महन्थहरूको जिल्ला दौडाहा : उपेन्द्रको भण्डाफोर कि नयाँ पार्टीको अभ्यास?

आयोमेल

धैर्यकान्त दत्त

निर्वाचन आयोगले साउन ११ गते जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि लगभग मौन बसेको महन्थ ठाकुर अहिले मधेशका जिल्ला दौडाहामा छन्।

पछिल्लो राजनीतिक उथलपुथलमा गएको ४/५ महिनासम्म काठमाडौंमा व्यस्त बनेका ठाकुरका साथै उनी पक्षीय सबै नेताहरू अहिले पूर्व मेचीदेखि पश्चिम कर्णालीसम्मको दौडाहामा निस्किएका छन्।

निर्वाचन आयोगले उपेन्द्र पक्षले गरेका निर्णयहरूलाई आधिकारिकता प्रदान गरिसकेपछि ठाकुर र उनी पक्षीय नेताहरू पहिलोपटक काठमाडौं छोडेर जिल्ला–जिल्ला पुगेका छन्।

निर्वाचन आयोगले उपेन्द्र पक्षलाई आधिकारिकता दिँदै महन्थ पक्षले चाहेको अवस्थामा नयाँ दल दर्ता गराउनसक्ने निर्णय सुनायो।

आयोगले नयाँ दल दर्ता खोल्न पाउने गरी निर्णय सुनाउँदा पनि ठाकुर जसपाभित्रै बसेर गतिविधि सञ्चालन गरिरहेका छन्। अहिले जिल्ला–जिल्लामा उनी र उनी पक्षीय नेताहरू जसपाअन्तर्गत नै रहेर कार्यक्रम सञ्चालन गरिरहेका छन्।

साउन २१ गते जनकपुर विमानस्थलमा ओर्लिएलगत्तै सञ्चारकर्मीहरूमाझ ठाकुरले भने, ‘जसपा विभाजन भएको छैन। मधेश आन्दोलन केही कमजोरमात्र भएको हो।’

उनको संकेत उपेन्द्रतिर थियो। मधेश मुद्दा संस्थागत गर्न एक वर्षअघि एकीकरण भएर बनेको जसपा अहिले उपेन्द्रकै कारण संकटमा पुगेको उनले इशारा गर्न खोजेका थिए।

र, अहिले महन्थहरूको जिल्ला दौडाहालाई पनि उपेन्द्रको ‘भण्डाफोर’ अभियानको रूपमा उनी निकट कार्यकर्ताहरूले हेरिरहेका छन्।

पार्टीमा सुरू भएको विवाद र आधिकारिकता प्रकरणसम्म आमकार्यकर्तालाई जानकारी गराउन नेताहरू जिल्ला दौडाहामा निस्केको महन्थ पक्षीय नेताहरू बताउँछन्।

‘उपेन्द्रजीहरूले आधिकारिकता पाइसकेपछि आम कार्यकर्तामाझ एकखाले अन्यौलता थियो, पार्टी सञ्चालनबारे। अधिकांश कार्यकर्तामा ह्रास नै आइसकेको थियो,’ ठाकुरनिकट एक नेता भन्छन्, ‘अहिलेसम्म भएका उथलपुथल र विकसित घटनाक्रमका साथै अब कसरी अगाडि बढ्नेबारे जानकारी दिन नेताहरू जिल्ला दौडाहामा निस्कनु भएको हो।’

शुक्रबार महोत्तरी सदरमुकाम जलेश्वरको अगुवा कार्यकर्ता भेलामा ठाकुरले जसपा अहिलेको अवस्थामा आइपुग्नुका दोष उपेन्द्रलाई दिन खोजे।

‘अहिलेसम्म जसपा विभाजन भएको छैन। तर, विभाजन नजिक पुगिसकेको छ,’ ठाकुरले भनेका थिए, ‘यसको प्रमुख कारण उपेन्द्रजी हुनुहुन्छ।’ अर्थात, जसपा विग्रहमा महन्थ पक्ष उपेन्द्रलाई दोष देखाएर आफू चोखिन खोजिरहेका छन्। र, यसलाई नयाँ पार्टी गठनको अभ्यासको रूपमासमेत हेर्न थालिएको छ।

उपेन्द्र पक्षले आधिकारिकता पाएसँगै महन्थ ‘क्याम्प’ मा नयाँ पार्टी खोल्ने बहस नभएको पनि होइन। तर, तत्काल नयाँ पार्टी खोलेर अगाडि बढ्दा संघीय सांसद, प्रदेश सांसदका साथै जनप्रतिनिधिहरूको पद धरापमा पर्न सक्ने डर उनीहरूभित्र देखिएको छ।

प्रकाशित मिति: : 2021-08-08 07:04:00

प्रतिकृया दिनुहोस्