अछामको साँफेबगर नगरपालिका वडा नम्बर–८ चण्डिकाकी रेवन्ती बोहरा। उनी अछाम जिल्लाकी एक सशक्त महिला कृषि–व्यवसायी हुन्।
३७ वर्षीया बोहराको दैनिकी दूरदराजमा रहेर पनि काठमाडौंका आधुनिक महिलाको भन्दा कम व्यस्त छैन। कारण उनको परिचय विस्तार भएर कृषि व्यवसायीबाहेक शिक्षिका तथा स्वयंसेविकालाई समेत भएको छ तर उनी आफूलाई कृषि–व्यवसायीको रूपमै परिचित गर्न रुचाउँछिन्।
रेवन्तीको विवाह ०५९ सालमा भएको थियो। स्वाभिमानी स्वभावकी उनी बिहेअघि पनि आफूले सकभर तरकारी खेती गरी त्यसैबाट आएको आम्दानीले खर्च टार्थिन्। आफू बुझ्ने भएपछि परिवारसँग खर्च मागेको उनलाई याद छैन।
विवाहपश्चात् उनी पतिको घर गइन्। अनि केही समय फुर्सदिलो भइन्। उनलाई सानोतिनो सामानका लागि पतिसँग पैसा माग्न असहज लाग्यो। आफूभित्रको स्वाभिमानले रोक्यो।
बिहे गरेको केही समयमै उनका पति रोजगारीका लागि भारत गए, होटलमा भाँडा माझ्ने काममा गर्न थाले। पतिले भारतमा भाँडा माझेर बसेको जब रेवन्तीलाई पत्तो पाइन्, उनले तत्काल उनलाई नेपाल फर्किन आग्रह गरिन्। उनले भनिन्, ‘श्रम गर्नै परे जे–जस्तो हुन्छ, नेपालमै परिश्रम गरौँ, भारतमा भाँडा माझेर हाम्रो उन्नति हुँदैन भनेर बोलाएँ।’
पतिलाई स्वदेश फर्काएपछि बोहरा दम्पती मिलेर व्यावसायिक बाख्रापालन सुरु गरे। ‘अछाममा छाउपडी भएका महिलालाई राख्ने गोठको चलन छ। मेरो श्रीमान् एक निजी कार्यालयमा काम गर्नुहुन्थ्यो। एक दिन उहाँले गोलभेडाका बीउ एक प्याकेट ल्याउनुभयो’, उनले भनिन्, ‘मैले छाउगोठको माथि उक्त टमाटरका बीउ रोपे। जसबाट भएको उत्पादनले मैले करिब १७ सय कमाए। थोरै बोटबाट पनि कमाएको १७ सयले मलाई टमाटर रोप्नलाई अझ हौसला दियो। र, बिस्तारै संख्या बढाउँदै गए।’
तरकारीबाट आम्दानी धेरै हुन्थ्यो तर पहाडी भेगमा हिउँदमा खेती हुँदैनथ्यो। त्यसैले उनलाई बाख्रापालनले आकर्षित गर्याे। तरकारीसँगै बाख्रापालन पनि सुरु गरिन्। वर्षात् सकिएर जब हिउँद लाग्थ्यो, च्याउ उत्पादन थाल्छ। यसरी उनको कृषिका तीन व्यवसायलाई एकीकृत गरी आफ्नो काम अघि बढाएकी छन्। उनले भूमिका बाखापालन फर्म र अनमोल च्याउ उत्पादन तथा कृषि फर्म भनेर रहेको दुईवटा फर्मको दर्ता गरेकी छन्।
बाख्रापालनको लागि आवश्यक पर्ने खोर बनाउन ५३ हजार ऋण महिला समूहबाट लिएकी थिइन्। बाँकी करिब एक लाख उनको व्यक्तिगत लगानी हो।
तरकारी खेती लगानी सानो रकमबाटै सुरु भयो। तरकारी व्यवसायमा वर्षेनी लगानी हुनु कुनै नौलो कुरा होइन। एक प्याकेट बीउबाट सुरु भएको गोलभेडा खेती अब एक लाख रुपैयाँको हाराहारीमा उत्पादन पुगिसकेको छ। च्याउ खेतीका लागि उनलाई कृषि ज्ञान केन्द्रबाट ५० हजार रुपैयाँको फलामे ‘टनेल’ को सहयोग भयो। त्यसबाहेक उनको २०–२५ हजारको च्याउको बीउ तथा पराल लगायतमा आफैँले खर्च जुटिइन्।
विकट स्थान भएका कारणले पनि लगानी अन्य स्थानमा भन्दा केही कम हुनु स्वभाविक हो। यसका साथै, उनले बाख्रापालनतथा तरकारीका खेतीका लागि जग्गा लिजमा लिएकी छन्। जसको करिब ६० देखि ६५ हजारसम्म पर्न जान्छ।
लगानीअनुरुप उनको वार्षिक कमाइ पनि लाख रुपैयाँभन्दा नाघ्छ। तरकारीको एक सिजनमा उनले साँढे दुई लाखसम्मको कमाइ गर्छिन्। त्यस्तै, सिजनमै च्याउबाट एक लाख भन्दा बढी कमाइ छ, उनको। रेवन्तीले वर्षेनी बाख्रापालनबाट साँढे तीन लाख रुपैयाँ बराबरको कमाइ गर्छिन्।
