१६ वर्ष भयो, नागरिकताविहीन भएर बाँचिरहेकी छन्, काठमाडाैं–४ कि रीता श्रेष्ठ (नाम परिवर्तन)। हरेक दिन नागरिकताकै लागि संघर्ष गरिरहेकी उनी निराश नभएको दिन छैन।
रीता सानै छँदा बा र आमा छुट्टिए। त्यसपछि आफ्नो बालाई कहिल्यै देख्न पाइनन् उनले। उनी १० वर्षको हुँदा उनकी आमाको दोस्रो विवाह भयो।
‘छोरीलाई हामी नै पढाउँछौं। हामी नै नाम दिन्छौँ,’ अंकल–आन्टी (आमाका बहिनी र ज्वाइँ) ले बचन दिएर रीतालाई आफूसँगै राखे।
रीता अंकल–आन्टीकै घरमा छोरी भएर बस्न थालिन्। सर्टिफिकेटमा अभिभावकको रूपमा उनीहरुकै नाम लेखियो। १६ वर्षको उमेरमा रीताले एसएलसी पास गरिन्।
त्यसपछि उनले आन्टीसँग नागरिकता बनाइ मागिन्।
‘वडा कार्यालय जाऊ, कागज माग। तिमीलाई नागरिकता भर्ने कागज दिन्छ। भरेर लिएर आऊ। अनि अंकलले बनाइदिनुहुन्छ,’ आन्टीले भनिन्।
उनले आन्टीले भनेबमोजिम गरिन्। अंकल सरकारी जागिरे थिए।