२० वर्षदेखि तिनाउ खोला किनारको जग्गा कुरेर बसेकी सुमित्रा परियार यो साल लालपूर्जा पाउँछु भन्नेमा ढुक्क थिइन्।
सुमित्राले बुटवल-११ झोलुंगे पुलछेउमा घडेरी कुरेर बसेको २०५९ सालदेखि हो।
सुमित्राको परिवारका तीन पुस्तादेखि नै लालपूर्जा छैन। ससुरा हर्कबहादुर दमाई भूमिहीन भएरै बिते। श्रीमान दुर्गाबहादुर दमाईको पनि आफ्नो नाममा लालपूर्जा नपाई पाँच वर्षअघि मृत्यु भयो।
तीन महिना पहिले भूमिहीन, सुकुम्बासी तथा दलित परिवारलाई हाल बसोबास गरेको आधारमा सरकारले पूर्जा दिन्छ भन्ने सुन्दा उनी खुसी भएकी थिइन्।
पूर्जा पाउने आशामा कैयौं दिन मजदुरी गर्न नगई नागरिकताको फोटोकपी गर्ने, परिवारका सदस्यको हस्ताक्षर जुटाउने, टोल र वडाबाट सिफारिस जुटाउँदै लालपूर्जाको लागि फारम भरेकी थिइन्। तर लालपूर्जा वितरणका लागि काम गरिरहेको भूमिसम्बन्धी समस्या समाधान आयोग नै सरकारले विघटन गरेपछि उनको मन कुँडिएको छ।
तीन पुस्तादेखि भूमिहीन भएर बस्नु पर्दाको पीडा भोगेकी सुमित्रालाई लालपूर्जा पाउँछु भनेर ढुक्क भएको बेला आयोग विघटन गरेको सुन्दा सरकारप्रति आक्रोश छ।