गंगाधर आचार्य सानैमा परिवारबाट छुटे। उनकी आमाले उनलाई पर्वतबाट बुटवल ल्याएर छाडिदिइन्। सानो छोरालाई बिरानो ठाउँमा छाड्ने रहर आमालाई कहाँ थियो र!
पर्वत, जलजलाका लक्ष्मी र नारायणदत्त आचार्यका कान्छा छोरा हुन् गंगाधर। जन्मिँदै पोलियो भएको थियो। दुवै खुट्टा लुला भएकाले हिँडडुल गर्न सक्थेनन्।
उनी सानै छँदा बुवाको मृत्यु भयो, राम्रोसँग देख्न-चिन्नै पाएनन्। आमालाई खेतीपाती र घरधन्दामा भ्याइनभ्याइ हुन्थ्यो। दाइदिदी पढ्न स्कुल जान्थे। गंगाधर दिनभर हातखुट्टाले टेकेर घर वरिपरि घुम्थे।
पहाडी भेगमा घिस्रिएर हिँड्दा लड्ने डर थियो। स्कुल टाढा पुग्न सक्थेनन्। बोकेर लैजान सम्भव भएन। उनको उमेर बढ्दै जाँदा सास्ती पनि थपिँदै गयो।
आमा लक्ष्मीले सुनेकी थिइन्- बुटवलको समाजकल्याण केन्द्र (हाल बालगृह) ले अनाथ तथा अपांगता भएका केटाकेटीलाई आश्रय दिन्छ। एसएलसीसम्म पढाइदिन्छ। तर घरपरिवारमा रेखदेख गर्ने र आश्रय दिने व्यक्ति भए केन्द्रले राख्थेन।