तिमीलाई सम्झेर बाँचिरहेकाे एउटा ‘कुख्यात प्रेमी’

कमल आचार्य

काठमाडौं

पछिल्लो साल तिमीले हातमा मेहन्दीले लेखेको नाम र हरिया चुराहरु साउनको महिना मेरो लामो आयुको लागि बसेको व्रत, याद छ नि तिमीलाई ?

दिनरात सधैँजसो रङ्गिन होस् घन्टौंसम्म कुराकानी होस्। त्यो सार्वजनिक स्थानमा डराएरै गरेको किस र काँप्दै तिम्रो स्तनसम्म पुगेका मेरा हातहरु जिन्दगीभरीको लागि मेरै हकमा होस्, मेरै साथमा होस्।

पहिलो पटक मेरो कट्टु चिसो भएको मलाई याद छ। त्यो दिन घर पुगेर बाथरुममा बलियोसँग ढोका र झ्यालको चुक्कुल लगाए हस्तमैथुन गरेको थिएँ। 'छि ! फोहोरी केटा' भनेर महिनौसम्म जिस्काएको याद छ।

त्यो मोटरसाइकल पचासको रफतारमा चलाउँदा पनि पछाडि बसेर 'अलि स्पिडमा चलाउन। मैले चरप्प अँगालो मार्छु बुद्दु, पछाडि केटी बस्दा पनि चलाउने ढङ्ग रहेनछ' भनेर टाउको हानेकी  थियाै नि ! अस्तिजस्तो लाग्छ। आजकल बिग्रेको छ त्यो सङ्गै घुम्ने गरेको सवारी पनि।

अचानक साथीहरुको बीचमा मुस्कुराएको त्यो ओठ बन्द कोठामा पुगेपछि त्यहीँ पुरानै म्यासेज र तस्विर हेरेर छातीको भित्तामा टाँसेर धेरै पटक राेएकाे छु।

न कहिले अध्याँरो भयो,न त उज्यालो नै। जिन्दगी जहाँको त्यही बिग्रेको घडी जस्तै भएको छ। कास्, मन परेको त्यो घडीमा सेल बदलिएर अगाडि बढ्थ्यो त ! ए साँच्चै मैले दिएको त्यो तिमीलाई मन परेको घडी समालेर राखेको छौ कि लात्तीले कुल्चेर फ्याँकिदियौ ? 

रोएर कहिल्यै भाग्य बदलिएन। कास्, त्यस्ताे हुन्थ्यो त आजसम्म  हजारौं-लाखौं पटक मेरै भइसक्थ्यौ। केही उपाय रहेनछ, छोडेर जानेलाई फर्काउन सक्ने। आँशु र अनिद्राहरु पनि फिका रहेछन्।

त्यो चुरोट सल्काउदै गर्दा तिमीले देखेर उठबस् गराएर आफ्नै टाउकोमा हात राखेर कसम खुवाएको अस्ती भर्खर त हो नि है !

मैले त भुलिसके- कति महिना र साल भए। जिन्दगीको आजकल कुनै हिसाब-किताब नै छैन।

पछाडि बसेर तिमीले 'रफ्तारमा चलाउनुस्' भनेको भर्खरजस्तो लाग्छ। चिप्लो सडकमा सत्तरीदेखि पचासीसम्मको रफतार कति बेला पुग्छ थाहा नै हुँदैन। जब होस् खुल्छ, हातखुट्टा र टाउकोमा बाँधिएको पट्टि सङ्गै अस्पतालकाे शैयामा हुँदोरहेछु।

जिन्दगी र मृत्युसँग लडिरहेको मान्छेको मन-मुटुमा पनि उही छोडिजाने मान्छेको साथमा जिउने आशा लिएर मृत्युलाई जितेर नयाँ जिन्दगी पाइरहेको छु। खै तिमी कैले आउँछौ फर्केर ! अल्लि छिटो आउ है, मृत्युले मलाई रोज्नुभन्दा पहिले नै।

भुल्ने कोसिस नगरेको पनि होइन, पटक-पटक त्यो कोठाको बाहिर आएर ढोका ढक्ढकाएकाे भर्खरैजस्ताे लाग्छ। हत्तपत्त ढोका खोल्न पुग्दा आफ्नै छायाँ देखेर निराश अनुहार लिएर फर्किने गरेको छु।

महिनौँ-वर्षाैँ  बितिसके। आशाहरु जीवितै छन्। जबसम्म तिम्रो सिउँदोमा कसैले सिन्दुर भर्दैन, तबसम्म आश गरिरहनेछु। पर्खिरहनेछु। यहाँसम्म कि मलाई 'डिभोर्स'को समेत पर्खाइ हुनेछ।

प्रकाशित मिति: : 2021-08-07 20:24:00

प्रतिकृया दिनुहोस्