करिब २ वर्षअघिको कुरा हो। लुम्बिनी घुम्ने अवसर जुरेको थियो। जहाँ धेरै गुम्बा छन्। सोही क्रममा एक जोडीमा मेरो नजर पुग्यो। श्रीमानले श्रीमतीलाई बेस्सरी गाली गरिरहेका थिए। एकछिन रोकिएर ध्यान दिएर सुनेँ। कुरा सामान्य रहेछ– श्रीमानले जुत्ता लगाउँदै रहेछन्, श्रीमतीले आफ्नो पनि जुत्ता ल्याइदिन आग्रह गरिछन्। यसपछि ‘मान्छेहरूका अगाडि मलाई जुत्ता ल्याइदे भनेर अह्राउने’ भनेर श्रीमान आक्रोशित भएका रहेछन्। ती महिला खिन्न भएर आँसु लुकाउने कोसिस गरिरहेकी थिइन्। मान्छेहरू सबैले त्यसमा ध्यान नदिए पनि मेरो ध्यान भने गहिरोसँग गयो, कस्तो नमज्जा लाग्यो।
कति सानो कुरा थियो– तर श्रीमानका लागि त्यो ‘इज्जत’ र अहंको विषय बन्यो। अनि गाली बर्सियो। ती महिलाले यस्तो सोचिन् कि सोचिनन्, मेरो दिमाग भने अशान्त भयो; मनमा कुरा खेल्न थाले– श्रीमानका सर्ट–पेन्ट, जुत्ता-मोजादेखि अन्डरवेयरसम्म तिनै श्रीमतीले धोइदिएकी हुन्, अफिस वा व्यापार जे गर्लान्, सहज वातावरण उनैले बनाइदिएकी होलिन्। समयमा खाना, नास्तादेखि जुत्ता पोलिसम्म तिनै पत्नीले व्यवस्था गरिरहेकी होलिन्। घरका कामदेखि श्रीमानको छवि राम्रो बनाउनसम्म कति मेहनत गरिरहेकी होलिन्। विडम्बना! तिनै श्रीमतीले सानो सहयोग माग्दा ठूलै मूल्य चुकाउनुपर्यो।