‘खोई औषधीको पूर्जी हेरौं, ल हिँड्नुस् मेरो पसलमा १० प्रतिशत छुटमा औषधिदिन्छु।’
नारायणी अस्पतालको मेडिकल सर्जिकल वार्डका एक कर्मचारीले शनिबार बिहान विरामीलाई गरेको अनुरोध हो, यो। ‘ड्युटी’का कर्मचारी भएपनि औषधि बिक्रेताले जस्तो कुरा व्यवाहार गरेपछि बिरामी शायद विश्वस्त हुन सकेनन्।
बिरामीले भने, ‘एकछिन् पख्नुस्, मेरो मान्छे बाहिर जानुभएको छ, आएपछि उहाँले जता भन्नुहुन्छ उतै जान्छु।’
यो सुनेपछि ती कर्मचारीले बुझे– माछा जालमा पर्नेवाला छैन, चलाख छ। उनले हतपत बिरामीको हातबाट पूर्जी खोसे र च्यातिदिए। ‘राम्रो कुरा भनेको नमान्ने? ल हेरौं, अब कसरी अरु ठाउँबाट औषधिलिन्छौ, कसरी हुन्छ उपचार।’ यत्ति भनेर ती कर्मचारी गनगन गर्दै आफ्नो बाटो लागे।
चिकित्सकले लेखिदिएको औषधिको पूर्जी कर्मचारीले च्यातिदिएपछि अलमलमा परेका बिरामीका कुरुवा फर्कने बाटो हेर्दै गर्दा आफू रौतहटदेखि आएकोले वीरगंजमा जे–जस्तो व्यवहार भए पनि सहन बाध्य भएको बिरामीले बताए। त्यतिमात्रै होइन, विरोध गरे आफ्नो उपचार राम्रो नहुने हो की भन्ने त्राश बिरामी र उनको आफन्तजनमा झल्किन्थ्यो।
‘चिकित्सकको बिना सहमति कर्मचारीले दादागिरी देखाउन सक्दैन नि,’ निन्याउरो अनुहार बनाएका ती बिरामीले बिएल नेपाली सेवासँग भने।
नारायणी अस्पतालमा काम गर्ने अधिकांश कर्मचारीहरूको आफ्नो औषधि पसल छ। ती कर्मचारीहरुले नै अस्पतालका बिरामीलाई आलोपालो गरेर आफ्नो पसलमा पठाउने गर्छन्।
‘डाक्टरले हेरेर जानुहुन्छ अनि वार्डका कर्मचारी आएर फलानो ठाउँमा जानुस्, छुट मिल्छ भनेर पठाउँछन।’ मेडिकलमा उपचाररत अर्का बिरामीका कुरुवाले नाम नलेख्ने सर्तमा भने– ‘उनीहरूले भनेको पसलमा जाँदा औषधिमा पहिला नै दाम बढाएर जोड्छन्, अनि छुट दिन्छन्, झगडा गरौं भने पनि आफ्नो बिरामी अस्पतालमा हुन्छ, फेरि उपचारमा पक्षपात होला कि भन्ने डर।’
नारायणी अस्पतालमा उपचार गराउन दैनिक दुई/तीन सय जना बिरामी आउँछन्। उनीहरूमध्ये प्रायशः पर्साका ग्रामीण क्षेत्र तथा बारा, रौतहट एवम् सर्लाही जिल्लाका हुन्छन्। नारायणीमा राम्रो र सहुलीयतमा उपचार हुन्छ भनेर उनीहरू आएका हुन्छन्। वीरगंजका बासिन्दा होइनन् भन्ने थाहा पाउने बित्तिकै अस्पतालका कर्मचारी तथा दलालहरु पछि लाग्ने गर्छन्।
‘चिकित्सकले पूर्जी लेखिदिने बित्तिकै कर्मचारीरूपी दलाल आइपुग्छन्,’ अस्पतालमा भर्ना भएका एक जना बिरामीका कुरुवाले भने, ‘हामीलाई औषधिलिन जुन ठाउँमा जान भनिएको हुन्छ, त्यहाँ गएनौं भने उनीहरूले हाम्रो बिरामीलाई राम्ररी हेरचाह नै गर्दैनन, न त समयमा औषधिदिन्छन्, न उपचार नै गर्छन्।’
अस्पतालमा कार्यरत कर्मचारीहरूबीच यतिसम्म समझदारी हुन्छ कि उनीहरूले एकापसमा पालो राखेका छन्। आजको पालोमा एउटा पसलमा पठाउँछन् भने अर्काे दिन अन्य पसलको पालो आउँछ। कुनै बिरामीले तोकिएको पसलभन्दा बाहिरबाट औषधिल्यायो भने उनीहरूले त्यो औषधि नचलाई त्यही ‘कम्पोजिसन’ भएको अर्को औषधि आफ्नो पसलबाट मगाउँछन्। यसरी हेर्दा औषधि फरक देखिन्छ तर ‘कम्पोजिसन’ एकै हुन्छ।’
नारायणी अस्पताल परिसरभित्र औषधि पसल छ तर पनि कर्मचारीको मिलेमतो र कर्तुतका कारण अस्पतालको पसलमा बिरामीलाई पठाइँदैन र त्यहाँ गए पनि आवश्यक औषधिपाइँदैन। सर्वसाधारण बिरामीलाई अस्पतालकै कर्मचारीले डकैती गरिररहँदा पनि कारवाही गर्ने निकाय मौन बसेको छ।
गर्भवती शय्या होस् वा मेडिकल वार्डमा, औषधि पसल सञ्चालकहरूले आ–आफ्नो मान्छे राखेर गरीब बिरामीलाई लुटिरहेका छन्। अस्पतालका कर्मचारीले बिरामी तथा कुरुवामाथि ‘दलाली’ गर्ने र ‘दादागिरी’ देखाउने गरेको बारे आफूहरूलाई जानकारी नभएको नेपाल प्रहरी अस्पताल बिटको भनाइ छ। पीडित पक्षबाट समयमा जानकारी आएमा जोसुकै भए पनि समातेर कारवाही गरिने बिटका प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक वकील सिंहले बताए।