बिदामा घर गएका नेपालीहरु बिहीबारदेखि युएई फर्कन पाउने

संयुक्त अरब ईमिरेट्स (युएई)बाट बिदामा घर गएका नेपालीहरु बिहिबार (अगष्ट ५) देखि युएई फर्कन पाउने भएका छन्।

नेपालसहित भारत, पाकिस्तानलगायतका मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएपछि युएईले ती मुलुकहरूबाट आउने यात्रुहरुको आगमनमा प्रतिबन्ध लगाएको थियो। गएको अप्रिल २४ मा भारतबाट आउने यात्रुहरुलाई प्रतिबन्ध लगाईएको थियो भने मे १२ मा नेपालसहित श्रीलंका, पाकिस्तान र बंगलादेशलाई प्रतिबन्ध लगाईएको थियो।

युएईको राष्ट्रिय आपतकालीन संकट तथा विपत व्यवस्थापन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, युगाण्डा र नाईजेरियामा रोकिएका श्रमिकहरुको आगमन फुकुवा गरेको हो।

प्रतिबन्ध फुकुवा भएसंगै युएईको आवासीय भिसा भएका र कोभिडविरुद्धको दुवै खोप लगाएकाहरु अब युएई आउन पाउने भएका छन। त्यसका लागि युएईको पहिचान तथा नागरिकतासम्बन्धी संघीय प्राधिकरण (आईसिए)बाट आगमन अनुमति पाएको हुनुपर्ने छ भने कम्तिमा दुई साताअघि युएईमा मान्यता प्राप्त कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र साथमा हुन जरुरी छ।

युएई फर्कने यात्रुहरुलाई उडान पूर्व ४८ घण्टाभित्रको 'क्युआर कोड' सहितको पिसिआर रिपोर्ट पेश गर्नुपर्ने छ भने जहाज चढ्नुअघि पुन: 'रेपिड टेष्ट' गरिने बताईएको छ। त्यसैगरी युएईमा अवतरणपछि पुन: विमानस्थलमा पिसिआर परिक्षण हुने बताईएको छ। युएई आएका यात्रुहरुले क्वारेन्टाइनसम्बन्धी नियम र स्वास्थसम्बन्धी सम्पुर्ण मापदण्डहरु पालना गर्नुपर्ने छ।

युएईको स्वास्थ, शिक्षा लगायतका क्षेत्रमा कार्यरत व्यक्तिहरु भने कोरोनाविरुद्धको खोप नलगाएको भए पनि युएई आउन पाउने भएका छन्। युएईको सरकारी निकायमा कार्यरत व्यक्ति, स्वास्थ्यकर्मी, शिक्षक, युएईमा अध्ययनरत विद्यार्थी, युएईमा उपचाररत व्यक्तिहरु र विशेष मानवीय परिस्थिति भएका व्यक्तिहरुलाई खोप लगाएको प्रमाणपत्र अनिवार्य नगरिएको राष्ट्रिय आपतकालीन संकट तथा विपत व्यवस्थापन प्राधिकरणले जनाएको छ।

युएईले आफ्नो देशका नागरिक, कुटनैतिक नियोगका कर्मचारी, गोल्डेन भिसावाहक, हवाई जहाजका कर्मचारीहरु र एक्सो २०२० का सहभागीहरुलाई यसअघि नै उडान अनुमति दिईसकेको छ।

प्रकाशित मिति: : 2021-08-04 07:38:00

प्रतिकृया दिनुहोस्