प्रचण्डसँग मिलेर ओलीलाई निकाल्दा महासचिव पाउने लोभले नेपालको पछि लागेकाहरु अहिले नेपाललाई कारवाही गर्नु हुँदैन भनिरहेका छन्ः डा. विजय सुब्बा (अन्तर्वार्ता भिडियो)

नेकपा एमालेका केन्द्रीय सदस्य डा. विजय सुब्बा पार्टी एकताका लागि लागिपरेका दोस्रो तहका नेताहरुको व्यवहारबाट अत्यन्त निराश छन्। अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपालको पछाडि लामबद्ध हुनेबाहेक कोही पनि नेता भेटेका छैनन् उनले। त्यसैले उनी पार्टी एकताका पक्षमा भनेर लागिरहेका दोस्रो तहका नेताहरुलाई उनी नेताका रुपमा स्वीकार्न पनि तयार छैनन्।

एमालेभित्र विकास भएको व्यक्तिवादी प्रवृत्ति र गुटबन्दीबाट अत्यन्त दुःखी देखिन्छन् उनी। एमालेका सबैभन्दा पुराना सांसद्मध्येका एक हुन् उनी। सुब्बाले भने, ‘केपी शर्मा ओली, माधवकुमार नेपाल र वामदेव गौतमपछि हामी नेता हुने भन्ने लागेको होला, हामी मान्दैनौँ। यस्तो  संकटका बेला कोही नेता भएको भए यहाँ पुग्नबाट जोगाउनसक्नुपथ्र्यो, खोई सक्नुभएन त ? संकटमा गइञ्जेल के हेरेर बसेको ?’

नेकपा हुँदा प्रचण्ड र माधवकुमार नेपाल मिलेर अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गर्दा केही नबोलेका माधव नेपाल समूहका नेताहरु अहिले भने पार्टी एकताको लागि माधव समूहलाई कारवाही गर्न नहुने बताइरहेकोप्रति पनि उनको अत्यन्तै असन्तोष छ। ‘प्रचण्ड र माधवकुमार मिलेर प्रधानमन्त्री रहेका पार्टी अध्यक्ष केपी ओलीलाई निकाल्दा चाहिँ किन बोल्न सकेनन्? कहाँ थिए त्यसबेला ? अहिले चाहिँ उनीहरु पार्टी एकताका पक्षधर हुन् भनेर नेपाली जनताले पत्यादिनुपर्ने ?’, डा. सुब्बाले भने, ‘त्यतिबेलै प्रचण्ड–माधवले केपीलाई सडकछाप बनाएको गलत हो भन्नु पर्दैनथ्यो ? त्यसबेला चाहिँ हामीसँग बहुमत छ, म महासचिव हुन्छु भनेर केपीलाई साइजमा राख्ने सोचेर हनुमान भएको होइन ?’

डा. सुब्बाको मूल्याङ्कनमा माधव नेपाल समूहले संसदीय इतिहासमा गर्नु/नगर्नु गरिसकेका छन्। ‘प्रदेशसभाका फ्लोर क्रस गरी विपक्षीलाई मत दिएको, आफ्नै सरकार ढलाउन खेलेको त छाडिदिऊँ, संघीय संसद्मा आफ्नो दलको प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, सरकार ढाल्ने र विपक्षी पार्टीको प्रधानमन्त्रीको विश्वास दिने काम भयो’, उनले भने, ‘देउवालाई भोट दिन यो देशको प्रधानमन्त्री भइसकेको, एमालेको १५ वर्ष एक्लै नेतृत्व गरेको नेता पछाडिको कुर्सीमा गएर बस्नुभो। हामीलाई समेत लाज भो। त्यत्रो ठूलो नेताले कस्तो समेत गर्न सकेको ? कस्तासम्म मान्छे हुँदा रहेछन् ? त्यत्रो नेताले यस्तो काम गर्न हुन्छ ?’

माधव नेपालको नैतिकता र ‘कन्भिक्सन’ खतम भइसकेको बताउँदै डा. सुब्बाले भने, ‘सबै कुराको सजाय भोग्नुपर्छ, अनिमात्र नेता मान्न सकिन्छ। नेताको पछि लागेर मात्र सुरक्षित छु भन्ने कार्यकर्ताको चेत गलत हो।’

कार्यदलले बनाएको पार्टी एकताको १० बुँदे प्रस्तावप्रति एमालेभित्र दुवै खेमाका कोही पनि सन्तुष्ट नदेखिएको उनले बताए। प्रस्तावमा के भनेको भनेर समेत स्पष्ट नबुझिने उनले बताए। 

एमालेसँग माधव नेपाल पक्ष मिलेर जाने गरी पार्टी एकताबद्ध भयो पनि पहिलाको एमालेजस्तो संगठित नहुने, विघटित नेकपामा जस्तै चिरा नै चिरा हुने डा. विजय सुब्बाको मूल्याङ्कन छ। ‘मानौँ एकता भयो, माधव नेपाल अर्को अध्यक्ष भए रे ! तलसम्म नेपाल पक्षका अध्यक्ष पनि छन्। अनि मेरा पक्षका अध्यक्षले के पाउने, कुन पक्षका कति जना राख्ने भन्ने भागबण्डा चल्छ। अनि त्यागी, समर्पित नेता हुनबाट बञ्चित हुन्छ र वितृष्णा फैलिन्छ।’

पार्टी एकताका नाममा अहिले एमालेको संगठन निर्माणमा भइरहेको ढिलाइले एमालेलाई हानी गरिरहेको डा. सुब्बाको बुझाइ छ। प्रस्तुत छ– ६२ वर्षीय डा. सुब्बासँग गरिएको संवादको यो भिडियो:

प्रकाशित मिति: : 2021-08-06 14:13:00

प्रतिकृया दिनुहोस्

    एमाले भित्र अवसर बादि र भ्रष्ट लाई तु कार्वाहि गर्नु पर्ने नितिगत निर्णय गर्नु पर्छ ,र तल्लाे तह सम्म जनतालाई सुसुचित गराई,अभियान सञ्चालन गर्नु पर्छ नत्र दिन दिनै पाट्टि धराप मा पर्न सक्छ

    • 2 बर्ष अगाडि
    • मनाेज भण्डारी