केही वर्षअघि म युवराजसँग भारतको कलकत्तामा नाट्य महोत्सव हेर्न गएकी थिएँ। महोत्सवको अन्तिम दिन आयोजित रात्रिभोजमा एक महिला छेउमा आइन् र सोधिन्, ‘निर्देशककी श्रीमती हौ?’
म मुस्कुराएँ र भनेँ, ‘हो, तर म कलाकार होइन।’
मैले आफ्नो जवाफमा थप स्पष्टीकरण किन जोडेँ, थाहा छैन। सायद म त्यस प्रश्न र त्यससँग जोडिएका मानिसका अनुमानसँग धेरै परिचित थिएँ।
युवराजले उनलाई सोधे, ‘कलाकार हौ?’
उनले व्यंग्यात्मक भावमा भनिन् ‘हो, घरमा पनि र थिएटरमा पनि।’
उनले हाँस्दै थपिन्, ‘मलाई लाग्छ– सबै श्रीमान् निर्देशक हुन्। थिएटरमा मात्रै हैन, घरमा पनि। श्रीमतीहरू उनीहरूद्वारा निर्देशित।’
त्यस्तो गह्रुँगो कुरामा कसरी प्रतिक्रिया जनाउने! मलाई त त्यतिखेर ठ्याक्कै थाहा भएन। तर अचानक तीनै जना हास्यौं। त्यो अप्ठेरो स्थिति थियो। त्यस साँझ एकछिनका लागि भेटिएकी र गहिरो कुरा भनेर गएकी ‘निर्देशक श्रीमानकी कलाकार श्रीमती’लाई अचेल पनि बारम्बार सम्झिन्छु।