बनाइएको छ। पशुपंक्षीका लागि गुँड पनि बनाइएको छ।

केही समय यता सामाजिक सञ्जालमा घाङ्च ल्हुमले सबैको ध्यान तानेको छ। फोटो देखि सकेपछि यस्तो लाग्छ, ‘एकफेर जान पाए त!’ कतिले त यसलाई ‘बेबिलोनको झुलन बगैँचा’सँग पनि दाजे। जुन इशापूर्व ६ सयमा राजा नेबुचाडनेजारले आफ्नी रानी खुसी पार्न पाएका थिए। कतिले बाह्य मुलुकको होला भन्ने पनि लख काटे। 

न यो ‘बेबिलोनको झुलन बगैँचा’ हो। न बाहिरी मुलुक। यो त तनहुँको भिमाद नगरपालिका–९ मोहरियाको डुङडुङमा सामुदायिक बनमा अवस्थित घाङ्च ल्हुमको हो। बनको भित्री भागमा झाँडी भित्र लुकेको घाङ्च ल्हुलाई साजसज्जा गरेर चिटिक्क पारेपछि अहिले सबैको मन लोभ्याउने गन्तव्य बनेको छ।

मगर भाषामा घाङ्च ल्हुमको अर्थ अग्लो ढुंगा हुन्छ। पहाड जत्रा अग्ला ढुंगालाई सिगारेर बेहुलीमा भौतिक संरचना थपेपछि अहिले सबैको ध्यान तानेको छ। महामारिले घुमफिर गर्न नपाएका घुमन्तेका लागि अहिले यो गतिलो गन्तव्य बनेको छ। उपेक्षा गरिएका ढुंगाले पनि मान्छेको मन लोभ्याउन थालेपछि स्थानीय दंग छन्। अहिले यो ठाउँमा दैनिक हजार बढी घुमन्ते पुग्ने गरेका छन्।

यसरी बनेको थियो कालो पत्थरलाई हिरा बनाउने योजना 

बनको बीच भागमा रहेको कालो पत्थर। झाँडीले छोपेपछि देख्न पनि गाह्राे थियाे। कसैले सोचेका पनि थिएनन् सबैको मन लोभ्याउने थलो बन्ला भन्ने भनेर।स्थानीय बाबुराम राना जंगल बीचका ढुंगालाई यति राम्रो स्वरुप दिन सकिएला भनेर कसैले नसोचेको बताउछन्। राना भिमाद नगरपालिका–९ का वडा सदस्य समेत हुन्। ‘यस्तो राम्रो सबैले मन पराउने होला भनेर त सोचेका पनि थिएनौं। चिताएकै थिएनौं। ढुंगैढुंगा त थियो, जंगल बीचमा कसैलाई वास्ता पनि भएन,’ उनले भने।

गत साल ढुंगा आसपासका झाँडी फाडियो। झाँडी फाडेर ढुंगाको आकार देखिने बन्यो। ढुंगा वरिपरि हिड्न मिल्ने पैदल मार्ग बनाएर वरिपरी धुपीका बोट रोपियो। ढुंगाको बीच बीचमा पशुपंक्षीलाई बास बस्ने गुँड पनि बनाएपछि साँच्चिकै मन लोभ्याउने देखियो अग्लो ढुंगा।

पार्क बनाउन गण्डकी प्रदेशका पुर्व अर्थ मन्त्री किरण गुरुङले पनि सहयोग गरेका थिए। मोहरिया गुरुङकै निर्वाचन क्षेत्र पनि हो। मन्त्री हुँदा एक कार्यक्रममा सहभागी हुन किरण त्यहाँ उपस्थित थिए। त्यसै बेला यो ढुंगा देखे। ढुंगालाई सिंगार्दा पर्यटकीय गन्तव्य बन्ने लक्षण देखेपछि उनले पर्यटकीय गन्तव्य बनाउन सहयोग गर्ने वचन दिए।

गण्डकी प्रदेश सरकार मातहातको डिभिजन वन कार्यालय तनहुँले गत आर्थिक वर्षको बजेटबाट पार्क बनाएको हो। २० लाख रुपैयाँको लगानीमा पार्क निर्माण थालिएको थियो। अहिले संरचना पूरा बनेर सकिएको छैन। स्थानीयकाे १० प्रतिशत लागत साझेदारी व्यहोर्दै श्रमदान रहेको यो योजनामा थुप्रै काम गर्न बाँकी रहेको वडा सदस्य रानाले बताए।

ढुंगाको कापमा चराचुरुङ्गीले पानी पिउन मिल्ने गरी सानो पोखरी, चराको चुच्चोबाट पानीको फोहोरा झार्ने संरचना पनि बनाइएको छ। घाङ्च ल्हुमलाई पर्यटकीय गन्तव्य बनेपछि स्थानीयको जीवनस्तर पनि उकासिने छ।

मगर बस्तिको बाहुल्यता रहेको यो भेगमा अधिकांश नाम पनि मगर भाषाबाटै राखिएको छ। तनहुँमा अहिले नयाँ पर्यटकीय गन्तव्य थपिएको छ। भिमाद नगरपालिका–९ का अध्यक्ष इमानबहादुर थापाले पर्यटकीय गन्तव्य थपिएपछि स्थानीयको जीवनस्तर उकासिने विश्वास लिए। ‘प्रदेशबाट वन कार्यालय मार्फत बजेट निकास गरेर योजना अघि बढाइएको थियो। रक गार्डेन बनेर नसकिदै धेरैको नजरमा परि सक्यो। अहिले त धेरै जना आउन थाले भनेर स:शुल्क प्रवेश गर्ने बनाएका छौं,’ उनले भने।

वडा नम्बर ९ मै रहेको चमेरे गुफामा चमेरो संरक्षणका लागी डिभिजन वन कार्यालयले चमेरो अवलोकन विन्दु बनाएको छ। चमेरो गुफाबाट मोहरियाको घाङ्च ल्हुम जोड्नलाई रेलिङ सहितको सिँढी पनि बनाईएको छ। गतवर्ष विनियोजित २० लाख रुपैयाँ बजेटले ४ सय मिटर रेलिङ सहितको सिँढी र चमेरो अवलोकन विन्दु निर्माण भएको छ।

चार तले धन्धुरसिद्ध गुफासँगै रहेको चमेरो गुफादेखी मोहोरियासम्म पदमार्ग पनि बन्दै छ। वडाध्यक्ष थापाका अनुसार सिद्धगुफा, चमेरेगुफा, मोहोरियाका घाङचलुह्म, पाइमीको भ्युटावर, इलुङ झरना हुँदै पाथर्दी सामुदायिक होमस्टेलाई जोडेर फूलको वगान सहितको पदमार्ग बन्ने छ।पुर्वाधार थप र प्रबद्र्धन गर्ने योजना राखेर अघि बढीएको वडाध्यक्ष थापाले सुनाए। 

पृथ्वीराजमार्गबाट तनहुँको खैरनीटारबाट भित्र छिनुपर्छ यो ठाउँ पुग्न। भीम भैरव मोटरबाटो हुँदै जाने हो भने १३ किलोमिटर। भिमादबाट जिदी खोला जिलाङ हुँदै जाने हो भने ९ किलोमिटर लाग्छ। यो बाटो छोटो परे पनि बाटो पिच नहुँदा सवारी उक्लिने गाह्रो हुन्छ। त्यसैले भिम भैरव मोटरबाटो समाउने हो भने सजिलै पुग्न सकिन्छ। 

 

प्रकाशित मिति: : 2021-08-12 20:27:00

प्रतिकृया दिनुहोस्