रेवन्तीको एकमुष्ट उनको वार्षिक आम्दानी छ देखि सात लाख रुपैयाँको हाराहारीमा हुने गरेको छ। बिहानदेखि साँझसम्मको खटाइबाट उक्त आर्जन हुने गरेको छ। उनले भनिन्, ‘परिश्रम गर्न सक्नु पर्छ। जागिर खानुभन्दा व्यवसाय नै ठीक हुन्छ।’
समस्या
वर्षेनी लाखाैँको कमाइ भने उनको एकै पटकको जादुले भएको भने होइन। सुरुवाती समयमा उनले घाटा पनि व्यहोरिन्। फर्म जङ्गलनजिक भएको कारण बाघले उनको २३ वटा बाख्रा खाइदियो। करिब २४ वटा बाख्रा रोगले मरे।
‘बाख्रा मरे, बाघले खाए भन्दैमा मैले हरेश खाइनँ, व्यवसाय सुरु गर्ने क्रममा घाटा भयो भन्दैमा आत्तिनु र नाफा भयो भन्दैमा मात्तिनु हुँदैन’, उनले भनिन्, ‘घाटा भयो भनेर आत्तियो भने त कसरी भएको घाटा व्यहोर्न सकिन्छ। सौम्य भई काम गर्न सक्नुपर्छ।’
शिक्षिकाको रुपमा पनि काम गर्दै आएकी छिन् उनले। स्कुल पढाउने मास्टर भएर श्रीमानले कमाइ गर्दा पनि भारी बोक्ने, माटोमा खेल्ने, गाईगोठ गर्नैपर्ने भनी खिसी गर्नेको पनि कमी छैन। तथापि, उनी कसैको टिप्पणीमा वास्ता राख्दिनन्। उनले भनिन्, ‘मेरो विचारमा श्रीमानले कमाउनुपर्ने अनि श्रीमती कोठामा बसेर घरायसी काममा मात्र हुन पर्छ जस्तो लाग्दैन।’
हरेक क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा महिलाप्रति भेदभाव देखिन्छ नै। पुरुषको तुलनामा महिला वर्गलाई यस क्षेत्रमा पनि गाह्रो हुने महिला कृषि–व्यवसायी रेवन्ती बताउँछिन्। दिनरात नभनी काम गर्ने क्रममा सामाजिक टीका–टिप्पणीको शिकार पनि भएकी छन् उनी। ‘सरकारको पैसा पाएकी होली अनि त यसरी काम गरिरहेकी छे’, यो उनले कृषिकर्म थालेपछिसुन्दै आएको कुरा हो रेवतीले। तर, उनी यस्ता कुरालाई खासै मनन् गर्दिनन्।
रेवन्तीको बाख्राफर्मको नजिकै जंगल छ। कतिपय बाख्रापाठा बाघले खाए भने कति बिरामी भएर मरे। उनले बाख्र्राको बीमा नगरेको पनि होइन तथापि बीमाका झञ्झटिला नीतिले अझै पनि बीमा रकम भुक्तानी पाएकी छैनन्।
बसाइ पहाडी जिल्लामा छ, बीमा समिति यहाँसम्म चेकजाँचको लागि आउन मन गर्दैनन्। काम छाडेर बीमा रकम भुक्तानी गर्न उनले सकेकी छैनन्। भुक्तानीमा लाग्ने समय उनी बरु तरकारी खेती र बाख्रापालनमै लगाउँदा फाइदा हुने मानिछन्।
च्याउ खेतीका लागि कृषि ज्ञान केन्द्रबाट पाएको ५० हजार र नगरपालिकाले बाख्राखोर सुधारको लागि प्रदान गरेको ५० हजार उनले पाएको हालसम्मको अनुदान हो। यद्यपि, यस नीतिबाट उनीखुशी भने छैनन्।
रेवन्तीकाअनुसार, सरकारको नीति ठाउँ र हावापानी सुहाउँदो वर्गविशेष र व्यवसायको प्रकृतिअनुसार हुनुपर्छ।
रेवन्तीले भनिन् ,‘सानाकिसानको जग्गा–जमिन छैन। जग्गा–जमिन भएका किसान मेहेनत गर्दैनन्। जसको कारण मेहेनत नगर्ने ठूलाठालु भएर बसेका छन् भने साना किसानलाई अरुको जग्गा–जमिनमा काम गर्दा अपनत्व महसुस हुँदैन,अनि कसरी हुन्छ कृषिमा प्रगति?’, उनको प्रश्न छ।
कृषि क्षेत्रमा रहेका सम्भावनालाई नजिकबाट नियालेकी रेवन्ती महिला वर्गलाई कृषिमा लाग्न सल्लाह दिन्छिन्। पुर्खादेखि गर्दै आएको पेशाबाट जीविकोपार्जन समेत गर्नसकिने कारण महिला वर्गमा श्रीमानकाे आयमा भर नपरी बिहानदेखि साँझसम्म खट्न सके मनग्य आम्दानी गर्न सकिने उनको अनुभव छ। उनले भनिन्, ‘परिश्रम नगरुञ्जेलसम्म हो, मेहेनत गर्न थाले पछि काममै मन लाग्छ।’